काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलामा ‘रोबोट ब्याटल कम्पिटिशन’मा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । क्यान महासंघका अनुसार मेलामा रहेको रोबोटिक्स जोनमा आइतवार (२० गते)सम्म रोबोट ब्याटल कम्पिटिशन हुनेछ । कम्पिटिशनमा मावि, उच्च मावि तथा इन्जिनीयरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच प्रतिस्पर्धा भइरहेको छ ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यान महासंघले स्थापनाको २ वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन गर्ने तथा खरीद गर्नेको भीड बढेको छ । क्यान महासंघका अनुसार २ दिनमा २ लाख जनाले मेलाको अवलोकन गरिसकेका छन् । मेलामा नयाँ नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।
नयाँ नयाँ स्किम
क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ नयाँ स्किम ल्याएको छ । केबलनेट सेवा प्रदायक कम्पनी सुबिसुले स्किमबारे अवलोकनकर्तालाई मेलास्थलमै जानकारी गराउनेछ । मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इन्डोनेशियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले २ रातका लागि खाने–बस्ने सुविधासहित जाने–आउने टिकट पाउनेछन् । ई–सेवाबाट यी सबै सुविधा उपलब्ध गराइएको हो । त्यस्तै दैनिक पुरस्कार अन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा र्याफ्टिङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच ग्रूप अफ होटल्समा हरेक दिन एक जोडीलाई १ रात बस्ने सुविधा प्रदान गरिनेछ ।
यसबाहेक हरेक दिन पाँच जनालाई २ हजार रुपैयाँबराबरको शपिङ भौचर प्रदान गरिनेछ । त्यस्तै ६० जनालाई २ सय रुपैयाँबराबरको पूmड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् । यो अफरमा सहभागी हुन मेला अवलोकनकर्ताले सीएएन टाइप गरेर ३२१२१ मा पठाउनुपर्नेछ ।
मेलाका आकर्षण
मेलामा इन्नोभेशन प्याभिलन समेत रहेको छ । इन्नोभेशन प्याभिलनमा स्मार्ट हेल्थ, स्मार्ट एजुकेशन, स्मार्ट एग्रिकल्चर, स्मार्ट होमबारे जानकारी गराइन्छ ।
सूचना प्रविधिदेखि बैंक, बीमासम्मको सहकार्य
२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रालि हो भने एशोसिएट प्रायोजक ई–सेवा फोन पे प्रालि हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रूप रहेको छ । त्यस्तै गोल्ड स्पोन्सरमा एनसेल प्रालि र लर्ड बुद्ध एजुकेशन फाउन्डेशन रहेका छन् । मेलाको सिल्भर स्पोन्सरमा प्रोलिंक, एस–पावर बीपीई प्रालि र टेक्नोस कर्पोरेशन (नेपाल) प्रालि तथा प्रिन्ट स्पोन्सरमा एक्सन प्वाइन्ट नेपाल रहेको छ । क्यान इन्फोटेकको अफिसियल पार्टनर नेपाल क्लियरिङ हाउस लिमिटेड, अफिसियल बैंक प्रभु बैंक, बीमा पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, अफिसियल स्पोन्सर नेपाल टेलिकम र अफिसियल अनलाइन टिकेटिङमा एफवान सफ्ट इन्टरनेशनल प्रालि रहेका छन् ।
यसैगरी जानकी टेक्नोलोजी प्रालि अफिसियल एसएमएस पार्टनर तथा अफिसियल डिजिटल मार्केटिङ पार्टनरको भूमिकामा रहेको छ । मेलाको अफिसियल अनलाइन पेमेन्टमा ई–सेवा फोन पे प्रालि, अफिसियल इन्टरनेट सर्भिस प्रोभाइडरमा सुबिसु केबल नेट प्रालि र अफिसियल सीसीटीभी पार्टनरमा ई–थ्री सेल्स एन्ड सर्भिस प्रालि रहेका छन् ।
कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुशन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुशन्स, पेमेन्ट सोलुशन्सलगायत स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
प्रविधि मेलामा सामूहिक रूपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन् । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।