नेपाल बैंक : कम्पनी विश्लेषण (आइतवार, २२ पुस २०७५)
Jan 6, 2019
 
लगानी
कम्पनी विश्लेषण
नेपालको संस्थागत बैंकिङ इतिहासमा पहिलो बैंकको रूपमा विक्रम संवत् १९९४ कात्तिक ३० गतेदेखि नेपाल बैंकले व्यवसाय शुरू गरेको थियो । नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणतर्फ ३७ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको बैंकले संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न संस्थापकतर्फको शेयर प्रिमियममा विक्री गरेको थियो । उसले प्रतिकित्ता रू. २ सय ८० मूल्यमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता शेयर विक्री गरेकोे थियो । लामो समयदेखि सर्वसाधारण लगानीकर्तालाई लाभांश वितरण नगरेको बैंकबाट यस वर्ष राम्रो लाभांश पाउने अपेक्षा लगानीकर्ताले गरेका छन् । दोस्रो बजारमा पछिल्लो समय बैंकको शेयर कारोबारमा देखिएको उतारचढाव हेर्दा यस वर्षको साधारणसभामा कम्पनीले आकर्षक लाभांश प्रस्ताव गर्ने अनुमान लगाउन सकिन्छ । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८० करोड ८१ लाख ९२ हजार रहेको छ ।
बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. ९१ करोड ३८ लाख ८४ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने ५ दशमलव ९१ प्रतिशत कम हो ।
बैंकको वितरण योग्य नाफा चालू आवको पहिलो त्रैमासमा रू. ९७ करोड ९१ लाख ७५ हजार रहेको छ । यो नाफा भने गत आवको तुलनामा शून्य दशमलव ८१ प्रतिशत वृद्धि भएको हो । गत आव यो रकम रू. ९७ करोड १३ लाख १८ हजार रहेको थियो ।
यस त्रैमासमा जगेडा कोष रकम भने ४ गुणा बढेको छ । बैंकले लाभांश वितरण नगरेकाले पनि जगेडा कोष रकममा उल्लेख्य वृद्धि देखिएको हो । गत आवको पहिलो त्रैमासमा रू. ४ अर्ब ७५ करोड ९३ लाख ७२ हजार रहेको जगेडा कोष रकम चालू आवको पहिलो त्रैमासमा रू. १९ अर्ब ६० करोड ६० लाख ५८ हजार रहेको छ ।
चालू आवको पहिलो त्रैमासमा निक्षेप शून्य दशमलव ७७ प्रतिशत र कर्जा प्रवाह ७ दशमलव २६ प्रतिशत बढेको छ । यस पहिलो त्रैमासमा रू. ९३ अर्ब ४३ करोड १४ लाख ५६ हजार निक्षेप संकलन गरेको छ भने रू. ७९ अर्ब ४ करोड ९१ लाख ४५ हजार कर्जा प्रवाह गरेको छ ।
लगानीमा चालू आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशत कमी आएको छ । गत आवको पहिलो त्रैमासमा रू. १७ अर्ब ९७ करोड ९४ लाख ९१ हजार लगानी गरेको बैंकले चालू आवको यही अवधिमा भने रू. १६ अर्ब २६ करोड ६३ लाख ८० हजार लगानी गरेको छ ।
बैंकले चालू आवको पहिलो त्रैमासमा रू. २ अर्ब २७ करोड ७८ लाख ७ हजार ब्याज आम्दानी गर्दा ब्याजमा रू. ९० करोड ७८ लाख ८ हजार खर्र्चिएको छ । गत आवको तुलनामा ब्याज आम्दानी करीब १२ प्रतिशत बढेको छ भने ब्याज खर्च ४१ प्रतिशत बढी भएको छ ।
पूँजीकोष लागत ३ दशमलव ८४ प्रतिशत र पूँजीकोष पर्याप्तता २३ दशमलव ९२ प्रतिशत रहेको छ । पूँजीकोष लागत करीब ८ प्रतिशत र पूँजीकोष पर्याप्तता साढे १४ प्रतिशत बढेको छ ।
पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९२ पैसा, मूल्य आम्दानी अनुपात ७ दशमलव ७९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ९९ दशमलव ८० पैसा र तरलता अनुपात ३४ दशमलव ९६ प्रतिशत छ ।
अर्निङ पावर रेशियो : ०.००६ गुणा
अर्निङ यिल्ड रेशियो : १२.९१ प्रतिशत
निष्कर्ष
मैनबत्ती विश्लेषण : बैंककोे ६० दिनको कारोबार अवधिको अन्तिम दिन ग्रेभस्टोन डोजी बुलिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो संकेतले बैंकको शेयरमूल्य आगामी दिन बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५८ दशमलव १३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ३ सय ९ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३ सय १० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३ सय ५ मा टेवा पाउने देखिन्छ ।