काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वर्षअघि १९औं भूकम्प दिवसको अवसरमा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरी महाअभियानको शुरुआत भएको घोषणा गर्नुभयो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौं उपत्यकाको प्राचीन बस्ती बुङमतीको गुरुयोजना सार्वजनिक गरी निजी घर पुनर्निर्माणको शुभारम्भ गरिएको थियो । महाअभियान थालनीको ३ वर्ष बितिसक्दा पनि रानीपोखरीको पुनर्निर्माण पूरा हुन सकेको छैन भने बुङमतीको हालत पनि उस्तै छ ।
रू. ९ खर्ब ३८ अर्ब आवश्यक २०७२ वैशाख १२ को भूकम्पबाट भएको क्षतिग्रस्त घर, भवन, मन्दिर, बाटोघाटो लगायतको पुनःस्थापना र पुनर्निर्माणका लागि कुल ९ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन गरियो । त्यसपछि भएको दाता सम्मेलनमा ४ खर्ब १० अर्बको प्रतिबद्धता आयो । त्यसमध्ये ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भई पुनर्निर्माणमा भएको वास्तविक प्रतिबद्धता जम्मा ३ खर्व ४३ अर्ब रुपैयाँ मात्र भयो । यसमा पनि हालसम्ममा दातासँग २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ । यस अवधिमा सरकार र दातृ निकायले २ खर्ब रुपैयाँ खर्च गरिसकेको छ ।
भूकम्पछि सरकारले आर्थिक सामाजिक पुनःस्थापना र जीविकोपार्जनका कार्य पनि गरेको छ, जसमा कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, उद्योग मन्त्रालय तथा विभिन्न कार्यक्रम अन्तर्गत कुल १ अर्ब १० करोड ८१ लाख रुपैयाँ खर्च गरिसकेको छ । भूकम्प पीडितलाई प्राथमिकता दिने व्यवस्थासहित सहुलियत ऋणसम्बन्धी एकीकृत कार्यविधि कार्यान्वयनमा पनि ल्याइसकेको छ । यस अवधिमा ५१ हजार ६ सय ४९ जनालाई डकर्मी तालीम दिइसकेको छ ।
३ लाख ३७ हजार ३ सय १९ घर पुनर्निर्माण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३ वर्षको अवधिमा ३ लाख ३७ हजार ३ सय १९ घर पुनर्निर्माण सम्पन्न भएको छ । यसैगरी २ लाख ३३ हजार ३ सय ४३ घर पुनर्निर्माण हुँदै छन् । प्राधिकरणले ७ लाख ४२ हजार १ सय ३५ भूकम्प पीडित लाभग्राहीसँग अनुदान सम्झौता गरेको छ, जसमध्ये विद्यालय भवनमा पुनर्निर्माण सम्पन्न र निर्माणाधीन गरी ८० प्रतिशत प्रगति हासिल भएको छ । भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालयमध्ये ४ हजार १ सय ७२ ओटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ९ सय २१ ओटा पुनर्निर्माणको क्रममा छन् ।
पुनर्निर्माण सम्पन्न र निर्माणाधीन संरचनाको प्रगति स्वास्थ्य संस्थामा ६६ प्रतिशत, सरकारी भवनमा ९५ प्रतिशत, सुरक्षा निकायका भवनमा ५४ प्रतिशत, पुराताŒिवक सम्पदामा ६८ प्रतिशत हासिल भएको प्राधिकरणले जानकारी दिएको छ । ‘निजी आवास पुनर्निर्माण कार्य मूलभूत रूपमा यसै आर्थिक वर्षभित्र सम्पन्न गर्दै छौं,’ प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘धेरै संरचनाको पुनर्निर्माण जारी छ । २ वर्षमा पुनर्निर्माणका सबै काम सक्ने लक्ष्य अनुसार काम गरिरहेका छौं ।’
प्राधिकरणले शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी एवम् सुरक्षा निकायका भवन, पुराताŒिवक महŒवका सम्पदा, गुम्बा पुनर्निर्माण लगायत क्षेत्रका लागि आगामी २ वर्षको लक्ष्य सार्वजनिक गरिसकेको छ । पुनर्निर्माण सम्पन्न भएका र पुनर्निर्माण भइरहेका स्थानमा आर्थिक सामाजिक पुनःस्थापनाका लागि जीविकोपार्जन लगायत कार्यक्रमलाई विशेष प्राथमिकता दिएर काम गरिने ज्ञवालीले बताए ।
पुनर्निर्माणको दिगोपना र हस्तान्तरण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्कहरूको निर्माण गर्ने भएको छ । यसैगरी भूकम्प सम्बन्धी अन्तरराष्ट्रिय स्तरको संग्रहालय तथा अनुसन्धान केन्द्र स्थापना सम्बन्धी गृहकार्य पनि प्राधिकरणले अघि बढाएको छ ।
प्राधिकरणले विपद् व्यवस्थापन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था बमोजिम तीनै तहका सरकारसँग सहकार्य गरी पुनर्निर्माण सम्बन्धी ज्ञान, शीप र अनुभव हस्तान्तरण गरिने खाका पनि बनाएको छ । प्राधिकरणले पुनर्निर्माणका सम्पूृर्ण प्रक्रिया र क्षेत्रगत अनुभवको डकुमेन्टेशन कार्य अघि बढाइएको पनि कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै प्राधिकरणमा हाल रहेको सूचना प्रणालीलाई संघ, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
प्रत्येक स्थानीय तहमा जोखिम विपद् नक्सांकन कार्य अघि बढाइने र त्यसलाई स्थानीय तहको भू–उपयोग योजना एवम् योजना तथा भवन मापदण्ड तयारीको आधारका रूपमा प्रयोग गरिने प्राधिकरणले बताएको छ । प्रत्येक गाउँपालिका एवम् नगरपालिकालाई राष्ट्रिय भवन संहिता लागू गराउन विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्राधिकरणको छ ।