महालक्ष्मी विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २३ पुस २०७५)
Jan 7, 2019
 
लगानी
कम्पनी विश्लेषण
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको राष्ट्रिय स्तरको इजाजत प्राप्त महालक्ष्मी विकास बैंकले आव ०७४/७५ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर वितरण गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १० करोड ५६ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८७ प्रतिशत बढी हो । पहिलो त्रैमासमा कम्पनीले रू. १४ करोड ६ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८४ करोड छ । ८ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५ करोड पुग्नेछ । पहिलो त्रैमासमा कम्पनीले रिजर्भ कोषमा रू. १ अर्ब ५ करोड छुट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. १४ दशमलव ८५ छ ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
पहिलो त्रैमासमा कम्पनीले रू. २६ अर्ब ८६ करोड निक्षेप संकलन गरेको छ भने रू. २२ अर्ब ८३ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ६ प्रतिशत र कर्जा प्रवाह १३ प्रतिशत बढी हो । पहिलो त्रैमासमा कम्पनीको लगानी १५ दशमलव ८९ प्रतिशत बढेर रू. १ अर्ब ७६ करोड पुगेको छ ।
कम्पनीले रू. ७९ करोड ९ लाख ब्याज आम्दनी गर्दा रू. ५४ करोड ४२ लाख ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू. २ करोड ४५ लाख ऋणात्मक रहेको सञ्चालन नाफा पहिलो त्रैमासमा सुध्रिएर रू. १ करोड ८५ लाख पुगेको छ ।
कर्मचारी खर्च ६२ प्रतिशत बढेर रू. १० करोड ९७ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च रू. ६ करोड ४३ लाख छ । स्थिर सम्पत्ति ८७ प्रतिशत बढेर रू. ३१ करोड ६४ लाख पुगेको छ भने अन्य सम्पत्ति ४१ प्रतिशत घटेर रू. ३५ करोड ५ लाखमा सीमित भएको छ ।
सम्भावित जोखीम बापतको व्यवस्थामा रू. १० करोड २ लाख छुट्याएको कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ३९ प्रतिशत छ । पूँजीकोष लागत ७ दशमलव ८६ प्रतिशत र पूँजीकोष पर्याप्तता १६ दशमलव ५१ प्रतिशत छ ।
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी वार्षिक रू. १४ दशमलव ८५, तरलता अनुपात २६ दशमलव ८१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३६ दशमलव ९६ छ । आइतवारको शेयरमूल्य प्रतिकित्ता रू. १ सय ६८ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.००३ गुणा
अर्निङ यिल्ड रेशियो : ८.८३ प्रतिशत
खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ७ हजार ९ सय ६१ कित्ता शेयर खरीद र २ हजार ५ सय ४० सय कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने र बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्षलाई हेरेर लगानी गरेमा मुनाफा आर्जन गर्न सकिन्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ५३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ सय ६८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ७१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ६४ मा टेवा पाउने देखिन्छ ।