काठमाडौं । मंगलवारदेखि राजधानीको भृकुटीमण्डमा शुरू भएको क्यान इन्फोटेक २०१९ मा युवाको मुख्य आकर्षणमा ल्यापटप परेको छ । प्रविधि मेलामा विभिन्न कम्पनीको ल्यापटप युवाको रोजाइमा परेको हो । मेलामा इन्टेल, एचपी, एसर, डिजीकम, लेनोभो र डेलको स्टलमा ल्यापटप हेर्न युवाको भीड देखिएको छ । मेलामा ल्यापटप्रति विशेषगरी युवाहरूको चासो र आकर्षण बढेको क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियाले बताए ।
क्यान इन्फोटकमा विभिन्न कम्पनीका न्यूनतम ४० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मका ल्यापटप प्रदर्शनीका लागि राखिएका छन् । प्रदर्शनीमा राखिएका सबै सबै कम्पनीका ल्यापटपमा युवाले रुचि देखाएका हुन् । विषेशगरी एचपी कम्पनीको ल्यापटपमा उनीहरूको क्रेज रहेको छ । मेलाका अवलोकनकर्तामा बालबालिकादेखि वृद्धसम्म छन् । त्यसमध्ये युवाको रुचि यस्ता उत्पादनमा देखिएको छ ।
मेलामा राखिएका ल्यापटपमा अवलोकनकर्ताको बढी चासो रहेको डिजीकम कम्पनीका प्रतिनिधि पनि बताउँछन् । उनीहरूका अनुसार अधिकांश युवा र अन्य उमेर समूहका अवलोकनकर्ताले समेत ल्यापटपमा रुचि राख्ने गरेका छन् ।
हाल कक्षा १२ मा पढ्ने चितवनका गौरव श्रेष्ठले आफूले मेलामा सबै कम्पनीका ल्यापटप अवलोकन गरेको बताए । पहिलेदेखि नै ल्यापटप किन्ने योजना बनाएका उनले प्रविधि मेलामा एकै ठाउँमा सबै कम्पनीको ल्यापटपको मूल्य तथा सुविधा बुझ्ने अवसर मिलेको बताए । तर मेलामा सामसुङ, एप्पल जस्ता विश्वप्रसिद्ध कम्पनीको ल्यापटप देख्न नपाएको उनको गुनासो छ ।
क्यान इन्फोटेकमा सूचनाप्रविधिको महत्त्वपूर्ण अंगका रूपमा ल्यापटप र यसमा आएको नवीनता अवलोकनकर्ताको प्रमुख रुचिको विषय हुने आयोजकको अपेक्षा छ । संसारकै नवीनतम प्रविधियुक्त ल्यापटप नेपाल भित्रिएको उनीहरूको भनाइ छ । क्यान महासंघका महासचिव रञ्जित पोद्दारले प्रविधिका क्षेत्रमा भइरहेको विकासबारे जानकारी दिनु क्यानको मुख्य उद्देश्य रहेको बताए ।
जारी क्यान इन्फोटेकका १ सय ७० स्टलमध्ये अधिकांश स्टल ल्यापटपका नयाँ मोडलले भरिएका छन् । ६ घण्टाभन्दा धेरै ब्याकअप दिने ल्यापटप नेपाली बजारमा आएका छन् । अहिले सामान्यतया ३ घण्टासम्म ब्याट्री ब्याकअप भएका ल्यापटप बजारमा उपलब्ध छन् ।
सहजै स्थानान्तरण गर्न सकिने, आकर्षक हार्डवेयर तथा सफ्टवेयरको प्रयोगजस्ता विशेषताले ल्यापटपप्रति उपभोक्ताको आकर्षण बढाएको छ । डेस्कटपमा उपलब्ध सम्पूर्ण सुविधा पाउनु प्रयोगकर्ताका लागि फाइदाको विषय हो । पछिल्लो समय नयाँ संस्करणका अपरेटिङ सिस्टम भएका ल्यापटप आएका छन् ।
अहिले एप्पल, डेल, एसर, लेनोभो, सोनी, फुजित्सु, प्रोलिंक, एचपी, आसुस, हासी, तोशिबालगायत ब्रान्डेड ल्यापटप नेपाली बजारमा उपलब्ध छन् । आफ्नो बजार विस्तारका लागि नेपालस्थित आधिकारिक विक्रेताले ल्यापटपको खरीदमा आकर्षक सुविधा पनि उपलब्ध गराउन थालेका छन् । यस्तो प्रतिस्पर्धाले पछिल्ला वर्षमा ५० प्रतिशतसम्म कम मूल्यमा ल्यापटपको विक्री भइरहेको व्यवसायीको भनाइ छ ।
नेपालमा विशेषगरी विद्यार्थी तथा कार्यालयका कर्मचारीले ल्यापटपको प्रयोग गर्छन् । अध्ययन सामग्री जुटाउनेदेखि सामाजिक सञ्जालमा रमाउन ल्यापटप विद्यार्थीको राम्रो माध्यम बनेको छ ।
कर्मचारीका लागि भने कार्यालय प्रयोजनको काममा यो निकै सहयोगी बनेको छ । एक ठाउँदेखि अर्को ठाउँमा सजिलै लैजान सक्ने हुँदा कार्यालयमा बाँकी रहेको काम कर्मचारीले घरमा आएर गर्न सक्छन् । अहिले ५ सय जीबी हार्डिक्स, ४ जीबी र्याम, रेटिना डिस्प्ले, वाईफाई, वेबक्याम, ब्ल्यूटूथको सुविधा भएका ल्यापटपको माग बढी छ । व्यवसायीका अनुसार अहिले ३५ हजारदेखि ५० हजार रुपैयाँसम्मका ल्यापटपको विक्री बढी हुने गरेको छ । मेलामा अवलोकनकर्ताको रुचि ल्यापटपपछि ड्रोनमा रहेको छ । विशेषगरी युवाहरूले हिमाल, पहाडको यात्रा गर्दा ड्रोनमार्फत भिडियो वा तस्वीर लिने ट्रेन्ड बढ्दै गएको छ । यस कारण पनि मेलामा प्रदर्शित ड्रोनप्रति अवलोकनकर्ता आकर्षित भएका हुन् ।