जीवन बीमा किन गर्ने भन्ने महत्त्वपूर्ण सवाल हो । अझै यसलाई जुवाको रूपमा बुझ्नेहरू पनि छन् । बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्छ । बीमितको हित रक्षा गर्ने समितिको एक प्रमुख कर्तव्य हो । त्यसकारण कम्पनी पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनी भरपर्दो र विश्वासिला हुन्छन् । बीमा कम्पनी आफैले पनि पुनर्बीमा गरेका हुन्छन्, जसले गर्दा प्राकृतिक प्रकोप लगायत दुर्घटनामा कम्पनी परे के हुन्छ भन्ने चिन्ता लिनुपर्दैन ।
बीमाका फाइदाहरू
१. बचतको बानी बस्छ
लाखौंको कमाइले जिन्दगीमा त्यति महत्त्व राख्दैन, जति स–सानो बचतले राख्दछ । बीमा गर्दा सर्वप्रथम त बचत हुन्छ । वास्तवमा बचत नै समृद्धिको धुरीखाँबो हो । अन्य बचत योजनामा जुनसुकै बेला पैसा झिक्न मिल्छ र बीमामा पनि यो सुविधा भए पनि त्यति सजिलै झिकिँदैन । त्यसैले बीमा गर्दा अनिवार्य बचत गर्ने बानी बस्छ ।
२. जोखिम न्यूनीकरण हुन्छ
जीवन बीमा मानिसको जीवनमा हुने जोखिम विरुद्ध गरिन्छ । जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । बीमा गर्दा बीमकलाई जोखिम हस्तान्तरण हुने हुँदा विपत्तिपछिको आर्थिक नोक्सानको भरपाई हुन्छ ।
३. भविष्यको आर्थिक सुरक्षा
जीवन बीमा आफैमा एक लामो करार हो । कुनै निश्चित समय निर्धारण गरी बीमित पक्षले त्यो अवधिसम्म किस्ता तिर्दछ र अन्त्यमा बोनससहित भुक्तानी पाउँछ, जसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।
४. बीमितको मृत्युपछि पनि उसको परिवारमा आर्थिक संकट पर्दैन
हाम्रो जस्तो मुलुकमा यसको महत्त्व अझै बढी देखिन्छ । कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्ति मात्र हुन्छ । कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ । तर उसले जीवन बीमा गरेको छ भने उसको मृत्युपछि पनि उसको परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछ । यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ । बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ ।
५. आयकरमा छूट
बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट घटाएर बाँकी रकममा मात्र आय कर लाग्छ । २० हजारसम्मको आयमा आयकर छूट प्राप्त हुने हुँदा बीमितले त्यहाँबाट पनि लाभ लिन सक्छन् ।
६. बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी
निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेसकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव पर्दैन ।
७. सम्पत्ति धितो विना ऋण पाइने
जीवन बीमा गर्दा बीमितले अन्य कुनै सम्पत्ति नभई बीमा पोलिसी नै धितो राखी ऋण प्राप्त गर्न सक्छन् । बीमा प्रारम्भ भएको २ वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ । ऋण लिई बीमितले कुनै व्यवसाय शुरू गरी लाभ लिन सक्छ ।
८. स्वास्थ्यको सुरक्षा
हालको परिवेशमा विश्वभर कुनै पनि देशका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको देखिन्न । जिन्दगीभरको कमाइ कुनै एक रोगको कारणले रित्तिएर सडकमा आउनुपर्ने र कतिपयले त उपचार खर्चको अभावमा ज्यानै गुमाउनुपरेको छ । नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा उल्लेख गरिए पनि स्वास्थ्य उपचारको अभावमा वर्षेनि धेरै जनाले ज्यान गुमाइरहेका छन् । स्वास्थ्य बीमाले त्यस्ता घटना र रोगको उपचारमा मद्दत गर्छ । यसरी उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन पनि बीमाको महत्त्व छ ।
प्रस्तुति : काशीराम बजगाईं