ठूलो तामझाम र भड्किलो प्रचारका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको उद्घाटन गरेपछि सरकारले यसलाई ‘नयाँ युगको शुरुआत’को संज्ञा दियो ।
सामाजिक सुरक्षाको अवधारणा २०५१ सालमा आफ्नै पार्टीले शुरू गरेको भन्दै प्रधानमन्त्री ओलीले यो योजना आफ्नै सरकारको पालामा कार्यान्वयनमा आएको भनी उद्घाटनका क्रममा जश मात्रै लिनुभएन, सरकारले काम गर्न नसकेको भनी आलोचना गर्नेहरूलाई जवाफ दिन यो योजना शुरू गरिएको व्यंग्यात्मक दाबी समेत गर्नुभयो ।
सरकारले यस अवसरमा राजधानीका सडकछेउका पोल–पोलमा नयाँ युगको शुरुआत भन्ने नारा सहित प्रधानमन्त्री र श्रममन्त्रीको फोटो टाँगेको थियो । सबैजसो चर्चित अखबार महँगा ‘ज्याकेट’ विज्ञापनले बेरिन पुगेका थिए । यस प्रकारको भड्किलो प्रचारको तीव्र आलोचना भएको थियो ।