नेपाल एसबीआई बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १३ पुस २०७५)
Dec 28, 2018
 
लगानी
कम्पनी विश्लेषण
सन् १९९३ जुलाईमा स्थापना भएको नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको चालू आव २०७५÷७६ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा रू. २७ करोड ९७ लाख रहेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ९७ प्रतिशत घटेको हो । गत आवको सोही अवधिमा बैंकले रू. ३२ करोड ५१ लाख नाफा आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४ करोड छ भने रिजर्भ कोषमा रू. ५ अर्ब २६ करोड छुट्याएको छ । यो गत आवको सोही अवधिको तुलनामा २० दशमलव ९३ प्रतिशत बढी हो । साथै, कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते साधारणसभाको आयोजना गर्दै छ । यो लाभांश पाउन पुस १७ गतेसम्म शेयर स्वामित्व कायम गर्नुपर्छ । पुस १८ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले पहिलो त्रैमासमा रू. ९४ अर्ब ४६ करोड निक्षेप संकलन गरेको छ भने रू. ८४ अर्ब ६२ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ९ प्रतिशत र कर्जा प्रवाह २४ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले रू. २ अर्ब ६२ करोड ब्याज आम्दानी गरेको छ भने रू. १ अर्ब ५६ करोड ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू. ३१ करोड ४३ लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. ४० करोड २३ लाख खर्च भएको छ । यो गत आवको सोही अवधिको तुलनामा करीब २८ प्रतिशत बढीे हो ।
खुद ब्याज आम्दानी रू. १ अर्ब ६ करोड पुगेको छ भने सञ्चालन नाफा रू. ६९ करोड ६३ लाख छ । गत आवको तुलनामा खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा १५ प्रतिशत बढी हो । निष्क्रिय कर्जा शून्य दशमलव २० प्रतिशत, पूँजी कोष लागत ६ दशमलव २० प्रतिशत र पूँजी कोष पर्याप्तता १४ दशमलव ०२ प्रतिशत छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २४ दशमलव ३५, मूल्य आम्दानी अनुपात २० दशमलव २१ टाइम्स, तरलता अनुपात २५ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ६५ दशमलव ३८ छ । बिहीवारको शेयरमूल्य रू. ४ सय २७ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.००२४ गुणा
अर्निङ यिल्ड रेशियो : ५.७० प्रतिशत
विक्री चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ४ हजार २ सय ५३ कित्ता शेयर विक्री गर्ने र २ हजार ७ सय ४३ कित्ता शेयर खरीद गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५६ दशमलव ०६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ४ सय २७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ४० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ४ सय १० मा टेवा पाउने देखिन्छ ।