एनएमबी बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १३ मङ्सिर २०७५)
Nov 29, 2018
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले सार्वजनिक गरेको चालू आव २०७५/७६ को पहिलो त्रैमासको एनएफआरएस वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा रू. ४९ करोड २४ लाख रहेको छ । यो नाफा गत आवको तुलनामा ९ दशमलव ११ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. ४५ करोड १३ लाख वितरणयोग्य नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा २५ दशमलव ३४ प्रतिशत र खुद ब्याज आम्दानी ५६ दशमलव २० प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको हाल चुक्तापूँजी रू. ८ अर्ब ७४ करोड रहेको छ । कम्पनीले रिजर्भ कोषमा रू. ८ अर्ब ७२ करोड छुट्याएको छ । यो रकम गत आवको तुलनामा ७६ दशमलव ९० प्रतिशतले वृद्धि हो । कम्पनीले शेयरधनीका लागि गत आवको नाफाबाट १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सो लाभांश नेपाल राष्ट्र बैङ्क र आगामी साधारणसभाले पारित गरेपछि वितरण गर्नेछ ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले पहिलो त्रैमासमा रू. ८५ अर्ब ८३ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ८२ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा निक्षेप १९ दशमलव ३० प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको रू. २ अर्ब ६० करोड ब्याज आम्दानी भएको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ३२ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको खुद ब्याज आम्दानी रू. ९७ करोड ६२ लाख र सञ्चालन नाफा रू. ७८ करोड १७ लाख रहेको छ ।
पूँजीकोष लागत ७ दशमलव ३८ र पूँजीकोष पर्याप्तता १५ दशमलव ३६ प्रतिशत रहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २६ दशमलव ६४, मूल्य आम्दानी अनुपात १३ दशमलव ५१, तरलता अनुपात २१ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रू. १ सय ९९ दशमलव ७५ रहेको छ । कम्पनीको बुधवार शेयर मूल्य रू. ३ सय ५९ कायम भएको छ ।
अर्निङ पावर रेसियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति (रू. हजारमा)
अर्निङ इल्ड रेसियो : प्रतिशेयर आम्दानी/रतिशेयर बजार मूल्य×१००
खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ३१ हजार ७ सय ३८ कित्ता शेयर खरीद माग थियो भने ९ हजार ९ सय ९० कित्ता शेयर विक्री माग रहेको थियो
निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य बढ्ने सङ्केत गर्दछ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ९१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।
यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । हालको शेयरमूल्य रू. ३ सय ५८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ६२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ४० मा टेवा पाउने देखिन्छ ।