हिमालयन बैंक : कम्पनी विश्लेषण (आइतवार, ८ पुस २०७५)
Dec 23, 2018
 
लगानी
कम्पनी विश्लेषण
सन् १९९३ मा स्थापित हिमालयन बैंक व्यावसायिक यात्रामा सफलता हासिल गर्न सफल भएको छ । कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीको वितरण योग्य नाफा रू. ४७ करोड ५८ लाख छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशत वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीको वितरण योग्य नाफा रू. ४१ करोड १ लाख थियो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ११ करोड छ । जगेडा कोषमा रू. ६ अर्ब ८९ करोड छुट्ट्याएको छ । यो रकम गत आवको सोही अवधिमा २१ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ खर्ब २ अर्ब निक्षेप संकलन गरेको छ भने रू. ९४ अर्ब २४ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ७ प्रतिशत र कर्जा प्रवाह १८ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले पहिलो त्रैमासमा रू. २ अर्ब ८१ करोड ब्याज आम्दानी गरेको छ भने रू. १ अर्ब ४९ करोड ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू. ३१ करोड ३५ लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. ३७ करोड ७४ लाख खर्च भएको छ ।
रू. १ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ६९ प्रतिशत वृद्धि भएको हो । सञ्चालन नाफा १ सय ३९ प्रतिशत बढेर रू. ९२ करोड ६२ लाख पुगेको छ । निष्क्रिय कर्जा १ दशमलव ४६ प्रतिशत, पूँजी कोष लागत ६ दशमलव १४ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव २४ प्रतिशत छ ।
पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ३२ दशमलव शून्य २, मूल्य आम्दानी अनुपात १७ दशमलव १७, तरलता अनुपात २० दशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ८४ दशमलव ९५ छ । बिहीवारको शेयरमूल्य रू. ४ सय ९५ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ७५ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव ८२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४ सय ९५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ५ सय २६ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४ सय ७७ मा टेवा पाउने देखिन्छ ।