शिखर इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, १ पुस २०७५)
Dec 16, 2018
 
लगानी
कम्पनी विश्लेषण
चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमाससम्ममा खिर इन्स्योरेन्स कम्पनीले रू. १० करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १० दशमलव ६४ प्रतिशत वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ९ करोड ५५ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनी रू. १७ करोड ४७ लाख आम्दानी गर्न सफल भएकाले नाफामा वृद्धि भएको हो । बीमा समितिले तोकेको चुक्तापूँजी यस कम्पनीले पु¥याइसकेको छ । निर्जीवन बीमा कम्पनीले चुक्तापूँजी रू. १ अर्ब पुर्याउनुपर्ने हुन्छ । सोहीअनुसार यस कम्पनीले गत आव २९ प्रतिशत बोनस शेयर वितरण गरी रू. १ अर्ब चुक्तापूँजी पु¥याएको हो । पहिलो त्रैमासमा कम्पनीले रिजर्भ कोषमा रू. २९ करोड ५६ लाख छुट्याएको छ । बीमाकोषमा रू. ९० करोड ४० लाख जम्मा भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशत वृद्धि भएको हो । कम्पनी न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड–२०१८ मा बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीको फष्र्ट रनर अप अवार्ड प्राप्त गर्न सफल भएको छ । जनशक्ति विकास तथा परिचालनका लागि नियमित रूपमा आफ्ना कर्मचारीलाई तालीम व्यवस्था गर्दै आएको छ । यसबाट कम्पनीले हरेक क्षेत्रमा वैकल्पिक जनशक्तिसमेत विकास गर्दै जाने योजना छ । कम्पनीले प्राकृतिक प्रकोपबाट सृजना हुने महाविपत्ति जोखीम व्यवस्थापन गर्न आफ्नो धारण शक्तिको मूल्यांकन गर्दै कुशल पुनर्बीमा व्यवस्था गर्दै जाने रणनीति लिएको छ ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले रू. ८७ करोड ७० लाख बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ५१ प्रतिशत वृद्धि भएको हो । गत आवको सोही अवधिमा रू. ७५ करोड २७ लाख बीमाशुल्क आर्जन भएको थियो । कम्पनीको जारी बीमालेखको संख्या ७९ हजार १ सय ३० छ भने नवीकरण गरिएको बीमालेखको संख्या १४ हजार १ सय २ रहेको छ ।
कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा १ सय ७७ प्रतिशत बढेर रू. ९८ करोड ९७ लाख पुगेको छ । खुद चालू सम्पत्ति रू. १ अर्ब ६ करोड रहेको छ । कम्पनीले पहिलो त्रैमासमा रू. १७ करोड ४७ लाख आम्दानी गर्दा रू. ६ करोड ९० लाख खर्च भएको छ । पुनर्बीमा कमिशनबाट रू. ११ करोड आम्दानी भएको छ ।
कम्पनीले १ हजार ८ सय ९३ जनालाई रू. ३६ करोड ८ लाख दाबी भुक्तानी गरेको छ भने ३ हजार १ सय ९८ जनालाई रू. ८२ करोड ६० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ३९ दशमलव ९९, मूल्य आम्दानी अनुपात २२ दशमलव ५ र प्रतिशेयर नेटवर्थ रू. २ सय १८ दशमलव ४६ रहेको छ । बिहीवारको शेयरमूल्य रू. ७ सय ९५ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ५ हजार ९ सय ७४ कित्ता शेयर खरीद र ३ सय ७० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ३९ दशमलव ८३ स्केलमा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, स्ट्याण्डर्ड डेभिएशन ८ दशमलव ४० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यसैगरी मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा आपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. ७ सय ९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ६९ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ७ सय ७१ मा टेवा पाउने देखिन्छ ।