स्ट्याण्डर्ड चार्टर्ड बैङ्क : कम्पनी विश्लेषण (मङ्गलवार, १८ मङ्सिर २०७५)
Dec 4, 2018
 
लगानी
कम्पनी विश्लेषण
चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ५८ करोड ४५ लाख रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा २४ प्रतिशतले वृद्धि भएको हो । यो नाफा गत आवको सोही अवधिमा रू. ४७ करोड १२ लाख थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १२ प्रतिशत र सञ्चालन नाफा २६ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो । रू. ८ अर्ब १ करोड चुक्तापूँजी पुर्याएको कम्पनीले रिजर्भ कोषमा रू. ६ अर्ब ७८ करोड छुट्याएको छ । २०७४/७५ को नाफाबाट कम्पनीले शेयरधनीलाई १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समिति बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ वर्षबीच तुलना गर्दा :
पहिलो त्रैमासमा कम्पनीले रू. ६५ अर्ब ४७ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ४८ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ८ दशमलव ३३ प्रतिशतले घटेको हो भने कर्जा प्रवाह १८ दशमलव ४४ प्रतिशतले बढेको हो ।
रू. १ अर्ब ५० करोड ब्याज आम्दानी गरेको कम्पनीको रू. ६६ करोड ३ लाख ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू. २३ करोड २१ लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. २६ करोड १० लाख भएको छ । अन्य सञ्चालन खर्च ४८ प्रतिशत बढेर रू. १६ करोड ६२ लाख पुगेको छ ।
कम्पनीले गत आवमा ७५ करोड ७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पहिलो त्रैमासमा सो आम्दानी रू. ८४ करोड २३ लाख गरेको छ । सञ्चालन नाफा २६ प्रतिशतले वृद्धि भई रू. ९० करोड ५९ लाख पुगेको छ ।
कम्पनीको पूँजीकोष लागत ४ दशमलव ८२ प्रतिशत र पूँजीकोष पर्याप्तता २३ दशमलव ४४ प्रतिशत रहेको छ । निष्क्रिय कर्जा शून्य दशमलव २१ प्रतिशत रहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ६६, मूल्य आम्दानी अनुपात २२ दशमलव ३३, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ४५ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रू. १ सय ८४ दशमलव ७४ रहेको छ । सोमवारको शेयर मूल्य रू. ५ सय ५५ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
खरीद चाप : कम्पनीको सोमवार कारोबारको अन्तिम समयसम्म विक्री चापभन्दा खरीद चाप बढी थियो । सो समयसम्म १४ हजार ७ सय ४० कित्ता खरीद गर्ने माग र १ हजार १ सय ९० कित्ता विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने सङ्केत गर्दछ । आरएसआई ओभरसोल्ड जोन १२ दशमलव ९३ विन्दुमा छ । यसले शेयर विक्री चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव १५ विन्दुमा छ ।
उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । हालको शेयर मूल्य रू. ५ सय ५५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ७५ मा प्रतिरोध पाउने देखिन्छ ।