मालवस्तु परिवहनमा विद्युतीय ट्र्याकिङ प्रणाली अर्थात् इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) मालवस्तु राखिएको कन्टेनर एक स्थानबाट अर्काे स्थानसम्म पारवहन हुँदाको क्रममा विद्युतीय शिलबन्दी गरी ट्र्याकिङ गर्ने प्रणाली हो ।
ईसीटीएसको स्वरूप/मोडल
संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त आर्थिक तथा सामाजिक आयोग (इस्क्याप)ले ईसीटीएसलाई सुरक्षित सीमापार यातायात मोडल (सेक्युर क्रश बोर्डर ट्रान्सपोर्ट मोडल)का रूपमा व्याख्या गरेको छ । इस्क्यापको एक प्रस्तुतीकरणमा यस मोडलका दुई विकल्प अघि सारिएका छन् । पहिलोमा मालवाहक साधनलाई शुरू स्थानबाट सीमापार अर्काे देशको गन्तव्यसम्म एउटै प्रणालीबाट ट्र्याकिङ गर्ने सुविधा हुन्छ भने दोस्रोमा मालवाहक साधनको शुरू स्थानबाट सीमावर्ती क्षेत्रसम्मको ट्र्याकिङ एउटा देशले र सीमापारदेखि गन्तव्यसम्म ट्र्याकिङ अर्काे देशले गर्ने सुविधा हुन्छ । उदाहरणका लागि भारतको कोलकातादेखि वीरगञ्ज भन्सारसम्म आउने कार्गोमा एउटै ईसीटीएसले नेपालको भन्सारसम्म ट्र्याकिङ गर्ने पहिलो विकल्प हो । कोलकातादेखि रक्सौलसम्म भारतले ट्र्याकिङ गर्ने र भारतीय सीमा पार गरेपछि वीरगञ्ज भन्सारसम्म नेपालले ट्र्याकिङ गर्ने दोस्रो विकल्प हो ।
ईसीटीएस प्रक्रिया
सुरक्षित सीमापार यातायात मोडलमा उल्लिखित ट्र्याकिङ प्रक्रियाले देहायका चरण पूरा गर्दछ :
(१) सर्वप्रथम मालवस्तुसँग सम्बन्धित विवरण भन्सार एजेन्ट वा मालधनीले प्रणालीमा प्रविष्टि गर्छ । यी विवरणमा मालवस्तुको नाम, स्पेशिफिकेशन, परिमाण, मूल्य, बीजक नम्बर, भन्सार प्रज्ञापनपत्र नम्बर र यातायातका साधनको विवरण पर्छन् ।
(२) त्यसपछि भन्सार अधिकारी वा अधिकार प्राप्त अधिकारीले ट्र्याकिङ यन्त्र कन्टेनरमा झुन्ड्याएर कन्टेनरको ढोकामा ईसिल लगाउँछ ।
(३) यसपछि मोबाइल डिभाइसबाट भन्सार अधिकारीले जानकारी केन्द्रीय सर्भरमा पठाउँछ ।
(४) केन्द्रीय सर्भरले पहिले नै प्रणालीको डाटाबेसमा रहेको विवरणसँग प्राप्त विवरण भिडाउँछ ।
(५) मालवस्तुको सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेपछि सो साधनको अवस्थितिको जानकारी केन्द्रीय सर्भरमा स्वतः जानेछ । तोकिएको मार्ग भन्दा मालवस्तु बाकेको साधन विचलित भएमा प्रणालीले सोको जानकारी तत्कालै उपलब्ध गराउनेछ ।
(६) सीमावर्ती भन्सारमा मालवस्तु बोकेको साधन पुगेपछि अधिकार प्राप्त भन्सार अधिकारीले सो साधनको पारवहनको विवरण (ट्रिप रिपोर्ट) प्रणालीबाट निकाली सो बाहनको ईसिल चेकजाँच गर्छ । सबै ठीक दुरुस्त पाइएमा भन्सार अधिकारीले मोबाइल डिभाइसबाट सो पास गरेको जानकारी केन्द्रीय सर्भरमा पठाउँछ र मालवस्तु बोकेको साधनले सीमा पार गर्छ ।
(७) त्यसपछि गन्तव्यको भन्सार अधिकारीले सो साधनको पारवहन मार्गको विवरण (ट्रीप रिपोर्ट) प्रणालीबाट हेर्छ र ईसिल एवं ट्र्याकिङ यन्त्र हेरी जाँची ठीक दुरुस्त भएमा मोबाइल डिभाइसबाट जानकारी केन्द्रीय सर्भरमा पठाउँछ ।
अन्त्यमा गन्तव्यको भन्सार अधिकारीले पारवहन मार्गको विवरण (ट्रीप रिपोर्ट), सिल र ट्र्याकिङ यन्त्रको स्थिति हेरी जाँची ठीक भएमा केन्द्रीय सर्भरमा मोबाइल डाटाबाट जानकारी पठाउँछ । त्यसपछि सिल एवं ट्र्याकिङ यन्त्र खोल्ने काम अर्थात् डिएक्टिभ गरिन्छ ।
प्रयोग हुने यन्त्रहरू
यसमा मूलतः देहायका यन्त्र प्रयोगमा ल्याइन्छ :
(१) ट्र्याकिङ यन्त्रः यस यन्त्रले स्याटेलाइटबाट संकेत ग्रहण गर्ने, निश्चित अवधिमा साधनको अवस्थिति अभिलेखन गर्ने, ईसिलबाट रेडियो संकेत प्राप्त गर्ने, अनुगमन कक्षमा जानकारी पठाउने कार्य गर्दछ ।
(२) ईसिल : ईसिलले कन्टेनर सिलबन्दी गर्ने र सिललाई क्षति पुगेको अवस्थामा ट्र्याकिङ यन्त्रमा जानकारी पठाउने गर्दछ ।
(३) अनुगमन कक्ष : यस कक्षले कन्टेनर ट्र्याकिङको अनुगमन गर्दछ । यस्तो कक्ष केन्द्रमा वा आवश्यकता अनुसार अन्यत्र पनि स्थापना गर्न सकिनेछ ।
(४) मोबाइल डिभाइस : मोबाइल डिभाइसको प्रयोग अधिकार प्राप्त अधिकारीले शुरूमा सिल लगाँउदा, सीमाक्षेत्रमा सिल आदि चेकजाँच गर्दा वा गन्तव्यमा सिल खोल्दा प्रयोग गर्छ ।
विभिन्न देशको अनुभव
थाइल्यान्डले आफ्नो देशको विभिन्न विशेष आर्थिक क्षेत्रको भन्सारको बन्डेड वेयरहाउसबीच मालवस्तु ओसार–पसारमा ।
चीनले हङकङ बन्दरगाहबाट चीनको सुक्खा बन्दरगाहसम्म सामान ओसार–पसारमा ईसीटीएसको प्रयोग गरेर भन्सार जाँचपास सहज बनाएको छ ।
लाओसले थाइल्यान्डको बन्दगाहबाट पारवहन हुने मालवस्तुमा ।
अरबको खाडीका देशहरू, अफ्रिका र यूरोपबीचमा जोर्डनले यसको प्रयोग गरिरहेको छ ।
दक्षिण अफ्रिकी भूपरिवेष्ट्रित राष्ट्रहरू राउन्डा र युगान्डाले क्षेत्रीय ईसीटीएसको प्रयोग गरेर केन्याको बन्दरगाहबाट सहज पारवहनको सुविधा उपभोग गरिरहेका छन् । ईसीटीएसबाट केन्याको मुम्बासा बन्दरगाहबाट भूपरिवेष्टित मुलुकहरू युगान्डा र राउन्डाको राजधानी किगालीसम्मको पारवहन सहज भएको छ ।
भारतले देशभित्रका सुक्खा बन्दरगाहबीच मालवस्तुको ओसार पसार र सुक्खा बन्दरगाहबाट निकासीका मालवस्तु बोकेको कन्टेनर गन्तव्यसम्म सुरक्षित पुर्याउन ईसीटीएसको परीक्षण गरिरहेको छ ।
ईसीटीएसका फाइदा
व्यवसायीले मालवस्तु परिवहन हुँदाको गतिविधि अनलाइन अवलोकन गर्न सक्ने सुविधाले मालवस्तुको सुरक्षाको प्रत्याभूति हुने ।
पारवहन मार्गको अनुगमन गर्न सकिने भएकाले पारवहन समयमा कमी आउने ।
पारवहन खर्चमा कमी आउने ।
पारवहन मार्गमा कुनै प्रकारले कार्गाे चोरी, विचलन अथवा सुरक्षा जोखिम देखिएमा तत्कालै हस्तक्षेप गर्न सकिने ।
मालवस्तु पारवहन गर्न चाहिने कागजातको संख्या र सरकारी निकायको हस्तक्षेप घट्ने ।
बन्दरगाह, सीमाक्षेत्र र भन्सारमा भीडभाड कम हुने
देशभित्रकै विशेष आर्थिक क्षेत्रबीच मालवस्तु ओसार–पसार गर्न, निकासी सहज गर्न, भन्सार बन्डको सुविधा उपलब्ध दिन समेत सघाउन सक्ने ।
पारवहन सन्धि सम्झौतामा थप सहज बनाउन सघाउ पुग्ने ।
नेपालमा ईसीटीएस
नेपालको ईसीटीएससँगको सम्बद्धता सासेक सदस्य राष्ट्रहरूले तर्जुमा गरेको सासेक व्यापार सहजीकरण रणनीतिक योजना र कार्यान्वयन योजनाको एक महत्त्वपूर्ण अंगका रूपमा पारवहन सुविधा बढाउने कार्यक्रमसँग छ । सासेक व्यापार तथा यातायात कार्यदलको २०७३ माघ २४ गते बैठकको सिलसिलामा सासेक सचिवालयका पदाधिकारी र नेपालका प्रतिनिधिबीच ईसीटीएसको विषयमा एक राष्ट्रिय अन्तरक्रिया कार्यक्रम गर्ने सहमति भएको थियो । सो कार्यक्रम सोही वर्षको फागुनमा आयोजना गरियो । यसैबीच नेपाल र भारतका पदाधिकारीबीच २०७४ जेठमा द्वीपक्षीय वार्ताबाट ईसीटीएसको परीक्षण कार्यान्वयनका लागि समझादारीपत्रमा हस्ताक्षर गरियो । उक्त समझदारी अनुरूप मस्यौदा गरेको ईसीटीएस कार्यान्वयनको सरलीकृत प्रक्रिया मन्त्रिपरिषद्ले २०७४ पुसमा स्वीकृत गरेको थियो । २०७५ वैशाखपछिको स्वेच्छिक ईसीटीसीको परीक्षण सफल कार्यान्वयन गर्न नेपाल र भारतका पदाधिकारी सम्मिलित एक प्रोजेक्ट मोनिटरिङ कमिटी गठन गरिएको थियो, जसमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजू र भारतका सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेस एन्ड एक्साइजका टेमसुनारो जमिर रहेका छन् । यस क्रममा २०७५ फागुन ३ गतेदेखि यसलाई कार्यान्वयनमा ल्याइने भएको छ ।
सासेकको सचिवालयको रूपमा कार्यरत एशियाली विकास बैंकले ईसीटीएसको परीक्षण कार्यान्वयन गर्ने प्रयोजनका लागि ईसीटीएसको डिभाइस र व्यवस्थापकीय प्रबन्ध गर्न अन्तरराष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको थियो । सोही अनुरूप खुला बोलपत्रको माध्यमबाट ट्रान्स सेकुलर फर्म छनोट भएको थियो । सो फर्मले सरोकारवाला समक्ष काठमाडौंमा ईसीटीएस सफ्वेयरको प्रस्तुतीकरण २०७४ माघमा गरेको थियो । त्यसपछि २०७५ वैशाखदेखि ईसीटीएसको कोलकाताबाट रक्सौल, जोगबनी र सुनौलीसम्मको परीक्षण शुरू गरिएको थियो ।
सम्भावना
ईसीटीएसको सरलीकृत कार्यविधिका आधारमा कोलकाताबाट रक्सोल, जोगबानी र सुनौलीसम्म ईसीटीएस कार्यान्वयन हुँदै छ । यसको प्रयोग गर्दा व्यवसायीले समय र खर्च बचत गर्ने सम्भावना छ । मालवस्तुको सुरक्षा र प्रक्रिया सहजीकरण पनि हुने देखिएको छ । यसको कार्यान्वयनबाट आगामी दिनमा चारओटा सम्भावनाको ढोका खुल्ने देखिएको छ ।
(१) ट्रान्सिपमेन्टको सुविधा लिन सकिने : भारतले तेस्रो मुलुकबाट पैठारी गरेको मालवस्तु जवाहरलाल नेहरू बन्दरगाह, मुम्बईमा ट्रान्सिपमेन्ट गरी नयाँ दिल्लीको तुग्लकाबाद सुक्खा बन्दरगाहमा जाँचपास गर्ने गरेको छ । यसले गर्दा व्यवसायी मालवस्तु पैठारी गर्न वा निकासी गर्न जवाहरलाल नेहरू बन्दरगाह, मुम्बई जानुपर्ने बाध्यता छैन । नेपालका व्यवसायीले पनि ईसीटीएसको उपयोग गरी कोलकाता वा भिशाखापत्तनम् बन्दरगाहमा ट्रान्सिपमेन्ट गरी मालवस्तु नेपालमै लिन सक्ने सम्भावना देखिएको छ ।
(२) पारवहन सन्धिमा परिमार्जनको सम्भावना : नेपालले ट्रान्सिपमेन्ट प्रक्रिया सहित ईसीटीएसको परीक्षण गरेमा आगामी दिनमा सोही प्रक्रिया अनुकूल पारवहन सन्धिको प्रोटोकलमा संशोधन गरी पारवहनमा लाग्ने समय, खर्च आदि समग्र पक्षमा ठोस कमी ल्याउन सकिने सम्भावना छ ।
(३) चोभारको सुक्खा बन्दरगाहको अधिकतम उपयोग : ईसीटीएसको स्थायी उपयोग गर्न सकिएमा भारतको बन्दरगाह हुँदै काठमाडौंसम्म पैठारी हुने वा काठमाडौंबाट निकासी हुने मालवस्तु काठमाडौंको चोभारमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहमै जाँचपास गर्न सकिने सम्भावना बढेको छ ।
(४) भैरहवा विशेष आर्थिक क्षेत्रको अत्युत्तम उपयोग : ईसीटीएसको स्थायी उपयोग गर्न सकिएमा भारतको बन्दरगाह हुँदै भैरहवा विशेष आर्थिक क्षेत्रसम्म पैठारी हुने वा त्यहाँबाट निकासी हुने मालवस्तु भैरहवा विशेष आर्थिक क्षेत्रमै जाँचपास गर्न सकिने सम्भावना बढेको छ ।
प्रस्तुति : पूर्णभक्त दुवाल