ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकहरू स्वरोजगार बन्न प्रेरित गर्दै

Jan 22, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुप्रिम तिवारी
काठमाडौं । जागीरे जीवनमा भविष्य नदेखेका भीमप्रसाद अधिकारीले आफ्नै छुट्टै व्यवसाय गर्ने सोच बनाए । तर व्यवसायका लागि लगानी चाहियो । उनलाई त्यसैको चिन्ता थियो । व्यावसायिक योजना भए पनि रकम कहाँबाट जुटाउने भन्ने चिन्ता हुँदा हुँदै उनले सहुलियत कर्जाबारे थाहा पाए । र, अहिले उनको कर्जा स्वीकृत समेत भइसकेको छ । यस्तै व्यावसायिक योजना भएका तर लगानी जुटाउन नसकेका युवाका लागि सहुलियत कर्जाले उद्यमी बन्न प्रेरित गर्ने देखिएको छ । अधिकारीकै भनाइबाट पनि पुष्टि हुन्छ, सरकारले ल्याएको सहुलियत कर्जा कार्यक्रमले धेरै युवालाई सहयोग पुग्ने भएको छ । यो कार्यक्रम नआउँदै कहाँबाट कसरी कर्जा लिने भन्नेबारे थाहा पाउन उनी विभिन्न बैंक धाउँथे । ‘अरू बैंकमा जाँदा त्यहाँको प्रक्रिया निकै लामो र झन्झटिलो लाग्यो । उतिबेलै रकम पनि नपाइने, आफूलाई अहिलै कार्य थालनी गर्नु छ । राष्ट्रिय वाणिज्य बैंकमा पुगेँ । सबै कागजात, विवरण र निवेदन पेश गरेँ । सबै प्रक्रिया पुर्‍याएपछि केन्द्रीय बैंकले स्वीकृति दिएपछि मात्र कर्जा पाइने रहेछ,’ उनले भने, ‘यो कर्जा लिने पहिलो व्यक्ति आफै परिएछ, निवेदन छिट्टै स्वीकृत भयो । खुशी लाग्यो ।’ अधिकारीले शिक्षित युवा स्वरोजगार कर्जा लिएका हुन् । यो कर्जा तन्दुरी क्यान्टिन खोल्न लगानी गर्ने तयारी उनको छ । पहिलो किस्ता कर्जा पाइसकेका अधिकारीले हाल पसलका लागि चाहिने सामग्री जुटाउने काम भइरहेको र केही दिनभित्रै नैकापमा ‘बीपी तन्दुरी क्यान्टिन’ सञ्चालन हुने बताए । यसरी थोरै ब्याजमा कर्जा पाइने भएपछि युवाहरू विदेशिनु नपर्ने र आफ्नै देशमा केही गर्न सकिने अधिकारी बताउँछन् । अधिकारी जस्तै रजनी हायुले पनि सोही बैंकबाट उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिएकी छन् । यस प्रकारको कर्जा आर्थिक रूपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि प्रवाह गरिन्छ । एक्मे इन्जिनीयरिङ कलेजकी विद्यार्थी हायुले आफू सीमान्तकृत (लोपोन्मुख) समुदायकी भएकाले सजिलै कर्जा पाएको बताइन् । सञ्चार माध्यमबाट आफूले यस प्रकारको कर्जाबारे थाहा पाएको उनको भनाइ छ । ‘यो कर्जा पाएर पढाइको शुल्क तिर्न निकै सजिलो भएको छ,’ उनले भनिन्, ‘कलेज भर्ना हुँदा केही छूट त मिलेको थियो, तर मासिक शुल्क तिर्दा छूट मिल्दैन थियो । यो कर्जाले मेरो पढाइ खर्च कम गर्न सघाएको छ ।’ उनका अनुसार यस्तो कर्जाका लागि सपरिवारको नागरिकता तथा आफै उपस्थित भएर ल्याप्चे चाहिन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत कर्जा लिने पहिलो व्यक्ति अधिकारी र हायु हुन् । यस बैंकले पत्रकार सम्मेलन सहुलियत कर्जाको औपचारिक घोषणा गर्ने क्रममा अधिकारी र हायुलाई पहिलो किस्ताको कर्जा प्रदान गरेको थियो । उनीहरूजस्तै नेपालमा आफै केही नयाँ गरौं भन्ने युवा धेरै छन् । अधिकांश वाणिज्य बैंकले देशका शिक्षित बेरोजगार युवाको शीप र जाँगर उजागर गर्न सरकारले ल्याएको सहुलियतपूर्ण कर्जाको नीति कार्यान्वयन गर्न थालेका छन् । सरकारले सहुलियत कर्जा दिने घोषणा गरेदेखि विदेशबाट फर्किएर आएका अधिकांश युवा समेत यो कर्जा लिन उत्सुक भएका छन् । एनआईसी एशिया बैंकका प्रमुख जनसम्पर्क अधिकृत अर्जुनराज खनियाँले भने, ‘देशभित्र आयात हुने खाद्य सामग्रीको प्रतिस्थापन गर्न हामी कृषिकर्जामा बढी केन्द्रित भएका छौं । यसले हामीले खपत गर्ने अधिकांश सामग्री देशभित्रै उत्पादन गर्न टेवा पुग्छ । हामी कृषिकर्जाजस्तै चाँडै नै शैक्षिक कर्जा पनि प्रवाह गर्ने तयारीमा छौं ।’ उनका अनुसार एनआईसी एशिया बैंकले कृषिकर्जाका लागि रू. २ अर्ब २२ करोड छुट्ट्याएको छ । तरलता अभावको अवस्थामा कर्जा लिनेले पनि कम ब्याजमा कर्जा पाउने र कर्जा दिने बैंकले पनि आफ्नो मार्जिनमा सम्झौता नगरी कर्जा दिन पाउँछ । सीसीडी रेशियो गणना गर्दा यसरी दिइएको कर्जालाई कर्जाको रूपमा हिसाब राख्नु नपर्ने भएपछि वाणिज्य बैंकहरूलाई ठूलो राहत पुगेको खनियाँले बताए । ‘सर्वसाधारणको घरदैलोमा जाने रणनीति भएको यस बैंकलाई सहुलियत कर्जाले झन् सहयोग गर्नेछ । यो बैंक गाउँ गाउँमा पुगिरहेको छ,’ उनले भने, ‘अब यस बैंक ग्रामीण क्षेत्रमा यस्तो कर्जा उपलब्ध गर्न सक्छ ।’ एनएमबी बैंकले पनि पत्रकार सम्मेलन गरी यस कर्जाको औपचारिक घोषणा गरेको थियो । उक्त बैंकका प्रवक्ता कृष्ण सुवेदीले भने, ‘बैंकमा यस प्रकारको कर्जाका लागि सोधपुछ गर्न धेरै आइरहेका छन् । कर्जा लिने र दिनै दुवै पक्षलाई यसबारे बुझ्न समय लाग्छ । विस्तारै बैंकले कर्जा प्रदान गर्नेछ ।’ सरकारले घोषणा गरेको यो कार्यक्रम कार्यान्वयनमा आएसँगै उद्यम तथा उद्यमशीलताको वातावरण बन्ने र यसले बेरोजगारी समस्या अन्त्य गर्ने अपेक्षा उनले गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)