लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) : कम्पनी विश्लेषण (शुक्रवार, २० पुस २०७५)
Jan 4, 2019
 
लगानी
कम्पनी विश्लेषण
भारतीय जीवन बीमा निगम र विशाल ग्रूपको पहलमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्थापना भएको हो । यस कम्पनीमा सबैभन्दा बढी ५५ प्रतिशत भारतीय जीवन बीमा निगमको, विशाल ग्रूपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व छ । यो कम्पनी नेपालको जीवन बीमा उद्योगमा आईएसओ प्रमाणीकरण प्राप्त गर्ने पहिलो एवम् एकमात्र जीवन बीमा कम्पनी हो । हाल रू. १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार चुक्तापूँजी रहेको यस कम्पनीले आगामी असार मसान्तसम्म रू. २ अर्ब चुक्तापूँजी पु¥याउनुपर्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई गत आर्थिक वर्षको असार मसान्तसम्म रू. २ अर्ब चुक्तापूँजी पु¥याउन निर्देशन दिए पनि विविध कारणले पूँजीवृद्धिका लागि समस्या भएको भन्दै आगामी असार मसान्तसम्मको समय अवधि खुला गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभा हालसम्म सम्पन्न गरेको छैन । कम्पनीले सोही वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साउन २४ गतेको सञ्चालक समितिले उक्त प्रस्ताव गरे पनि साधारणसभाका लागि भने कुनै सूचना जारी भएको छैन ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा खुद नाफा साढे १२ प्रतिशत बढाएर रू. ४ करोड ८८ लाख ६८ हजार आर्जन गरेको छ ।
गतवर्षको पहिलो त्रैमासमा रू. ३१ करोड ४ लाख ३५ हजार रहेको जगेडा कोष रकम यस वर्षको पहिलो त्रैमासमा ७० प्रतिशत बढेर रू. ५२ करोड ८९ लाख ५५ हजार पुगेको छ ।
जीवन बीमा कोष रकम पनि करीब २८ प्रतिशत बढेको छ । गतवर्षको पहिलो त्रैमासमा रू. ३६ अर्ब ५ करोड ४ लाख २२ हजार रहेको जीवन बीमा कोष रकम यस वर्षको पहिलो त्रैमासमा रू. ४६ अर्ब ४ करोड ५१ लाख ५४ हजार पुगेको छ ।
दीर्घकालीन लगानी शीर्षकमा कम्पनीले गतवर्षभन्दा करीब २३ प्रतिशत बढी रू. ३० अर्ब ९३ करोड ७३ लाख ९० हजार लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । गतवर्षको यसै अवधिमा दीर्घकालीन लगानी रू. २५ अर्ब १९ करोड ८२ लाख ९८ हजार थियो ।
गतवर्षसम्म ७ लाख २० हजार ७० बीमालेख जारी गरेको कम्पनीले यस वर्षको पहिलो त्रैमासमा ७ लाख २४ हजार ७ सय १९ बीमा लेख जारी गरेको छ । गतवर्षको तुलनामा ४ हजार ६ सय ४९ ओटा बढी बीमालेख जारी भएको छ ।
यस वर्षको पहिलो त्रैमासमा कम्पनीले गतवर्षभन्दा ३० प्रतिशत बढी रू. २ अर्ब ९० करोड ७१ लाख ३८ हजार बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा गतवर्षभन्दा ३८ प्रतिशत बढी अर्थात् रू. ६७ करोड ६७ लाख ७० हजार दाबी भुक्तानी गरेको छ ।
पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा, मूल्य आम्दानी अनुपात ४ सय २८ रुपैयाँ ५२ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३ हजार ७ सय ७२ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ४५ पैसा रहेको छ ।
डिभिडेन्ड यिल्ड रेशियो : ०.७१ प्रतिशत
अर्निङ पावर रेशियो : ०.००१ गुणा
अर्निङ यिल्ड रेशियो : ०.२१ प्रतिशत
निष्कर्ष
कम्पनीको ५८ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६४ दशमलव ४८ विन्दुमा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखाले २६ दिने औसत मूल्यरेखालाई तलबाट काटेर माथि गएको छ । यसले पनि शेयरमूल्य बढ्ने बलियो संकेत गर्छ । हालको मूल्य यी दुवै औसत मूल्यरेखाभन्दा माथि छ । १ हजार ६ ५५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७ सय ७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ६ सय ४१ मा टेवा पाउने देखिन्छ ।