सिभिल बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ पुस २०७५)
Dec 26, 2018
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीको चालू आव २०७५/७६ को पहिलो त्रैमाससम्ममा वितरणयोग्य नाफा रू. १२ करोड १२ लाख छ । गत आवको सोही अवधिमा कम्पनीले रू. ११ करोड ८२ लाख नाफा कमाएको थियो । यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव ५९ प्रतिशत बढी हो । कम्पनीको चुक्तापूँजी ३४ प्रतिशत बढेर रू. ८ अर्ब पुगेको छ । १० बराबर ४ अनुपातमा हकप्रद शेयर जारी गरिएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको आव २०७३/७४ मुनाफाबाट प्रस्तावित १० दशमलव २५ प्रतिशत बोनस शेयरसमेत गरेर चुक्तापूँजी रू. ८ अर्ब पुगेको हो । रिजर्भ कोषमा रू. २ अर्ब ५ करोड छुट्याएको छ । कम्पनीले २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्न असार ५ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।
कम्पनीको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ वर्षबीच तुलना गर्दा :
कम्पनीले पहिलो त्रैमासमा ३९ अर्ब ४३ करोड निक्षेप संकलन गरेको छ भने रू. ४१ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप १५ प्रतिशत र कर्जा प्रवाह ३४ प्रतिशत बढी हो ।
रू. १ अर्ब ४० करोड ब्याज आम्दानी भएको छ भने रू. ८१ करोड ५५ लाख ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १० करोड ६५ लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. १५ करोड ३४ लाख खर्च भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४४ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी ८० प्रतिशत बढेर रू. ५८ करोड ६४ लाख र सञ्चालन नाफा ६७ प्रतिशत बढेर रू. २६ करोड ७८ लाख पुगेको छ । निष्क्रिय कर्जा ३ दशमलव ०६ प्रतिशत, पूँजीकोष लागत ६ दशमलव ६८ प्रतिशत र पूँजीकोष पर्याप्तता १९ दशमलव ९२ प्रतिशत छ ।
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ५ दशमलव ९५, मूल्य आम्दानी अनुपात २९ दशमलव २४, तरलता अनुपात १९ दशमलव ६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २५ दशमलव ६६ छ । मंगलवारको शेयरमूल्य रू. १ सय ६६ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
खरीद चाप : कम्पनीको मंगलवार भएको कारोबारको अन्तिम समयसम्म विक्री चापभन्दा खरीद चाप बढी थियो । सो समयसम्म २५ हजार २ सय २२ कित्ता शेयर खरीद गर्ने माग र ११ हजार ९ सय ५६ कित्ता विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५० दशमलव ०७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन २ दशमलव २४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्र्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १ सय ६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ६३ मा टेवा पाउने देखिन्छ ।