ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमाबारे जान्नैपर्ने शब्दावली

Jan 29, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
इच्छाएको व्यक्ति (नोमिनी) आफ्नो शेषपछि आफ्नो बीमा पोलिसीको लाभ पाउने भनेर आफैले तोकेको व्यक्ति हो । कम्पनीले बीमितको मृत्यु भएमा सम्बन्धित बीमालेख अन्तर्गत भुक्तानी गरिने रकम प्राप्त गर्ने व्यक्ति बीमितले इच्छाएको छ भने निजको नाम तथा ठेगानालाई बीमालेखको अनुसूचीमा उल्लेख गर्नेछ । बीमितले इच्छाइएको व्यक्ति फेर्ने निर्णय गरेमा नयाँ इच्छाइएको व्यक्तिको नाम र ठेगानालाई बीमालेखमा सम्पुष्टि जनाउन बीमालेखसहित लिखित रूपमा बीमकको कार्यालयमा पठाउनु पर्नेछ । बीमकले यस बीमालेखमा परिवर्तन नगरेसम्म इच्छाइएको व्यक्तिको परिवर्तनले कुनै कानूनी मान्यता पाउने छैन । बीमितको मृत्यु हुँदा इच्छाइएको व्यक्ति जीवित भएमा मात्र निजलाई बीमालेख अन्तर्गतको रकम भुक्तानी दिइनेछ । बीमांक (सम एस्योर्ड) बीमा गर्न चाहेको जम्मा रकम यो बीमा पोलिसीमा खुलाउनु पर्छ । बीमा अवधि (पोलिसी टेन्योर) कति वर्षका लागि बीमा गरिएको हो, त्यो अवधि । परिपक्वता (म्यच्युरिटी) बीमा गरेको अवधि समाप्त हुने मिति । पूरक करार (राइडर) यो भनेको बीमा कम्पनीबाट थप सुविधा लिन पाउने व्यवस्था हो । बीमितले शुरूमा गरेको आधारभूत करारमा आवश्यकता अनुसार प्रिमियम थप्दै राइडर पनि थप्दै जान सक्छ । अहिले विभिन्न कम्पनीहरूले करीब १७/१८ प्रकारका घातक (मान्छे नमारे पनि जीवनभर रहने क्यान्सर जस्ता) रोगका लागि थप प्रिमियम लिएर एकमुष्ट बीमा गरिरहेका छन् । बीमा गर्दा प्रस्ताव फारम र लाग्ने बीमाशुल्क बुझाए पनि प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भनेर कम्पनीले निर्णय गरिसकेको नहुन सक्छ । यसका लागि छुट्ट्याएको १५ दिन वा १ महीनाको अनुसन्धानको समयावधिलाई फ्री लूक पिरियड भनिन्छ । हाल नेपालमा यस्तो अभ्यास छैन । प्रिमियम भुक्तानी गर्नुपर्ने अवधि (ग्रेस पिरियड) कम्पनीको नियम अनुसार शुरूमा कति अवधिभित्र पहिलो प्रिमियम भुक्तानी गर्ने भनिएको छ, सोही समय अवधिलाई ग्रेस पिरियड भनिन्छ । प्रायः कम्पनीले वार्षिक, अर्ध वार्षिक वा त्रैमासिक तरीकाले प्रत्येक नवीकरण बीमाशुल्क भुक्तानी मात्र गर्छन् । यसमा ३० दिनको मोहलत (ग्रेस पिरियड) दिइने गरिएको छ । तर मासिक किस्तामा बीमाशुल्क तिर्ने हो भने १५ दिनको मात्र मोहलत दिइने गरिएको छ । बीमा पोलिसी रद्द गर्दा फिर्ता पाइने रकम (सरेन्डर भ्यालू) बीमितले २ वर्षसम्म किस्ता तिरेको छ, तर यसपछि तिर्न सकेन भने तिरेको प्रिमियमसम्म फिर्ता गर्ने व्यवस्था छ । यसका लागि बीमितले सामान्यभन्दा थप प्रिमियम तिर्नुपर्ने हुन्छ । तर कुनै बीमितले एकमुष्ट प्रिमियम तिरेको छ अर्थात् एकल बीमाशुल्क भुक्तानीको पोलिसी छ भने १ वर्षपछि मात्र ‘सरेन्डर’ भ्यालू पाउन सक्छ । महीनापिच्छे वा वर्षैपिच्छे प्रिमियम तिरिरहेको हकमा २ वर्षपछि मात्र सरेन्डर र त्यस्तो अवस्थामा बुझाएको प्रिमियम रकम गर्न बराबर फिर्ता लिन पाइनेछ । यस्तै, कसैले प्रिमियम शुल्क तिरिरहेको छ र बीचमा दुर्घटना भएर तिर्न नसकिने अवस्थामा पुग्यो भने ‘सरेन्डर’मा जानुपर्छ । ‘सरेन्डर’मा जाँदा पैसा त पाइन्छ । तर त्यसका लागि बीमितले कम्पनी अनुसार पहिले नै थप प्रिमियम तिर्नुपर्ने पनि हुन सक्छ । चुक्तामूल्य, चुक्ता बीमालेख (पेड अप भ्यालू) बीमितले २ वर्षसम्म बीमाशुल्क भुक्तानी गर्‍यो (पैसा तिर्‍यो) त्यो समयपछि भुक्तानी गरेन भने त्यो चुक्तामूल्यमा परिणत भएर बस्छ । र, त्यो समयको आर्जित बोनस प्राप्त गर्छ । सो अवस्थालाई चुक्तामूल्य भनिन्छ । साथै कम्पनीका अनुसार बीमालेखमाथि कानूनी स्वामित्व भएको व्यक्तिको अनुरोधमा पूरा २ वर्षको बीमाशुल्क भुक्तानी भइसकेको बीमालेखको बीमांकलाई प्राप्त बीमाशुल्क किस्ताको आधारमा समानुपातिक हिसाबले घटाई बाँकी बीमाशुल्क तिर्न नपर्ने गरिनेछ । बीमा समितिबाट स्वीकृत विधि प्रयोग गरी बीमकले घट्न गएको बीमांक रकम निर्धारण गर्नेछ । घटेको बीमांक रकम रू. ५ सयभन्दा कम भएमा बीमितलाई समर्पण मूल्य लिन अनुरोध गरिनेछ । भुक्तानी भएको बीमाशुल्क किस्ताको आधारमा मूल बीमांकले पाएको बोनस रकम बीमांकमा थप गरिनेछ । त्यसपछि कुनै बोनस रकम प्रदान गरिने छैन । ल्याप्स पोलिसी खारेज भएको पोलिसी कम्पनीको नियमअनुसार १ वर्षको मात्र बीमाशुल्क भुक्तानी गरेका बीमितले कुनै पनि रकम प्राप्त गर्न सक्दैन । तर २ वर्षभन्दा बढी तिरेको भए चुक्तामूल्य पाउँथे । २ वर्षअघि नै प्रिमियम तिर्न छोडेकाले सो रकम बीमितले फिर्ता पाउँदैन । यस्तो अवस्थालाई ल्याप्स पोलिसी भनिन्छ । व्यतीत बीमालेखको पुनर्जागरण (पोलिसी रिभाइबल) कम्पनीको नियमअनुसार बीमितले एक किस्ता प्रिमियम तिरेपछि बाँकी २–३ वर्षसम्म नतिरी बसेको अवस्थामा फेरि त्यही बीमा योजनालाई पुनर्जागरण गरेर बीमा गर्न इच्छुक हुन्छ भने यसलाई पोलिसी रिभाइबल भनिन्छ । यसमा कम्पनीले किस्ता अर्थात् प्रिमियम नतिरेको समयको अन्तरको नियमअनुसार ब्याज लिने गर्छ । सो ब्याज भुक्तानी गरेपछि मात्र बीमितले आफ्नै पुरानो बीमालाई निरन्तरता दिन पाउँछ । केही कम्पनीका अनुसार बीमकले खर्च बेहोर्नु नपर्ने गरी बीमितले आफू जीवन बीमाको लागि निरन्तर योग्य छु भनी बीमकले तोके बमोजिमको सन्तोषजनक प्रमाण पेश गर्नुका साथै बीमा समितिबाट स्वीकृत दरमा ब्याजसहित तिर्न बाँकी बीमाशुल्क रकमको भुक्तानी गरेमा उक्त बीमालेख व्यतीत भएको मितिले बीमालेख परिपक्व हुनुभन्दा अघि जुनसुकै समयमा पनि पुनर्जागरण गर्न सकिनेछ । बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू (एक्स्क्लुजन) बीमालेखले यस्ता जोखिम बेहोर्दैन भनेर उल्लेख गरिएको छ । बीमितलाई यस्तो जोखिम भएमा कम्पनीले क्षतिपूर्ति बेहोर्दैन । हवाई जहाजमा यात्रीको रूपमा यात्रा गरेकोमा बाहेक यस्ता जोखिम अन्तर्गत अन्य उडान गर्दा, कानूनको विपरीत हुनेगरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् वा नहोस्) मा संलग्न भएमा, नागरिक वा जंगी ऐन भंग गरेमा, बीमा प्रारम्भ मितिले २ वर्षभित्र आत्महत्या गरेमा कम्पनीले बेहोर्दैन । आत्महत्या (सुसाइड क्लज) बीमितले बीमा शुरू गरेको २ वर्षभित्रै आत्महत्या गरेको छ भने सो अवस्थामा बीमांक रकम कसैले अर्थात् हकवालाले पाउँदैन । समर्पण मूल्य तथा कर्जा एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमा प्रारम्भ भएको मितिले ३० दिनपछि कर्जा प्राप्त हुनेछ । साथै १ वर्षपछि बीमालेखको समर्पण मूल्य प्राप्त गर्नेछ । भुक्तान गरिएको एकल बीमाशुल्कमा अतिरिक्त बीमाशुल्क कट्टा गरी उक्त बीमालेखले आर्जित बोनस थप गरी न्यूनतम समर्पण मूल्य उपलब्ध गराइनेछ । पहिलो वर्षमा समर्पण गरिएमा भुक्तानी गरिएको एकल बीमाशुल्कको ८० प्रतिशत, दोस्रो वर्षमा ८५ प्रतिशत र तेस्रो वर्ष वा सोभन्दा पछिल्ला वर्षमा ९० प्रतिशत रकम भुक्तानी गरिनेछ ।

(विभिन्न कम्पनीका बीमालेख र बीमा विज्ञ भोजराज शर्मासँग गरिएको कुराकानीमा आधारित) प्रस्तुति : ममता थापा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)