ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानीमा बैङ्क : कम्पनी विश्लेषण (मङ्गलवार, १८ मङ्सिर २०७५)

Dec 4, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार रू. ५१ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३८ प्रतिशतले बढी हो । असोज मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीले रिजर्भ कोषमा रू. ३ अर्ब ३० करोड छुट्याएको छ । गत आवको तुलनामा यो रकम १ सय ३० प्रतिशतले बढी हो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब कायम रहेको छ । कम्पनीको कर्मचारी खर्च रू. ३० करोड ११ लाख रहेको छ, जुन गत आवको तुलनामा ७२ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यो खर्च रू. १७ करोड ४७ लाख रहेको थियो । कम्पनीले मङ्सिर २७ गते हुने १४औं साधारणसभामा १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले एनएफआरएसअनुसार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणको आधारमा गत आवको तुलनामा चालू आवमा वितरणयोग्य नाफा ४२ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा रू. ३२ करोड ६९ लाख रहेको यो नाफा चालू आवको सोही अवधिमा रू. ४६ करोड ४४ लाख पुगेको हो । सोही अवधिमा सञ्चालन नाफा ४१ प्रतिशतले बढेर रू. ७४ करोड पुगेको छ ।
  • कम्पनीले पहिलो त्रैमासमा रू. ८४ अर्ब १६ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ७५ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा निक्षेप ३० दशमलव २० प्रतिशत र कर्जा प्रवाह २९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीको रू. २ अर्ब ५२ करोड ब्याज आम्दानी रहेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव १२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको खुद ब्याज आम्दानी ५२ दशमलव २६ प्रतिशतले बढेर रू. ९७ करोड ८४ लाख पुगेको छ ।
  • पूँजीकोष लागत ७ दशमलव ४८ र पूँजीकोष पर्याप्तता १२ दशमलव २१ प्रतिशत रहेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २५ दशमलव ४५, मूल्य आम्दानी अनुपात १३ दशमलव १६, तरलता अनुपात २२ दशमलव ८४ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४१ दशमलव ३ रहेको छ । कम्पनीको सोमवारको शेयर मूल्य रू. ३ सय ५ कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको सोमवार कारोबारको अन्तिम समयसम्ममा विक्री चापभन्दा खरीद चाप बढी थियो । सो समयसम्म ४६ हजार ८१ कित्ता खरीद गर्ने माग र १९ हजार ६ सय ७४ कित्ता विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा आइडेण्टिकल थ्री क्रस वियरिस आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य वियरिस ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनीयता उच्च रहेको छ । आरएसआई ओभरसोल्ड जोन २७ दशमलव ६४ विन्दुमा छ । यसले शेयर विक्री चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ८ दशमलव १५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । हालको शेयर मूल्य रू. ३ सय ५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय २३ मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)