श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, १७ मङ्सिर २०७५)
Dec 3, 2018
 
लगानी
कम्पनी विश्लेषण
२०५१ साल असार २२ गतेदेखि वित्त व्यवसाय शुरू गरेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले हाल काठमाडौंमा केन्द्रीय कार्यालयसहित काठमाडौंबाहिर ९ ओटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैङ्कको निर्देशनबमोजिम हकप्रद र बोनस शेयरमार्फत रू. ८० करोड चुक्तापूँजी पुर्याएको कम्पनीले पूँजी वृद्धिका लागि गत वर्ष ८३ प्रतिशत हकप्रद वितरण गरी २६ दशमलव ५७ प्रतिशत बोनस वितरण गरेको थियो । गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १ दशमलव २३ प्रतिशत बोनससँगै ८ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २ गते २४औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले मङ्सिर १६ गतेदेखि बुकक्लोज गर्ने भएको छ । मङ्सिर १५ गतेसम्म शेयर स्वामित्व कायम भएका सदस्यले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ५२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १ सय ५१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १ करोड नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले रू. ४ अर्ब ७ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ३ अर्ब ८७ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह ३८ प्रतिशतले वृद्धि भएको हो । पहिलो त्रैमासमा कम्पनीको लगानी १८ प्रतिशतले बढेर रू. १९ करोड १६ लाख पुगेको छ ।
खुद ब्याज आम्दानी रू. ९ करोड ५८ लाख, कर्मचारी खर्च रू. १ करोड ७ लाख, अन्य सञ्चालन खर्च रू. ६६ लाख ४३ हजार र सञ्चालन नाफा रू. ४ करोड रहेको छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९१ प्रतिशत र सञ्चालन नाफा १ सय ६६ प्रतिशतले वृद्धि भएको हो ।
सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ५३ लाख ५८ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव १२ प्रतिशत रहेको छ । पूँजीकोष लागत ९ दशमलव ०९ प्रतिशत र पूँजीकोष पर्याप्तता २१ दशमलव ३९ प्रतिशत रहेको छ । स्थिर सम्पत्ति १० प्रतिशतले बढेर रू. १० करोड ७८ लाख र अन्य सम्पत्ति ४२ प्रतिशतले बढेर रू. २१ करोड ६७ लाख पुगेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६१, मूल्य आम्दानी अनुपात ११ दशमलव ७४, तरलता अनुपात २६ दशमलव ३८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २४ दशमलव ४४ रहेको छ । आइतवार कम्पनीको शेयरमूल्य रू. १ सय ४० कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
निष्कर्ष
कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित सङ्केत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्षलाई हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ० दशमलव ८० विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । हालको शेयरमूल्य रू. १ सय ४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ४५ मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको शेयर मूल्य १ वर्षकै न्यून रू. १ सय ४० विन्दुमा आएको छ ।