पोखरा फाइनान्स : कम्पनी विश्लेषण (आइतवार, १६ मङ्सिर २०७५)
Dec 2, 2018
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले सार्वजनिक गरेको आव २०७५/७६ को पहिलो त्रैमाससम्ममा रू. १ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको सोही अवधिमा रू. १ करोड ४८ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ६४ लाख रहेको छ भने रिजर्भ कोषमा रू. ३७ करोड ९७ लाख छुट्याएको छ । साथै, कम्पनीको कात्तिक २० गते सम्पन्न वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको आगामी व्यावसायिक योजना संस्थाबाट प्रदान गरिने सेवा अभिवृद्धि गर्न शाखा विस्तार एवम् अधिक ग्राहकवर्गको पहँुचमा पुग्ने गरी शाखाहरू सञ्चालनमा ल्याउने र उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी लगानीमा विविधताका साथ संस्थागत सेवा गुणस्तर साथै मुनाफास्तर दुवै पक्षलाई थप सुदृढ गर्दै लैजाने रहेको छ ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
पहिलो त्रैमासमा कम्पनीले रू. ४ अर्ब ७७ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ४ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २५ प्रतिशत र कर्जा प्रवाह २४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको लगानी रू. ३१ करोड ५७ लाख रहेको छ । लगानी अघिल्लो आवको सोही अवधिको तुलनामा ८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी रू. ५ करोड ६१ लाख, कर्मचारी खर्च रू. १ करोड ८४ लाख, अन्य सञ्चालन खर्च रू. १ करोड ३८ लाख र सञ्चालन नाफा रू. २ करोड ९४ लाख रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी १ सय १ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले पहिलो त्रैमासमा रू. १५ करोड ९० लाख ब्याज आम्दानी गरेको छ भने रू. १० करोड २८ लाख ब्याज खर्च भएको छ । सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ५८ लाख १८ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव १९ प्रतिशत रहेको छ ।
स्थिर सम्पत्ति १२ प्रतिशतले बढेर रू. १८ करोड ८ लाख र अन्य सम्पत्ति २२ प्रतिशतले बढेर रू. २८ करोड ७ लाख पुगेको छ । पूँजीकोष लागत ८ दशमलव ६३ प्रतिशत र पूँजीकोष पर्याप्तता २२ दशमलव ०१ प्रतिशत रहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ९ दशमलव २४, मूल्य आम्दानी अनुपात १६ दशमलव ६७, तरलता अनुपात ३० दशमलव ५१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४६ दशमलव ५२ रहेको छ । बिहीवारको शेयरमूल्य रू. १ सय ३३ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद बढी छ । उक्त समयसम्ममा ४ हजार ५ सय ८८ कित्ता शेयर खरीद र ४ सय ५९ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
निष्कर्ष
कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङ्केत गर्दछ । आरएसआई न्युट्रल जोन ३४ दशमलव २७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ० दशमलव ६३ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ सय ३३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ४० मा प्रतिरोध पाउने देखिन्छ भने शेयरमूल्य सस्तिएमा रू. १ सय ३२ मा टेवा पाउने देखिन्छ ।