नेपालमा वार्षिक करीब साढे ५ लाख मेट्रिक टन फलामे छडको माग छ । तर, उद्योगहरूको वार्षिक उत्पादन क्षमता दोब्बरको हाराहारीमा छ । स्वदेशी रोलिङ मिलसँग वार्षिक १२ लाख मेट्रिक टन फलामे छड उत्पादन गर्न सक्ने क्षमता छ । तर, विभिन्न प्रकारका अवरोधका कारण यस्ता उद्योगबाट करीब ७ लाख टन हाराहारीमा मात्रै फलामे छडको उत्पादन हुँदै आएको छ । नेपाल स्टील रोलिङ मिल एशोसिएशनका अध्यक्ष साहिल अग्रवालका अनुसार फलामे डन्डीमा नेपाल आत्मनिर्भर भइसकेको छ । उत्पादनको गुणस्तर पनि अब्बल छ । नेपालमा कच्चापदार्थ आयात गरी फलामे डण्डीको उत्पादन हुँदै आएको उनले बताए । नेपालमा कुल मागको ८० प्रतिशत स्वदेशी उद्योगबाट आपूर्ति हुने गर्छ । नेपालमा वार्षिक ७० अर्बभन्दा बढी मूल्य बराबरको फलामे डन्डीको कारोबार हुने गरेको उनको भनाइ छ ।
अहिले हाउजिङ, अपार्टमेन्ट लगायत कंक्रिटका भवन, जलविद्युत् तथा पुल निर्माणमा फलामे छड धेरै खपत हुने गरेको छ । अहिले देशभर गरी करीब २० को संख्यामा उद्योग सञ्चालनमा छन् भने करीब १० ओटा नयाँ उद्योग छड उत्पादन गर्ने प्रक्रियामा छन् । नेपालमा ठूला परियोजना, हाइड्रोपावर, टनेल, फास्ट ट्र्याक योजनाको काम शुरू भयो भने अहिले नयाँ उद्योग थपिएर पनि उत्पादन बढी नहुने अवस्था छ ।
नेपालमा वार्षिक ५ देखि ६ प्रतिशतका दरले स्टील उत्पादनको माग बढ्दै गएको एशोसिएशनका पूर्वअध्यक्ष ध्रुवकुमार श्रेष्ठको भनाइ छ । केही वर्षअघिसम्म नेपालमा ३५ को संख्यामा फलामे छडका उद्योग थिए । अहिले नियमित बिजुली आपूर्तिको अभावमा करीब डेढ दर्जनको संख्यामा मात्रै उद्योग सञ्चालनमा छन् । यस्ता उद्योगबाट हाल वार्षिक करीब ४० अर्ब रुपैयाँ बराबरको छड उत्पादन हुँदै आएको व्यवसायीहरू बताउँछन् । नेपालमा हाल कमला स्टील, अशोक स्टील, हिमाल स्टील, जगदम्बा स्टील, काठमाडौं स्टील, लक्ष्मी स्टील, अम्बे स्टील, एभरेस्ट स्टील, गोयन्का स्टील, वागेश्वरी स्टील, हामा स्टील, नारायणी स्टील, पञ्चकन्या स्टील, पशुपति स्टील, एसआर स्टील, शाखः स्टील, शालिमार स्टील, मारुती नन्दन स्टील, भगवती स्टील लगायत उद्योग सञ्चालनमा छन् । यस्ता उद्योग विराटनगर, वीरगन्ज, नवलपरासी, रूपन्देही, नेपालगन्ज, बारा, भैरहवा, सुनसरीलगायत कोरिडोरमा स्थापना भएका छन् ।
स्टील उत्पादनमा सरकारी मापदण्ड
नेपाल गुणस्तर तथा नाप तौल विभागले फलामे छडमा उच्च प्रविधिको मेशिन प्रयोगमार्पmत गुणस्तर परीक्षण प्रक्रियाको शुरुआतपछि नेपाली छडको विश्वसनीयता बढेको छ । छडमा प्रयोग गरिएको केमिकलको मात्रा पत्ता लगाउन हाल प्रयोग गरिएको मेशिन महŒवपूर्ण रहेको बताइएको छ । छडमा केमिकलको परीक्षण गर्ने यो मेशिनलाई ‘सल्फर एनलाइजर’ भनिन्छ । विभागले कार्बन, सल्फर र फस्फोरसको मात्रा तोकिएभन्दा बढी राख्ने उद्योगले उत्पादन गर्न नपाउने नयाँ मापदण्ड लागू गरेको छ । अनुगमनका क्रममा उत्पादन गरिएका छडमा मापदण्डभन्दा बढी कार्बन, सल्फर र फस्फोरसको मात्रा भेटिएमा उत्पादित सामानको विक्री समेत रोकिने सरकारी प्रावधान छ । सरकारले केही समयअघि ‘कार्बन सल्फर एनलाइजर’ ल्याएर स्टीलको समेत परीक्षण गरिरहेको छ । यसअघि नेपालमा अन्तरराष्ट्रिय विधिअनुसार फलामको गुणस्तर जाँच गर्ने कुनै प्रविधि नै थिएन । नेपालमा उत्पादन हुने फलामका छड तथा तारमा नेपाल गुणस्तर चि≈न एनएस १९१ अनिवार्य लागू गरिएको छ ।
छडको उत्पादन र प्रयोग
नेपालमा ८ देखि ३२ मिमिसम्मको आकारमा फलामे छड उत्पादन हुने गर्छ । यीमध्ये २० देखि ३२ मिमी साइज रडको प्रयोग मेगा परियोजना निर्माणका लागि गरिन्छ । यस्ता योजनाहरूमा जलविद्युत्, पुल, सुरुङ लगायत पर्छन् । त्यस्तै, हाउजिङ निर्माणमा २० मिलिमिटरका छडको अधिक प्रयोग गरिन्छ । व्यक्तिगत घर निर्माणमा भने ८ मिलिमिटरका छड प्रयोग बढी हुन्छ । अन्य पूर्वाधार निर्माणमा १०, १२, १६ मिमीका छडको प्रयोग बढी हुन्छ । तर, व्यक्तिको रोजाइ र चाहनाले पनि छड प्रयोगमा प्रभाव पार्ने व्यवसायीको भनाइ छ ।
आयातमा निर्भर कच्चापदार्थ
नेपालमा फलामे छड उत्पादनका लागि आवश्यक कच्चापदार्थ ‘फलामे बिलेट’ भारतबाट आयात हुन्छ । हाल भारतको स्टील अथोरिटी अफ इन्डिया (एसएआईएल) र टाटा स्टील लगायत अन्य कम्पनीबाट समेत फलामे बिलेट आयात हुने व्यवसायीहरू बताउँछन् । छड उत्पादनका लागि मुख्य कच्चापदार्थ ‘एमएस बिलेट’ हो । यो बिलेट दुई किसिमबाट निर्माण हुन्छ । सीधै खानीबाट फलामको धाउ निकालेर बनाइने बिलेटलाई ‘प्राइम बिलेट’ र पत्रु एवम् कवाडी फलामे अवशेषहरू पेलेर बनाइने बिलेटलाई ‘इनगट बिलेट’ भनिन्छ । विशेष गरी प्राइम बिलेटमा कार्बन, सल्फर र फस्फोरस जस्ता तŒव सन्तुलित मात्रामा मिसाइने हुँदा यसबाट बन्ने फलामे छड उच्च गुणस्तरीय हुन्छ । तर, दोस्रो स्रोतबाट उत्पादन गरिने बिलेटमा उपयुक्त मिश्रण सन्तुलित मात्रामा हुँदैन भने अनावश्यक पदार्थको मिश्रण हुने सम्भावना रहन्छ । त्यसकारण ‘इनगट बिलेट’बाट बन्ने फलामे छड पूर्णरूपमा सुरक्षित एवम् गुणस्तरीय नहुन पनि सक्छ ।
निर्यातको सम्भावना छैन
नेपालबाट फलामे छड निर्यात गर्न सकिने सम्भावना भने अत्यन्तै न्यून रहेको व्यवसायीहरू बताउँछन् । छड बनाउन आवश्यक कच्चा पदार्थ भारतबाट आयात गरिन्छ । कच्चापदार्थ आयात गर्नुपर्ने भएकाले नेपालमा उत्पादित छडको उत्पादन लागत धेरै पर्छ । त्यसैले पनि यसले भारतमा उत्पादन भएको छडसँग प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीको भनाइ छ ।