ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्याङ्जालीको साझा महोत्सव

Jan 30, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
तोलाकान्त बगाले स्याङ्जा । माघ १७ (बिहीवार)देखि २८ गतेसम्म स्याङ्जाको वालिङ खेल मैदानमा सातौं वालिङ महोत्सव हुँदै छ । ‘हाम्रो गौरव हाम्रो शान : वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित महोत्सव हुन लागेको हो । गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला २०७५ ले वालिङ एवम् समग्र स्याङ्जा जिल्लाको पहिचान र स्थानीय उत्पादनलाई विश्वसामु पु¥याउने अपेक्षा गरिएको छ । मेलामार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, व्यावसायिक जनचेतना अभिवृद्धि, हस्तकला व्यवसायको खोजी तथा प्रवद्र्धन, लोक संस्कृतिको जगेर्ना, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ । कृषिक्षेत्रमा विशेषगरी सुन्तला, ताजा तरकारी, गोलभेँडा, अदुवा, कफी आदिको प्रवद्र्धन गर्ने ध्येयले समेत महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विशेषगरी कृषि, पर्यटन, हस्तकला र लोक संस्कृतिलाई प्राथमिकता दिएको छ । कृषितर्फ सुन्तला प्रदर्शनी गरिनेछ । महोत्सवमा स्थापित कृषिवस्तुको प्रदर्शनी स्टलमा यस क्षेत्रका अगुवा कृषकसँग कृषिक्षेत्रका समस्या र सम्भावनाबारे अन्तरक्रिया तथा कृषिसम्बन्धी परामर्श समेत गरिनेछ । त्यस्तै वालिङ क्षेत्रमा ताजा तरकारीको प्रवर्द्धन गरी निर्वाहमुखी खेती प्रणालीबाट व्यावसायिक तरकारी खेतीतर्फ कृषकलाई उन्मुख गराउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ । महोत्सव अवधिमा यस क्षेत्रको अदुवा, कफी, विभिन्न जडीबुटीका साथै खसीबोका, कुखुरा, माछा, मासु, दूध एवं दुग्ध पदार्थको प्रदर्शनी र विक्रीवितरण गरिनेछ । यसैगरी स्थानीय हस्तकला, बञ्चरो, हँसिया, कोदाला, खुकुरी, ढाका बुनाइ, रेशम कीरा सम्बन्धी प्रदर्शनी, विक्री र यसको शीपबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । जिल्लाका महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक, पौराणिक एवं पर्यटकीय स्थलको रूपमा रहेका गह्रौं कालिका मन्दिर, छाङ्छाङ्दी मन्दिर, नेपालकै सबैभन्दा ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना स्थल मिर्मी, कालीगण्डकीको जलाशय, विश्वकै ठूलो सेतीवेणीको शिला, नमूना पर्यटकीय गाउँ सिरुबारी, प्याराग्लाइडिङ स्कूल रहेको स्वरेक मैदान, सिर्सेकोट घुरुंखा, बझाकोट, आरुपाटा होमस्टे, सुन्तलाबारी होमस्टे र दाङसिङ, पहेँले डाँडा, बाहुनथान, गडहरे गुफाजस्ता पर्यटकीय स्थल अवलोकनको व्यवस्था गरिएको छ । यस्तै मेला अवधिभर हेलिकोप्टरको माध्यमबाट जिल्लाका धार्मिक स्थल दर्शन तथा अवलोकन गर्न सकिनेछ । महोत्सवमा ‘स्याङ्जा डान्स आइडल– सिजन दुई’ प्रतियोगिता हुनेछ । यस्तै खुला पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।

महोत्सवमा स्थानीय स्तरका कला र संस्कृति झल्काउने घाटु नाच, सोरठी नाच, कौडा, मादल नाच, खेली नाच (खैजडी मजुरा) सहितका विभिन्न कार्यक्रम प्रस्तुत गरिनेछ, जसले यहाँका लोपोन्मुख संस्कृति, वेशभूषा, बाजागाजाको संरक्षण र सहभागीलाई मनोरञ्जन हुने अपेक्षा गरिएको छ । महोत्सव अवधिमै यस क्षेत्रका विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका झाँकी देखाइनेछ । विभिन्न शैक्षिक सामग्री तथा बृहत् पुस्तक प्रदर्शनी, राष्ट्रिय कविता प्रतियोगिता यसपटकको महोत्सवमा आकर्षणका रूपमा रहनेछन् । महोत्सव अवधिमा स्टिमरद्वारा आँधीखोलामा जलविहारको व्यवस्था मिलाइएको छ । त्यस्तै अटो मोबाइल, बाल उद्यान, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, लोक तथा दोहोरी गीत प्रतियोगिता पनि सञ्चालन हुनेछन् । विभिन्न स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारबाट दोहोरी गीत तथा दोहोरी गीतको प्रतियोगिता र हास्यव्यंग्य प्रस्तुति गरिनेछ । महोत्सवको मुख्य प्रायोजकमा मुक्तिनाथ विकास बैंक, विशिष्ट प्रायोजकमा जगदम्बा सिमेन्ट, सह प्रायोजकमा गरिमा विकास बैंक लिमिटेड, गोर्खा ब्रुअरी, मुख्य सहयोगीमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र जिल्ला समन्वय समिति स्याङ्जा छन् । आयोजकका रूपमा वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिका रहेका छन् भने भीरकोट, पुतलीबजार, गल्याङ र चापाकोट नगरपालिका, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र अन्य संघसंस्था सहयोगीका रूपमा छन् । आधिकारिक मिडियाका रूपमा आर्थिक अभियान राष्ट्रिय दैनिकसहित अन्य राष्ट्रिय तथा स्थानीय टेलिभिजन, रेडियो, प्रादेशिक तथा स्थानीय पत्रपत्रिका रहेका छन् । महोत्सवमा कृषिजन्य, अटो वर्कशप, होटल व्यवसाय, साधारण व्यवसाय, हस्तकला लगायतका गरी ३ सय ५० स्टल छन् । महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने र रू. १५ करोडसम्मको कारोबार हुने अपेक्षा आयोजकको छ । यस्तै १ करोड ५० लाख ५१ हजार आम्दानी, ९६ लाख ९७ हजार खर्च र ५३ लाख ५४ हजार बचत हुने अनुमान छ । महोत्सवमा साधारण टिकटको रू. १ सय र विद्यार्थी सहुलियत टिकटको रू. ७० कायम गरिएको छ । प्रतिटिकट आम्दानीको रू. ५ व्यावसायिक हितकोष तथा रू. १ स्थानीय क्लबको सहभागितामा खेलमैदान व्यवस्थापनमा खर्च गरिने बताइएको छ । यस्तै कुल आम्दानीबाट हुने बचत रकम संस्थाको बहुउद्देश्यीय सामुदायिक भवन र नयाँ सचिवालय भवन निर्माणमा लगानी गरिने भएको छ ।
महोत्सवको आम्दानी सामाजिक क्षेत्रमा खर्चनेछौं शोभाकान्त पौडेल संयोजक, महोत्सव आयोजक मूल समिति महोत्सव सफल बनाउन ३१ ओटा उपसमिति बनाएर काम गर्‍यौं । सबै समिति र उपसमितिले आ–आफ्नो जिम्मामा परेका कार्य सम्पन्न गरेका छन् । महोत्सवमा १ करोड ५० लाख आम्दानी र ९६ लाख खर्च गरी कुल ५४ लाख रुपैयाँ बचत हुने अनुमान गरेका छौं । बचत रकम यस क्षेत्रको सामाजिक विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि खर्चने निर्णय भएको छ । स्थानीय क्षेत्रका प्रतिभा उजागर गर्न विभिन्न खालका प्रतियोगितात्मक कार्यक्रम, युवाका लागि भलिबल प्रतियोगिता, लोपोन्मुख अवस्थामा रहेको घुमाउने घरको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट विशेष प्रस्तुति रहनेछ । महोत्सव वालिङ तथा समग्र स्याङ्जावासीको प्रतिष्ठासँग जोडिएको विषय भएकाले यसलाई सबैको साझा महोत्सवको रूपमा विकास गर्नेगरी अगाडि बढेका छौं । महोत्सवलाई अवसरको रूपमा लिनुपर्छ दिलीपप्रताप खाँण प्रमुख, वालिङ नगर कार्यपालिका वालिङ महोत्सवलाई एउटा अवसरको रूपमा लिएर सही सदुपयोग गर्नुपर्दछ । यस प्रकारका मेला महोत्सवले समग्रमा वालिङको आर्थिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रमा टेवा पुग्ने विश्वास लिएका छौं । नगरपालिका निजी क्षेत्रसँगै हातेमालो गर्दै वालिङको विकासका लागि अग्रसर छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङमा आयोजित सातौं वालिङ महोत्सवलाई सभ्य र भव्यरूपले सम्पन्न गरौं । महोत्सव जिल्लावासीको चाडको रूपमा विकास हुँदै छ पुण्यप्रसाद अर्याल, निर्देशक वालिङ महोत्सव स्याङ्जाका सम्पूर्ण बासिन्दाको साझा पर्व हो । यसको विशेषता भनेकै धेरैभन्दा धेरै जनसमुदाय एकै ठाउँमा उपस्थित हुनु हो । महोत्सवमा सहभागी सबै दर्शक खुशी र उत्साहित देखिन्छन् । महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन, धार्मिक क्षेत्रमा पनि उल्लेख्य काम गरेको पुष्टि भएको छ । वालिङका व्यवसायी साथीहरू, राजनीतिक दल, सामाजिक संघ संस्था, सरकारी तथा गैर सरकारी सबै निकाय महोत्सव सफल बनाउन लागिपर्नु भएको छ । विगतको जस्तै यसपटकको महोत्सव पनि छिमेकी जिल्लावासी दाजुभाइ, दिदीबहिनी लगायत सबैले अवलोकन गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । यो महोत्सव विगतका भन्दा थप सफल बन्नेछ ले. यामबहादुर गुरुङ संयोजक, अनुगमन तथा मूल्यांकन समिति वालिङ उद्योग वाणिज्य संघले म अध्यक्ष हुँदा २०६३ सालमा प्रथम वालिङ महोत्सव आयोजना गर्‍यो । महोत्सवलाई वालिङ एवम् समग्र स्याङ्जावासी दाजुभाइ दिदीबहिनीले महत्त्वपूर्ण चाडको रूपमा लिएको मैले महसूस गरेको छु । प्रत्येक २/२ वर्षमा १२ वर्षको अन्तरालमा ६ ओटा महोत्सव साँच्चिकै सफल भएको सन्देश गएको छ । अहिलेको महोत्सव विगतका भन्दा थप सफल बन्ने आशा गरेको छु । महोत्सवबाट यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, कृषि पर्यटन, हस्तकला, पशुपालन लगायत क्षेत्रको अभिवृद्धिमा सहयोग पुगेको समेत पाएको छु । वालिङलाई कृषि, पर्यटन र उद्योगको नमूना नगर बनाउँछौं अर्जुनप्रसाद खनाल सहसंयोजक, मूल आयोजक समिति तथा सांस्कृतिक एवम् लोक दोहोरी गीत प्रतियोगिता व्यवस्थापन उपसमिति वालिङ, स्याङ्जा र समग्र गण्डकी प्रदेशकै कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, कला र संस्कृतिको अपूर्व संगमका रूपमा स्थापित गर्ने लक्ष्यसहित हामी यो महोत्सव सफल पार्न लागिपरेका छौं । यसपटकको महोत्सवमा पनि लोकदोहोरी गीत प्रतियोगिता समावेश गरेका छांै । शैक्षिक नगरीको रूपमा परिचित यो नगरलाई कृषि, पर्यटन र उद्योग व्यवसायको नमूना नगर बनाउने हाम्रो अठोट छ । हाम्रा सांस्कृतिक धरोहरलाई राष्ट्रिय–अन्तरराष्ट्रिय स्तरमा परिचित गराउन पनि क्रियाशील छौं । सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण छ पदमराज गुरुङ संयोजक, प्रचार प्रसार, कलाकार तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमिति महोत्सवमा जति सर्वसाधारणको सहभागिता रहन्छ, त्यति नै यसको सफलता हुनेछ । मेला सफल बनाउन राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमको साथ र सहयोग निकै महŒवपूर्ण छ । सिद्धार्थ राजमार्ग तथा आसपासका ग्रामीण क्षेत्रमा माइकिङ तथा प्रचार प्रसार गरिएको छ । सामाजिक सञ्जालको अधिकतम प्रयोग भइरहेको छ । महोत्सवका गतिविधिबारे आर्थिक अभियान राष्ट्रिय दैनिक, न्यूज २४ टेलिभिजन, रेडियो आँधीखोला, वालिङ टेलिभिजन, लक्ष्मी टेलिभिजन, सत्यवाणी साप्ताहिक, पब्लिक आवाज साप्ताहिक, मेरो दृष्टि अनलाइन लगायत मिडियाबाट जानकारी गराइनेछ । निःशुल्क स्टलको समेत व्यवस्था गरिएको छ चक्रबन्धु रेग्मी संयोजक, प्रायोजन, आर्थिक संकलन तथा स्टल बुकिङ व्यवस्थापन उपसमिति महोत्सवमा उपस्थितिका लागि सबैलाई अनुरोध गर्दछु । मेरो जिम्मेवारीमा प्रायोजन, आर्थिक संकलन तथा स्टल बुकिङ व्यवस्थापन रहेको छ । यीलगायत अहिलेसम्म भएका गतिविधिको बारेमा चासो देखाई अफिसियल मिडियाको रूपमा रहेको आर्थिक अभियान राष्ट्रिय दैनिक, प्रायोजक सम्पूर्ण बैंक वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान र विभिन्न संघसंस्थालाई धन्यवाद व्यक्त गर्दछु । महोत्सवमा स्टलका लागि विभिन्न प्रकृतिका व्यवसाय बुकिङ भएका छन् । ३ सय ५० स्टल निर्माण गरिएको छ, जसमा कृषि ज्ञानकेन्द्र, वालिङ नगरपालिका अन्तर्गत कृषि शाखा विकास कार्यालय तथा घरेलु एकाइ कार्यालय स्याङ्जासँगको समन्वयमा कृषि तथा हस्तकलाका सामग्रीको प्रदर्शनी, हस्तकलाका स्टलहरू, कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी र महिला उद्यमीका लागि निःशुल्क स्टलको व्यवस्था मिलाइएको छ । आयोजक वालिङ उद्योग वाणिज्य संघमा आबद्ध सदस्यका लागि यस महोत्सवमा स्टलको भाडादरमा तोकिएको मूल्यमा २५ प्रतिशत छूट दिइएको छ । साथै स्थानीय व्यवसायीलाई स्टल सहज रूपमा उपलब्ध गराइएको छ । महोत्सवको आयव्यय व्यवस्थापनमा सचेत छौं ताराप्रसाद श्रेष्ठ संयोजक, आर्थिक एवम् लेखा व्यवस्थापन उपसमिति महोत्सवको मुख्य पाटो आर्थिक व्यवस्थापनसँग जोडिएको छ । महोत्सव अवधिमा हुने आम्दानी र खर्चलाई पारदर्शी रूपमा राखिनेछ । आम्दानी बढी र खर्चमा न्यूनीकरण गरी कसरी धेरै बचत गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । खर्च व्यवस्थापन महŒवपूर्ण पाटो भएकाले त्यसको न्यूनीकरणका लागि लेखासम्बन्धी अनुभवीलाई यस समितिमा राखेर काम गरेका छौं । साथै दिनदिनै संकलन भएको रकम बैंकमा जम्मा गर्ने योजना बनाएका छौं । विना सम्झौताका बिल भरपाई फछ्र्योट गर्ने छैनौं । महोत्सव अवधिभर भएका सबै हरहिसाब महोत्सव सकिएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गने योजना छ । नमूना कृषिमेला तथा हस्तकला प्रदर्शनी गर्नेछौं शिवलाल डुम्रे संयोजक, कृषि मेला तथा हस्तकला प्रदर्शनी कृषि तथा पशु कार्यालयसँग समन्वय गरी यस महोत्सवमा कृषिसम्बन्धी ३० ओटा स्टल र हस्तकला सम्बन्धी स्टल १० ओटा निःशुल्क उपलब्ध गराएका छौं । महोत्सवमा कृषिमा यन्त्रीकरण सम्बन्धी चेतनामूलक कार्यक्रम गरिनेछ । स्थानीय रूपमा निर्माण भएका हस्तकलाका सामग्रीको प्रचार प्रसार गरी तिनको विक्री वितरण र पुरस्कारको व्यवस्था मिलाइएको छ । स्याङ्जा सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेकाले यहाँ उत्पादित सुन्तलाबाट जुस, स्क्वास, जेली बनाएर विक्री वितरण गर्नेछौं । साथै ‘एक जिल्ला : एक उत्पादन’ अन्तर्गत रहेको अदुवा प्रशोधन गरी त्यसका विभिन्न परिकार महोत्सव स्थलमा राखिनेछ । यसैगरी रंगीन माछासहितको एक्युरियम र फूलको नर्सरीको प्रदर्शनी गरिनेछ । स्थानीय माछा, मासु र अण्डा परिकार समेत महोत्सव स्थलमा उपलब्ध हुनेछ । स्वयंसेवकहरू आफ्नो कर्तव्यप्रति सचेत भएकाले सहज हुनेछ गोविन्द तिवारी संयोजक, स्वयंसेवक, युवा परिचालन एवं समन्वय उपसमिति स्वयंसेवक परिचालनका लागि क्लबको भेला राखेर उनीहरूलाई महोत्सव स्थलमा गर्नुपर्ने कार्यका बारेमा जानकारी गराइएको छ । आवश्यकता अनुसार युवा क्लबका साथीहरूलाई भेला गरेर सचेतनामूलक अभिमुखीकरण प्रदान गरिएको छ, जसले गर्दा स्वयंसेवकहरू आफूले गर्नुपर्ने काम कर्तव्यप्रति सचेत भई कार्य सम्पादनमा सहज हुनेछ । यो उपसमितिलाई क्रियाशील, अनुभवी युवा साथीलाई परिचालन गर्ने जिम्मेवारी दिइएको छ । समाजमा सकारात्मक सोचका साथ सामाजिक संस्था, क्लबहरूमा काम गरेका युवालाई समेट्न सकियो भने अवश्य नै महोत्सवमा छिटो छरितो तवरबाट सेवा प्रवाह हुनेछ । महिलाको उल्लेख्य उपस्थिति हुनेछ कविता भुसाल संयोजक, महिला तथा आमा समूह समन्वय उपसमिति सातौं वालिङ महोत्सवमा महिला दिदीबहिनीको उपस्थिति विगतका महोत्सवमा भन्दा बढी हुनेछ । यस उपसमितिले वालिङ नगरभित्रका १४ ओटै वडाका महिला दिदीबहिनी आबद्ध रहेका आमा समूहहरूको भेला राख्यौं, जहाँ महिला दिदीबहिनीहरूको उपस्थिति उत्साहजनक रह्यो । यसबाट पनि पुष्टि हुन्छ, विगतका महोत्सवमा भन्दा यसपटक महिला दिदीबहिनीले धेरै चासोका साथ सातौं वालिङ महोत्सवलाई लिनुभएको छ । वालिङ महोत्सवमा रत्यौली गीत प्रतियोगिता, विभिन्न समुदायका लोपोन्मुख अवस्थामा रहेका झाँकीको प्रदर्शनीका साथै महिला दिदीबहिनीले उत्पादन गरेका हस्तकलाका सामानको प्रदर्शनी तथा विक्रीको व्यवस्था मिलाएका छांैं । व्यवसाय प्रवर्द्धनका लागि महोत्सवको महत्त्वपूर्ण भूमिका गिरमान गुरुङ संयोजक, अतिथि सत्कार, प्रशंसापत्र व्यवस्थापन तथा होटल व्यवस्थापन महोत्सवले कृषि, पर्यटन, व्यापार व्यवसायको प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यस्तै यसबाट वालिङसहित समग्र स्याङ्जाका धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्त्व बोकेका सम्पदाको प्रचार प्रसारमा समेत टेवा पुग्नेछ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना पनि छ, जसले गर्दा यहाँका व्यवसायीले आर्थिक लाभ लिन सक्नेछन् । विगतको अनुभवलाई यो महोत्सवमा प्रयोग गर्छौं केशरबहादुर खाँण संंयोजक, सचिवालय व्यवस्थापन, छपाइ तथा प्रकाशन उपसमिति महोत्सव अवधिमा यससम्बन्धी जानकारी तथा यहाँ हुने सम्पूर्ण काम सचिवालयबाटै सञ्चालित हुन्छन् । महोत्सवलाई सभ्य र भव्यरूपमा सफल बनाउन सचिवालय व्यवस्थापन आवश्यक छ । यसका लागि महोत्सव स्थल परिसरमा रहेको तमु सेवा समाजको भवनमा सचिवालय स्थापना गरिएको छ । विगतका ६ ओटा महोत्सवबाट प्राप्त अनुभवबाट यसपटकको महोत्सव थप सफल बनाउनेछौं । सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी लागेका छौं कृष्ण खाँण संयोजक, सुरक्षा व्यवस्थापन उपसमिति सातौं वालिङ महोत्सवको सुरक्षा व्यवस्थापनका लागि मेरो संयोजकत्वमा उपसमिति गठन गरिएको छ । महोत्सवको मुख्य पाटो सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान रहनेछ भने ग्रूप फोर सेक्युरिटीसँग स्टलको सुरक्षाका लागि सम्झौता भएको छ । त्यस्तै महोत्सव परिसरभन्दा बाहिरी सुरक्षालाई पनि कडा पार्ने तयारी छ । स्टेजको कार्यक्रम साँझ ६ बजेभन्दा पछाडि सञ्चालन नगर्ने, होटल व्यवसाय राति ८ बजे पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)