यसपालिको क्यान इन्फोटेकमा ल्यापटप खरीद गरिदिने भनेपछि निकै उत्साहित भएकी गोरखाकी प्रतिमा सिलवाल इन्फोटेक मेलामा धेरै थरीका ल्यापटप देखेपछि अलमलमा परिन् । लेनोभो, डेल, एसर, एचपीमध्ये राम्रो किन्ने सोचले गएकी सिलवाल अनेक प्रकारका ल्यापटप देखेपछि अन्योलमा परेकी हुन् । इन्फोटेकका १० भन्दा बढी ल्यापटप स्टल धाउँदा धाउँदा उनले कुन ल्यापटप किन्ने भनेर निक्र्यौल नै गर्न सकिनन् ।
आफ्नो र अफिसको कामलाई सजिलो बनाउन ल्यापटप किन्न हिँडेकी सुस्मिता घिमिरे पनि अन्योलमै घर फर्किन् । उनी अलमल र अन्योलमा पर्नुको कारण बजारमा उपलब्ध ल्यापटपका अनेकौं ब्रान्ड, मोडल, डिजाइन र हार्डवेयर ।
विशेषगरी ल्यापटपको आकार, विशेषता, क्षमता, प्रयोग सहजता लगायत कारण धेरैलाई ल्यापटप खरीदमा अन्योल हुने गर्छ । बजारमा डेल, एचपी कम्प्याक, सोनी, लेनेभो, एमएसआई, ह्यासी आदि ब्रान्डका ल्यापटप पाइन्छन् ।
ध्यान दिनुपर्ने पक्षहरू
ल्यापटप खरीद गर्नुअघि ध्यान नपुर्याउने हो भने ब्रान्डकै कारण वा अनावश्यक हार्डवेयर जडान गरिएको कारण मूल्य बढी तिर्नुपर्ने वा आफ्नो आवश्यकतासँग मेल नखाने पनि हुन सक्छ । उच्च गति र क्षमता भएको कम्प्युटर वा ल्यापटप किन्नु पर्दछ । विशेषगरी मेमोरी, प्रोशेसर, हार्डडिस्कको क्षमता हेर्नुपर्दछ । साथै डीभीडी ड्राइभ, यूएसबी पोर्टबारे पनि निश्चित हुनुपर्छ ।
सीपीयूको छनोट
सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) ल्यापटप तथा कम्प्युटरको केन्द्रीय एवम् महत्त्वपूर्ण भाग हो । बजारमा विभिन्न प्रकारका सीपीयू जडित ल्यापटप पाइन्छन् । तिनमा मुख्यतया विश्वका दुई ठूला चीप निर्माता इन्टेल र एएमडीका विभिन्न श्रृंखलाका सीपीयूको वर्चस्व छ । तिनका प्रकार अनुसार ल्यापटपको शक्ति र कार्यप्रदर्शन पनि फरक हुने गर्छ । अफिस एप्लिकेशन, इन्टरनेट सर्फिङ, संगीत सुन्ने र फिल्म हेर्ने जस्ता सामान्य प्रयोजनका लागि इन्टेलको डुअल–कोर प्रोशेसर भएका ल्यापटप नै पर्याप्त हुन्छ । तर मल्टिमिडिया एप्लिकेशन, भिडियो गेम अथवा कम्प्युटर प्रोग्रामिङका लागि भने इन्टेलको ‘आई’ श्रृंखला विशेषगरी आई फाइभ र आई सेभेन सीपीयू भएको ल्यापटप आवश्यक पर्दछ ।
कोर आई सेभेन प्रोशेसर गेमिङ सिरिज तथा मल्टिमिडिया सिस्टमका लागि उपयुक्त हुन्छ । प्रोशेसरले कम्प्युटर एप्लिकेशन तथा प्रयोगकर्ताले दिएको कमान्डलाई कम्प्युटरको भाषामा प्रोशेस (एक्जिक्युट) गर्दछ भने मेमोरीले चलिरहेका प्रोग्राम स्टोर गरेर राख्ने गर्दछ । त्यसैले कम्प्युटरमा प्रोशेसर मात्र बढाएर हुँदैन, मेमोरी पनि बढाउनु पर्दछ ।
प्रयोग र कम भोल्टेज
ल्यापटपको प्रयोग घर र कार्यालयमा मात्र नभई बाहिर पनि उत्तिकै प्रयोग गर्नका लागि खरीद गरिन्छ । काम गर्दा गर्दै चार्ज सिद्धियो भने हैरान हुन्छ । त्यसैले कम विद्युत् खपत गर्ने प्रोशेसरयुक्त उत्पादन छान्नुपर्छ । यस्ता ल्यापटपको शक्ति त केही थोरै हुन्छ, तर पावर ब्याकअप धेरै समयसम्म टिक्ने हुनाले फाइदा नै बढी हुन्छ । त्यसैगरी ब्याकअप क्षमताका आधारमा ल्यापटपमा ९ ओटा सेल अथवा १२ ओटा सेलयुक्त ब्याट्री भए नभएकोमा पनि ख्याल गर्नुपर्दछ । साधारणतया ६ सेल ब्याट्री भएको ल्यापटपले साढे २ देखि ३ घण्टासम्म पावर ब्याकअप दिन्छ भने ९ सेल ब्याट्री भएको ल्यापटपले ४–५ घण्टासम्म ब्याकअप दिन्छ ।
वाईफाई
वाईफाई विना अबको दिनचर्याको कल्पना गर्न पनि गाह्रो भइसकेको छ । घरमा आउने पाहुना वा हामी अन्यत्र जाँदा, पहिलो खोजी नै वाईफाईको हुन थालिसकेको छ । वाईफाई ८०२.११ बी/जी र ८०२.११ एन गरी दुई प्रकारका हुन्छन् । वाईफाई ८०२.११ बी/जीले द्रुतगतिको इन्टरनेट कनेक्शन गर्न सक्ने भएकाले यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ ।
किबोर्ड र माउस
ल्यापटप चलाउन अत्यावश्यक हार्डवेयरमध्ये किबोर्ड र माउस पनि पर्छन् । तर डेक्सटपको तुलनामा ल्यापटपका किबोर्ड र माउस कमसल हुन सक्छन् । आकर्षक डिजाइनमा लोभिएर ल्यापटपका कतिपय प्रयोगकर्ता जस्तोसुकै किबोर्ड र माउस टचप्याडयुक्त उत्पादन खरीद गर्न पुग्छन् । यसले गर्दा ल्यापटप खरीद गरेको केही समयपछि नै समस्या हुने गर्दछ । यसबाट बच्न किन्नुअघि नै किबोर्ड सुविधाजनक भए–नभएको र माउस टचप्याडले राम्ररी काम गरे नगरेको निर्क्योल गर्नुपर्दछ । साथै बजारमा अहिले टच स्क्रिनयुक्त ल्यापटप पनि उपलब्ध भइसकेका छन् ।
ल्यापटपको च्यासिस
ल्यापटपको खरीद अघि ‘बडी’ प्लास्टिक अथवा धातु, केबाट बनेको हो, त्यो थाहा पाउनु पर्दछ । प्लाष्टिक ‘बडी’ भएका ल्यापटपको तुलनामा धातु प्रयोग भएका उत्पादन बढी सुरक्षित हुनुका साथै आकर्षक पनि देखिन्छन् । विशेषगरी आल्मुनियम च्यासिस भएका ल्यापटप बढी हलुका र सुरक्षित मानिन्छन् ।
तौल
विशेषगरी मोबाइल कम्प्युटिङका लागि नै लक्षित गरी बनाइने भए पनि ल्यापटपको आकार र त्यसमा प्रयोग भएका हार्डवेयरका कारण तौल कम वा बढी पनि हुन सक्छ । बढी तौल भएका ल्यापटप बोकेर हिँड्न कठिनाइ समेत हुन सक्छ । विशेषगरी डिस्प्ले अथवा स्क्रिनका आकार सानो भएका ल्यापटपको आयतन तथा तौल कम हुने भएकाले त्यस्ता उत्पादन नै किन्नु राम्रो हुन्छ । अफिस वा घरमा दैनिक प्रयोगका लागि उपयुक्त मानिने सानो स्क्रिन भएका, सस्ता ल्यापटप हलुका हुन्छन् । गेमिङ सिरिज कम्प्युटरमा गेम खेल्न उपयुक्त मानिने, मल्टिमिडिया (ग्राफिक्स, थ्रीडी भिडियो आदि) जस्ता विशेष प्रयोजनका लागि खरीद गरिने ल्यापटप त्यसमा भएको हार्डवेयरको कारणले गह्रौं हुन्छन् ।
ग्राफिक्स
मल्टिमिडिया एप्लिकेशनको प्रयोग र भिडियो गेम खेल्न पनि अहिले धेरैले ल्यापटप किन्ने गर्छन् । तर, डेस्कटप कम्प्युटरको तुलनामा कतिपय ल्यापटपका ग्राफिक्स कार्ड कम शक्तिशाली हुने गर्छन् । त्यसैगरी कतिपय ल्यापटपमा त ग्राफिक्स कार्डको नै प्रयोग नगरी सामान्य प्रकारको ‘इन्टिगे्रटेड’ ग्राफिक्स प्रणाली मात्रै राखिएको हुन्छ, जसबाट मल्टिमिडिया र गेमिङ एप्लिकेशन चलाउन सम्भव हुँदैन । त्यसैले ल्यापटपको ग्राफिक्स प्रणालीे ग्राफिक्स प्रोशेसिङ युनिट (जीपीयू)को शक्ति राम्ररी जाँच्नुपर्ने हुन्छ ।
वारेन्टी वा ग्यारेन्टी
कुनै ब्रान्ड विशेषको ल्यापटप खरीद गर्नुअघि त्यस सामानमा दिइने वारेन्टी र ग्यारेन्टीबारे प्रष्ट हुनु पर्दछ । दुई–चार हजार बढी तिर्दैमा वारेन्टी पिरियड बढी पाइन्छ भने त्यसै गर्नु उत्तम हुन्छ ।
अपरेटिङ सिस्टम
साधारणतया कुनै पनि उत्पादक कम्पनीको अधिकृत विक्रेतामार्फत खरीद गरिएको ल्यापटपमा सिरियल ‘की’सहितको जेन्युन अपरेटिङ सिस्टम (विन्डोज) इन्स्टल गरिएको हुन्छ । तर अपरेटिङ सिष्टम इन्स्टल नगरिएको ल्यापटपमा ६ देखि १० हजारसम्म सस्तो पर्ने हुन्छ । वास्तवमा कम्पनीले अपरेटिङ सिस्टम उत्पादन कम्पनीसँग ओएस खरीद गरेर प्रि–इन्स्टल गरी बेच्ने भए पनि त्यसको मूल्य पहिले नै ल्यापटपको मूल्यसँग जोडेर लिने हुनाले महँगो हुने गर्दछ । नेपालको परिप्रेक्ष्यमा सबैजसो सफ्टवेयर पाइरेटेड प्रयोग गरिने हुँदा खर्च कम गर्न फ्री डस अपरेटिङ सिस्टम नराखेको ल्यापटप खरीद गर्नु बजेटको हिसाबले उपयुक्त हुन्छ ।
टच स्क्रिन
अहिले मोबाइल जस्तै स्क्रिनटच ल्यापटप आउन थालेको छ । वेब पेज, स्टार्ट एप्स, इमेज ब्राउजिङका लागि लामो डकुमेन्ट हेर्न टचस्क्रिन भएको ल्यापटप निकै उपयोगी हुन्छ । यो ल्यापटपलाई परम्परागत किबोर्ड मोडमा समेत प्रयोग गर्न सकिन्छ ।
स्टोरेज क्यापासिटी
ल्यापटप खरीद गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको सञ्चय क्षमता हो । आफ्नो प्रयोजन अनुसार स्टोरेज क्षमता भएका ल्यापटप खरीद गर्नुपर्छ । आजभोलि फ्लास स्टोरेजयुक्त ल्यापटप समेत आएका छन्, जुन केही महँगो भए पनि डाटा नष्ट हुने सम्भावना कम र उच्च गतियुक्त समेत हुन्छन् ।