ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुडविल फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, १६ मङ्सिर २०७५)

Dec 2, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
२०५२ साल जेठ २ गतेबाट व्यावसायिक कारोबार गर्दै आएको गुडविल फाइनान्स कम्पनीले आफ्नो कार्य प्रगति निरन्तर अघि बढाउँदै आएको छ । कारोबार शुरू गरेको ३ वर्षमै २०५५ साल असार १२ गते सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीले भदौ २६ गते बाँडफाँट गरेको थियो । कम्पनीले लगानीकर्तालाई विगत लामो समयदेखि लाभांश दिँदै आएको छ । गत वर्ष १० दशमलव १९ प्रतिशत बोनससहित शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्षका लागि भने हालसम्म लाभांश प्रस्ताव गरेको छैन । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ४ लाख ६४ हजार खुद नाफा कमाएको छ । यस वर्ष गत वर्षको भन्दा नाफामा १३ प्रतिशतले कमी आएको छ । यस वर्ष कम्पनीको सञ्चालन नाफा रू. ३ करोड २९ लाख ४९ हजार ऋणात्मक रहेको छ । सञ्चालन घाटा व्यहोर्नुपरेकाले पनि नाफामा कमी आएको हो । गत वर्ष यसै अवधिमा कम्पनीले रू. १ करोड ८२ लाख २० हजार सञ्चालन नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष २० गुणा बढी सम्भावित जोखिम शीर्षकमा रकम जम्मा गरेकाले पनि कम्पनीको सञ्चालन नाफा ऋणात्मक भएको देखिन्छ । कम्पनीले नेपाल राष्ट्र बैङ्कले ताकेबमोजिमको रू. ८० करोड चुक्तापूँजी पुर्‍याइसकेको छ ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीको जगेडा कोष रकम चालू आवको पहिलो त्रैमासमा रू. १८ करोड ४७ लाख ९६ हजार रहेको छ । गत वर्षको यसै अवधिमा यो रकम रू. २० करोड ५७ लाख २ हजार रहेको थियो । गत वर्ष बोनस वितरण गरेकाले जगेडा कोष रकममा कमी आएको हो ।
  • पहिलो त्रैमासमा रू. ५ अर्ब ६० करोड ९८ लाख ३० हजार निक्षेप सङ्कलन गरेको छ भने रू. ४ अर्ब ९४ करोड ७४ लाख ५९ हजार कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा निक्षेप सङ्कलन २० प्रतिश र कर्जा प्रवाह १ सय ६० गुणा बढी भएको छ ।
  • यस वर्ष कम्पनीले गत वर्षभन्दा करीब २९ प्रतिशत बढी रू. ५९ करोड ४५ लाख ६१ हजार लगानी गरेको छ । गत वर्ष कम्पनीको लगानी रू. ४६ करोड १८ लाख ६१ हजार रहेको थियो ।
  • यस वर्ष गत वर्षभन्दा ३६ प्रतिशत बढी रू. १९ करोड ४९ लाख ४९ हजार ब्याज आम्दानी गरेको कम्पनीले १९ प्रतिशत बढी रू. १३ करोड ६३ लाख ९७ हजार ब्याजमा खर्चिएको छ । यस वर्ष गत वर्षभन्दा १ सय १ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि भएको छ ।
  • स्थिर सम्पत्ति गत वर्षभन्दा १६ प्रतिशत कमी आई रू. २० करोड ९१ लाख ६१ हजार कायम भएको छ भने अन्य सम्पत्ति ३२ प्रतिशतले वृद्धि भई रू. २१ करोड ३४ लाख ६ हजार पुगेको छ ।
  • निष्क्रिय कर्जा १ दशमलव २९ प्रतिशतबाट घटेर शून्य दशमलव ८ प्रतिशत कायम भएको छ भने पूँजीगत लागत ९ दशमलव २० प्रतिशतबाट बढेर १० दशमलव ३५ पुगेको छ ।
  • पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ५ दशमलव २३, मूल्य आम्दानी अनुपात वार्षिक रू. २४ दशमलव ४६, प्रतिशेयर नेटवर्थ रू. १ सय २३ दशमलव १०, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ९ सय ३५ दशमलव २९ र तरलता अनुपात ३० दशमलव ५४ प्रतिशत रहेको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप करीब २ गुणा बढी भएको छ । उक्त समयसम्ममा १ हजार ३ सय ६३ कित्ता शेयर खरीद र ७ सय ९७ कित्ता शेयर विक्री गर्ने माग रहेको छ ।

निष्कर्ष कम्पनीको ३३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रभेस्टोन डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिस ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । आरएसआई न्युट्रल जोन ३१ दशमलव ८९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ सय १६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय १८ मा प्रतिरोध पाउने देखिन्छ । बिहीवार कम्पनीको शेयर मूल्य १ वर्षकै न्यून रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)