ग्लोबल आईएमई बैंक : कम्पनी विश्लेषण (सोमवार, २४ मङ्सिर २०७५)
Dec 10, 2018
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट शेयर सदस्यहरूलाई १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनसको कर प्रयोजनका लागि कम्पनीले नगद लाभांश भने दिएको छैन । शेयर सदस्यहरूले बोनसबापत लाग्ने कर आफै तिर्नुपर्नेछ । अघिल्लो वर्ष १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश दिएको कम्पनीले गत वर्षको मुनाफाबाट भने अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत लाभांश घटाएको छ । राष्ट्र कम्पनीको पूँजी वृद्धिको निर्देशनलाई पालना गर्दै कम्पनीले गत वर्ष नै रू. ८ अर्ब ८ करोड ३ लाख ४२ हजार चुक्तापूँजी पु¥याएको थियो । १० प्रतिशत बोनसपछि चुक्तापूँजी रू. ८ अर्ब ८८ करोड ८३ लाख ७८ हजार पुगेको हो । प्रस्तावित १६ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । उक्त बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ५ लाख १८ हजार पुग्नेछ । हाल १ सय ३२ शाखा कार्यालय र ६ ओटा एक्सटेन्सन काउण्टरसहित देशभर १ सय ४० ओटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीकोे पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
चालू आवको पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ५१ करोड ७६ लाख रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले वृद्धि भएको हो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ३३ करोड ९६ लाख थियो ।
कम्पनीले रू. १ खर्ब ११ अर्ब निक्षेप संकलन गरेको छ भने रू. ९९ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ६ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले वृद्धि भएको हो ।
रू. ३ अर्ब १८ करोड ब्याज आम्दानी गरेको छ भने रू. १ अर्ब ९७ करोड कर्जा प्रवाह भएको छ । गत आवको पहिलो त्रैमासमा रू. ३४ करोड २३ लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. ४२ करोड ८४ लाख खर्च भएको छ । गत आवको सोही अवधिको तुलनामा २५ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको रू. १ अर्ब २० करोड खुद ब्याज आम्दानी र रू. ७५ करोड ३१ लाख सञ्चालन नाफा भएको छ । पूँजीकोष लागत ७ दशमलव ३२ प्रतिशत र पूँजी कोष पर्याप्तता ११ दशमलव २७ प्रतिशत रहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) २४ दशमलव ११, मूल्य आम्दानी अनुपात १३ दशमलव १९, तरलता अनुपात २३ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ६४ दशमलव ५३ रहेको छ । आइतवारको शेयरमूल्य रू. ३ सय १७ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
खरीद चाप : कम्पनीकोे आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ९ हजार १ सय ७६ कित्ता शेयर खरीद र ३ हजार ३ सय ३४ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ६५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ५ दशमलव ०७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयर मूल्य रू. ३ सय १७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय २० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय १२ मा टेवा पाउने देखिन्छ ।