मुख्य खबर
हेर्नैपर्ने
अभियान परिशिष्ट (सप्लिमेन्ट)
तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै नेपालका लागि आउने मालवस्तुको ढुवानीमा शुक्रवार (फागुन ३ गते)देखि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लागू हुँदै छ । यो प्रणाली महङ्खवपूर्ण उपलब्धि भएको सरकारी अधिकारी र व्यवसायीले बताउँदै आएका छन् । ईसीटीएसले तेस्रो मुलुकबाट कोलकाता हुँदै नेपालतर्फ भइरहको ढुवानीको कागजी प्रक्रिया हट्ने उनीहरूको दाबी छ । ईसीटीएस लागू हुनै लाग्दा यसको कार्यान्वयनको तयारी र चुनौतीको सम्बन्धमा आर्थिक अभियानले ‘आयात निर्यातमा ईसीटीएस’ विषयक राउन्ड टेबल आयोजना गरेको थियो । ईसीटीएसबाट नेपाललाई हुने फाइदा, कार्यान्वयनको चुनौती र भावी दिनमा नेपालले गर्नुपर्ने कामबारे सहभागीको धारणा :ईसीटीएसले नेपालको आयात प्रक्रियामा धेरै सहजता थप्नेछरविशंकर सैंजूसहसचिवउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस)ले नेपालको आयात प्रक्रियामा धेरै सहजता थप्ने हाम्रो विश्वास छ । यो पाइलट परियोजना शुरूमा कोलकाताबाट आउने सामान र कार्गोमै लगाउने हो । कोलकाताबाट आउने सामानमा विभिन्न कागजपत्र नमिलेको कारण बीचमै अड्किने गथ्र्यो । कहिले नाम नमिल्ने, कहिले विवरण नमिल्ने लगायत विभिन्न कारणले अप्ठ्यारो थियो । २० ओटा जति त हस्ताक्षर नै चाहिन्थ्यो । तीन–चार महीनासम्म सामान अड्किन्थ्यो । अब ईसीटीएस अन्तर्गत भने नौ–दश दिनको हाराहारीमा सामान आउँछ । सीमामा आउँदा भारतीय भन्सारले अब सबै सामान खोतलेर दुःख दिने समस्या पनि कम हुन्छ ।
हरेक कुरा परिवर्तन गर्न खोज्दा शुरूशुरूमा अप्ठ्यारो, अवरोध आउँछ । ४०/५० वर्षदेखि चलेको चलन परिवर्तन गर्न खोज्दा अप्ठ्यारो त आउँछ नै । अवरोध आउँछ भन्ने कुरा हामीले सोचेकै हौं । तर, भारतको केन्द्रीय सरकार नै यो लागू गर्न इच्छा देखाइरहेको छ । कोलकातामा केही समस्या आउला, धेरै समस्या भए सबै विशाखापत्तनम्मा सार्ने पनि सोच छ । अवरोध र बाधा जतिसक्दो घटाउने प्रयास गर्छौं । शुरूमा कोलकाता र हल्दियाका रेलमा यो प्रणाली लगाउनेछौं र पछि ट्रकमा पनि लागू गर्नेछौं ।
हाल यो समझदारीपत्रको आदान–प्रदानका आधारमा गरिँदै छ । सन्धि–सम्झौतामै यसलाई समावेश गर्न सकिएन भने यो प्रविधि पूर्णतया लागू हुन सक्दैन । हामी सन्धिमै यसलाई समावेश गर्नेछौं । यसले गर्दा विस्तारै बन्दरगाहबीच नै प्रतिस्पर्धा शुरू हुन्छ । हामी विस्तारै ह्यान्डलिङ शुल्कका बारेमा तथा सिपिङ लाइनबीच पनि प्रतिस्पर्धा बढाउने कदम चाल्नेछौं । अहिले भारतले दुईओटा मात्र बन्दरगाह दिएको छ । थप दुईओटाका लागि पहल गरिरहेका छौं । रेलवे अपरेटर पनि दिन माग गरिरहेका छौं । यसका लागि भारतीय पक्षसँग कुरा गरिरहेका छौं । हामीसँग कुरा गर्न रेलवे अपरेटरहरू नै आरहेका छन् ।
ईसीटीएस लागू गर्दा रेगुलेशनको पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ । आयात निर्यातका क्रममा हुने हैरानी, बाधा–कष्ट कम गर्नु यसको उद्देश्य हो । कागजी प्रक्रिया र सुरक्षा निकायले दिने हैरानीको दीर्घकालीन समाधान पत्ता लगाई सोही अनुसारको नीति नियम, निर्देशिका तयार पार्नुपर्ने चुनौती हाम्रा सामु छन् । चोभारमा सुक्खा बन्दरगाह बन्यो भने त वीरगञ्जमा मात्र होइन, यहीँ ईसीटीएस लागू गर्न सकिन्छ । सेवा प्रदायक पनि निजीक्षेत्रलाई नै दिने हो । धेरैलाई त जीपीएस मात्र लगाउने हो कि भन्ने भ्रम छ । त्यो त सस्तै हुन्छ तर हामीले त पूरै प्रविधिको प्रयोग गरेर गाडी, मालसामान समेत ट्र्याक नै गर्ने प्रक्रियामा छौं । यसका लागि लाग्ने शुल्क जीपीएसभन्दा केही बढी हुन्छ नै । त्यो आयात निर्यात गर्ने व्यवसायी तथा कम्पनीले अनिवार्य रूपमा तिर्नैपर्ने हुन्छ । तैपनि अहिलेको भन्दा समग्र लागत कम पर्छ ।
कार्यान्वयनको विषय महत्त्वपूर्ण होतोयम रायामहानिर्देशकभन्सार विभाग
यस प्रणालीको विषयमा भोलि हामी कार्यान्वयनमा कसरी जान्छौं भन्ने विषय महŒवपूर्ण हो । अहिले व्यापारीले ठीक छ भनेका विषयमा पछि गएर समस्या आयो भनेर पनि भन्न सक्छन् । बीमाको विषयमा त हामीले निकै छलफल गर्नुपर्छ । अहिले कतिपय विषयमा हामी आ–आफ्नै ढंगले व्याख्या गरेका छौं । त्यसले नै हामी द्विविधामा छौं । प्रमुख चासो भनेको सामान आइपुग्न कति समय लाग्छ भन्ने हो । कोलकोताबाट सामान छुटेपछि कति घण्टामा नेपाल भन्सारमा सामान आइपुग्नुपर्ने हो, त्यो अहिले निश्चित छैन । विभिन्न गलत काम त्यसबीचमा हुन्छन् । यो प्रणाली लागू भएपछि त्यस्ता गलत काम घट्लान् वा नघट्लान् ? त्यस्तो सुधार नभए पनि हामी घरमै बसेर मेरो गाडी कहाँ पुगेको छ भन्ने थाहा पाउन सक्ने भने हुनेछौं । अहिल दुवै देशको विन्दु एउटै हुने प्रचलन शुरू भएको छ । दुवै देशले त्यही एउटै भन्सार विन्दुमा मालसामानको जाँचपास एकैपटक गर्ने, एउटा देशले आयात र अर्कोले निर्यात भएको मान्ने चलन शुरू भइसक्यो । हामीकँहा त्यो हुन अझ केही वर्ष लाग्छ ।
ईसीटीएस लगाउने बेलामा पनि केही समस्या देखिएको छ । भोलि त्यसको अनुगमन कसले गर्ने, गर्नुपर्छ कि पर्दैन जस्ता थुपै्रै विषय पनि छन् । अहिले सबै आयात–निर्यातकर्ता, फ्रेट फरवार्डर्सले खुशी नै छौं भन्नु भएको छ, पछि हामीलाई नै गाह्रो भयो नभन्नु होला । त्यति भन्दा भन्दै पनि अब राज्यलाई हित हुने काम गरिन्छ भने आफूलाई कतै अहित हुन्छ भने पनि चुप लाग्नुपर्छ । कम्तीमा हामीले दुईओटा विषयमा ध्यान दिनुपर्छ । एउटा, हिजो ढिला भएको विषय आज छिटो हुन्छ । त्यसमा खर्च घटाउन सकिन्छ वा सकिँदैन भन्ने कुरा पनि हो । ईसीटीएस आयात निर्यात दुई ओटैलाई नै हो । हामी कति निर्यात गर्छौं, त्यो पनि हेर्नुपर्छ । त्यो नियमित हुन्छ कि हुँदैन पनि हेर्नुपर्छ । त्यो भयो भने सबैमा लागू हुन्छ नै ।
घरघरमा डेलिभरीको व्यवस्था मिलाउनु पर्छप्रकारशरण कार्कीअध्यक्ष, नेपाल फ्रेटफरवार्डर्स एशोसिएशन
नेफा धेरै वर्षदेखि ईसीटीएस प्रणाली सञ्चालनमा ल्याउन लागिपरेको थियो । नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रत्यक्ष रूपमा काम गरेको भए पनि नेफाले मन्त्रालयलाई धेरै सघाएको छ ।
कोलकाता बन्दरगाहबाट नेपाल भित्रिने सामानमा ईसीटीएलस प्रणाली लागू गर्नु स्वागतयोग्य काम हो । वास्तवमा नेफाले ईसीटीएस प्रणालीको विरोध गर्नुपर्ने हो । किनकि कोलकाताबाट विराटनगरसम्म सामान ल्याउने हाम्रो व्यवसाय गुम्ने अवस्था छ । ईसीटीएस लागू भएपछि नेफा वीरगञ्जमा मात्र सीमित हुन्छ । तर नेफामा संलग्न मानिस सीमित छन् भने नेपालमा ३ करोड मानिस छन् । ती सम्पूर्ण ३ करोड जनतालाई प्रत्यक्ष फाइदा पुग्छ । हामीले नेपालबाट निर्यात भएको सामान यूरोपमा घरमै डेलिभरी दिन्छौं । यस्तै ईसीटीएस लागू भएपछि सामान वीरगञ्जमा आइपुग्छ भनेर मात्र पुग्दैन । क्रमशः यहाँ पनि घरघरमा डेलिभरी दिन सक्नुपर्ने अवस्थामा पुग्नुपर्छ ।
भारतीय सीएचएहरूको अत्याचारबाट मुक्त हुने भइयोकोषाध्यक्ष, नेपाल फ्रेट
यसअघि कोलकाताबाट ईसीटीएस लागू गर्न खोज्दा समस्या आयो, तर विशाखापत्तनम्बाट गर्दा सफल भएको थियो । अब फेरि कोलकाताबाट गरिँदै छ, आशा छ यो सफल हुन्छ । विशाखापत्तनम्बाट गर्दा एउटै सिपिङ लाइन थियो । कोलकातामा धेरै सिपिङ लाइन छन् । कोलकातामा आउने सिपिङ लाइनहरूको कन्ट्र्याक्ट कोलकातासम्म मात्रै छ । यो अब नेपालसम्म हुन्छ कि हुँदैन ? सेन्ट्रल ब्युरो अफ कस्टम्स इन्डाइरेक्ट ट्याक्सेस एन्ड कस्मस (सीबीआईसी)ले जारी गरेको सूचनामा फेब्रुअरी १५ पछि ट्रान्सिपमेन्ट मोडालिटीमा मात्रै सामान आउँछ । त्यसपछि आउने सामान पुरानै प्रक्रिया अनुसार आयो भने समस्या हुन सक्छ । त्यसलाई कसरी मिलाउने ? ईसीटीएसले अन्य लागत नघटे पनि ड्यामरेज र पोर्ट चार्जेजमा नेपालले बेहोरिराखेको खर्च पक्कै घट्छ । यो ठूलो रकमको विषय हो । कोलकातामा भारतीय सीएचएहरूको अत्याचारबाट नेपालीले धेरै दुःख पाएका थिए । त्यो अत्याचारबाट अब भने मुक्त होइन्छ । तर सीएचएले जति चार्ज लिँदै आएका थिए, त्यति नै चार्ज हामीले यो नयाँ सिस्टममा थपेर बेहोर्नुपर्यो भने हामीलाई लागतमा चाहिँ फरक पर्दैन ।
कोन्कोरसँग नेपालका लागि डेडिकेटेड रेक हुनुपर्यो । त्यो गर्दैन भने रेक उपलब्ध गराउने प्राइभेट अपरेटरहरू ल्याउनुपर्छ । कोन्कोर माथि मात्र निर्भर हुनु हुँदैन । अझ राम्रो के हुन्छ भने हामीले आफ्नै रेकहरू किन्नुपर्छ । सामान आएर बरु नेपालकै आईसीडीमै डम्प भए पनि केही फरक पर्दैन । आईसीडीमा १८ हजार कन्टेनर अट्छन् । अहिलेसम्म त्यति कहिल्यै पुगेको छैन । त्यसले पनि पुगेन भने बरु विस्तार गरे हुन्छ । सिपिङ कम्पनीसँग लेनदेन नेपालमै गर्न पाउने हुनुपर्छ । त्यो व्यवस्थाका लागि अहिले नै काम थाल्नुपर्यो । अब ट्रान्सिपमेन्टसँग सम्बन्धित भुक्तानीका लागि राष्ट्र बैंकले पनि एउटा निर्देशिका जारी गर्न आवश्यक छ ।
क्रान्तिकारी परिवर्तन होकमलेशकुमार अग्रवालउपाध्यक्ष, नेपाल
चेम्बर अफ कमर्श
कोलकाता बन्दरगाहमा ईसीटीएस लागू हुनु महŒवपूर्ण उपलब्धि हो । हालसम्म नेपाल ‘इन्डिया लक्ड कन्ट्री’का रूपमा थियो । तर यो प्रणाली लागू भएपछि यो अवस्था हट्नेछ । हालसम्म सार्वभौम देशका लागि नसुहाउने शर्तहरू मान्नुपर्ने बाध्यता थियो । अब भूपरिवेष्ठित देशले पाउने अन्तरराष्ट्रिय मान्यता अनुसारको शर्त हुने भयो । ईसीटीएस प्रणालीको कार्यान्वयनमा केही चुनौती छन् । यो प्रणालीपछि सिपिङ लाइन महत्त्वपूर्ण भूमिकामा आउनेछ । यसअघि नेपाल आउने सामानको गन्तव्य कोलकाता थियो, तर अब विराटनगर वा वीरगञ्ज हुन्छ । तर सिपिङ लाइनले कोट गर्ने भाडामा अब परिवर्तन हुन सक्छ । अब ‘सी एन्ड एफ नेपाल’ भनेर भाडा ‘कोट’ हुन्छ कि हुँदैन, शंकै छ । हामी नेपालीले नै सिपिङ लाइन खोल्नु उपयुक्त हुन्छ कि ? अर्को समस्याका रूपमा क्लियरिङ ह्यान्डलिङ एजेन्टहरू छन् । आफ्नो पेशा खोसिने भएकाले क्लियरिङ एजेन्टहरू ईसीटीएसको विरोधमा छन् । यसअघि उनीहरूले नेपाली आयातकर्ताबाट मोटो रकम आम्दानी गर्दै आएका थिए ।
ईसीटीएस प्रणाली लागू भएपछि हामी आयातको लागत बचतमा लाग्नुपर्छ । अबका दिनमा हामी विस्तृत योजनाका साथ अगाडि बढ्नपर्छ । सही योजनाका साथ अगाडि जान सकियो भने ईसीटीएसपछि नेपाली आयातकर्तालाई ठूलो फाइदा हुन्छ । ईसीटीएस लागू भएपछि आयातकर्ताले कोलकाता बन्दरगाहमा सम्पर्क गर्न नपर्ने भएकाले त्यहाँ क्लियरिङ डकुमेन्ट बुझाउनु पर्दैन । कोलकाता बन्दरगाहसँग सम्पर्क गर्न नपर्ने अवस्था आउनु नेपाली व्यवसायीका लागि ठूलो उपलब्धि हो । तर पनि भोलिका दिन आयातमा विभिन्न समस्या आउन सक्छन् ।
ईसीटीएस सञ्चालनमा ल्याउनु नेपाली व्यवसायको खर्च र समय बचत गर्नु हो । ईसीटीएसपछि नेपाली सामान विराटनगरसम्मै आउँछ । चोभार बन्दरगाह तयार भएपछि सबै सामान वीरगञ्ज वा चोभारसम्म आउँछ । ईसीटीएस प्रणालीले नेपाली व्यवसायीलाई मात्र नभएर ३ करोड नेपालीलाई नै फाइदा पुग्नेमा हामी विश्वस्त छौं । यो क्रान्तिकारी परिवर्तन हो ।
ईसीटीएस लागू भएपछि भूमिका हाम्रो कोटमा आउँछएकनारायण अर्यालमहावाणिज्यदूतनेपाली महावाणिज्य दूतावास, कोलकाता
ईसीटीएस लागू गरेर कोलकाता बन्दरगाह भन्सारमा हुँदै आएको कागजी प्रक्रिया हटाउने काम नेपालको तेस्रो मुलुकसँगको व्यापारमा महŒवपूर्ण उपलब्धि हो । नेपालले कोलकाता बन्दरगाहलाई एउटा ट्रान्जिटको रूपमा मात्र उपयोग गरेकाले यहाँ भन्सारको प्रक्रिया हुनु हुँदैन भन्ने हाम्रो एजेन्डा थियो । अन्ततः भारतीय पक्ष यसमा सहमत भएर यही फागुन ३ देखि कार्यान्वयन हुँदै छ ।
यसपछि कोलकाता बन्दरगाहमा हुँदै आएको भन्सार प्रक्रिया नेपालको सीमावर्ती भन्सार कार्यालयमा हुन्छ । अहिलेका लागि यो रेलमार्गबाट हुने ढुवानीमा लागू गरिए पनि सडकमार्गमा समेत कार्यान्वयनमा ल्याउने योजना छ । कोलकातास्थित पोर्ट ट्रस्ट, भन्सार, सिपिङ कम्पनी लगायत सरोकारका सबै पक्ष ईसीटीएस कार्यान्वयनको तयारीमा छन् । यतिखेर यसलाई कसरी बढीभन्दा बढी सहजीकरण गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । यो प्रणाली कार्यान्वयनमा आइसकेपछि कोलकाता बन्दरगाहमा भन्सार वा अन्य प्रक्रियामा हुने ढिलाइको समाधान र सीएचएको भूमिका न्यूनीकरण मुख्य उपलब्धि हुनेछ । अहिले सामान्य अवस्थामा आयातकर्ताले प्रतिकन्टेनर ढुवानी खर्च ६० देखि ६५ हजार भारतीय रुपैयाँ (भारू) तिरिरहेका छन् । बन्दरगाहमा कन्टेनरको चाप बढेको समयमा यो रकम भारू डेढ लाखसम्म पुगेको पनि पाइएको छ । यो प्रणालीमा गइसकेपछि यसबाट रेलमार्गको ढुवानी खर्च अहिलेको तुलनामा आधामा सीमित हुने अपेक्षा गरिएको छ । यो प्रक्रियाको शुरुआतसँगै अब भूमिका हाम्रो कोर्टमा आउँछ । यसलाई कसरी थप व्यवस्थित र सहज बनाउने भन्नेमा सरोकारका सबै पक्षको रचनात्मक भूमिका हुनु पर्दछ । निजीक्षेत्रले प्रतिस्पर्धी सिपिङ कम्पनी छनोटमा ध्यान दिनु पर्दछ । सिपिङ कम्पनीलाई नियमन र दर्ताजस्ता कामलाई द्रुतगतिमा अघि बढाउनु पर्दछ । नयाँ अभ्यासको सुरुआत भएकाले केही समस्या पनि आउन सक्छन् । सहजीकरणमा सरकार र निजीक्षेत्रबीच सहकार्य जरुरी हुन्छ ।
नेपालमै सिपिङ कम्पनी दर्ता गरिनु पर्दछअशोककुमार टेमानीसभापति, स्थल यातायात तथा पारवहन समितिनेपाल उद्योग वाणिज्य महासंघ
सन् २००४ मा वीरगञ्जमा सुक्खा बन्दरगाह सञ्चालनमा आए पनि यो अहिलेसम्म कन्टेनर डिपोजस्तो मात्रै छ । सिपिङ कम्पनीले अब सीधै यो सुक्खा बन्दरगाहसम्म ढुवानी दिने भएपछि बल्ल यो वास्तविक सुक्खा बन्दरगाहमा रूपान्तरण हुँदै छ । यो सुखद विषय हो । यसबाट आयात सहजीकरणसँगै निर्यात अभिवृद्धि हुनेमा आशावादी हुन सकिन्छ । ढुवानीका अनेक अवरोधका कारण आयात प्रतिस्पर्धी हुन सकेको थिएन । यस्तै अव्यवस्थित ट्रान्जिटका अवरोधले निर्यात अवरुद्ध भइआएको थियो । आयात र निर्यातबीचको खाडल वर्षेनि गहिरिएर गइरहेको छ । अब पारवहन सहजीकरणका कारण आयात र निर्यात दुवै सहज हुनेछ । यो प्रक्रियागत सुधारको पाटो भए पनि त्यसको कार्यान्वयनमा अझै पनि धेरै अन्योल छन् । सञ्चालनको मोडल कस्तो हुने भन्ने स्पष्ट छैन । ईसीटीएस कार्यान्वयनमा आइसकेपछि कोलकातामा हुने कामको चाप वीरगञ्जमा बढ्छ । सिपिङ कम्पनीहरू नेपालमा आउन अझै पनि तयार देखिँदैनन् । नेपालमा त्यस्ता कम्पनीले आफ्ना कार्यालय खोलेका छैनन्, न स्थानीय लजिस्टिक कम्पनीसँग सहकार्य नै गरेका छन् । अधिकांश सिपिङ कम्पनीका कार्यालय भारतको मुम्बईमा छन् । कोलकाताका सम्पर्क कार्यालयका कर्मचारी त्यहाँका सीएचएको प्रभावमा छन् । यसैले उनीहरू नेपालमा कार्यालय विस्तार गर्न त्यति सकारात्मक छैनन् । उनीहरूलाई यहाँ बोलाएर स्थानीय लजिस्टिक कम्पनीसँग सहकार्य गर्न लगाउनु पर्छ । निजीक्षेत्रले यसमा प्रयास नगरेको होइन, तर प्रभावकारी हुन सकेको छैन । मैले यहाँ एउटा लजिस्टिक कम्पनी सञ्चालनमा ल्याएको छु । यहाँका कम्पनीसँग सहकार्य गर्ने सन्दर्भमा सिपिङ कम्पनीहरू सकारात्मक पाइएको छैन । यसकारण सरकारले तत्काल सिपिङ कम्पनीलाई नेपालमा ल्याउने र उनीहरूको व्यवसाय यहाँ दर्ता गराउने पहल थालिहाल्नु पर्दछ । यसो भएमा नियमन र निगरानी सहज हुन्छ । स्वदेशी कम्पनीसँगको सहकार्य अनिवार्य गरियो भने सरकारका लागि नियमन मात्र सहज हुँदैन, दीर्घकालीन उद्देश्यका लागि स्वदेशी व्यवसायीको दक्षता र दायरा समेत बढ्छ ।
भारतीय रेलवे सेवा कोन्करलाई उत्तरदायी बनाउनु पर्छराजन शर्मानिवर्तमान अध्यक्षनेफा
तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै नेपालका लागि आउने सामानको ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लागू हुनु ऐतिहासिक उपलब्धि हो । हामी निजीक्षेत्र र सरकारले धेरै दुःख गरेर प्रणाली लागू हुन सकेको हो । यसले कार्गाे प्रणाली सहज बनाउने हाम्रो अपेक्षा छ । साथै सामान ल्याउँदा बाटोमा हुने विभिन्न जोखिम न्यूनीकरणमा पनि सहयोग पुग्ने देखिन्छ । यद्यपि कोलकातामा पहिले भएको समस्या अब वीरगन्जमा भने आउनु हुँदैन ।
यस्तै कोन्करलाई पनि यस सिस्टममा ल्याएर त्यसलाई उत्तरदायी बनाउन आवश्यक छ । सरकारले रेलवे सर्भिस एग्रिमेन्टमा ईसीटीएसलाई पनि समावेश गर्नुपर्छ । यसका अलावा कोलकतामा आएको सामान यति दिनमा वीरगञ्ज ल्याउने भनेर स्पष्ट व्यवस्था गर्नुपर्छ । तर कोन्करले यो सिस्टम लागू भएपछि जति पनि सामान कोलकातामा आउँछ, ती सबै सामान वीरगन्जमा तुरुन्तै ल्याइदिन्छ भन्नेमा मलाई विश्वास छैन । यसमा ध्यान दिनु आवश्यक छ ।
साथै कार्गाेको बीमासम्बन्धी व्यवस्था पनि स्पष्ट बनाउनु पर्छ । कहाँसम्मको बीमा निर्यातकर्ताले गर्ने र कहाँदेखिको बीमा आयातकर्ताले गर्ने भन्ने विषयमा पनि द्विविधा छ । साथै रक्षावरण हुने जोखिमको पनि उल्लेख गर्नुपर्छ । विगतमा यस सम्बन्धमा स्पष्ट नीति नहुँदा हामीले नोक्सानी बेहोर्दै आएका छौं ।
उक्त सिस्टमबाट सामान ल्याउँदा समयको बचतसँगै केही सस्तो पनि हुने देखिन्छ । तर व्यापारीले सामानको मूल्य भने घटाएनन् भने त्यो अर्थपूर्ण हुँदैन । जनताले बढी मूल्य तिरेर सामान किन्नु प¥यो भने व्यापारीलाई त राम्रो होला । तर देश र जनताको हितमा हुँदैन । साथै वीरगन्जको सुक्खा बन्दरगाह व्यवस्थित बनाउनु पर्नेछ ।
यसैगरी अब सामान सीधै नेपालमा आउने भए पनि सिपिङ कम्पनीलाई पैसा कोलकातामै पठाउनुपर्छ । त्यसैले उनीहरूलाई पैसा पठाउने प्रक्रियाको पनि सरल व्यवस्था गर्नुपर्छ । सिपिङ कम्पनीले कोलकातामै कार्यालय स्थापना गरेका छैनन् । नेपालको सानो व्यवसायको पैसा उठाउन उनीहरू यहाँ आउँदैनन् । त्यसमाथि पैसा संकलन गर्ने विषयमा उनीहरूको छुट्टै संस्थागत संरचना छ । त्यो परिवर्तन गर्न उनीहरू मान्दैनन् । त्यसैले यस विषयमा पनि हामीले विशेष ध्यान दिनुपर्छ ।
नेपालीको झोला झाम्टा नै खोलेर हेर्नुपर्ने अवस्थाको अन्त्यसुन्दर दाहालमहासचिव, नेपाल फ्रेटफरवार्डर्स एशोसिएशन
हामी अहिले आयातमा मात्र सीमित भएका छौं । निर्यातको विषय सोचेकै छैनौं । यसलाई गम्भीर रूपमा विचार गर्न आवश्यक छ । सबै सिपिङ लाइनलाई जिम्मेवार बनाउन खोजेका छौं ।
नेपाल फ्रेट फरवार्डर्स एशोसिएशनसँग मिलेर काम गरेमा नसकिने भन्ने विषय नै छैन । त्यसकारण नेपाल फ्रेट फरवार्डर्स एशोसिएशनको कामलाई संकुचन गर्नु हुँदैन । हामीले अहिले झोलामा सिपिङ कम्पनी बोकेर हिँड्नेलाई बन्द गराउनु पर्छ । नेपालले केही मात्रामा भए पनि राजस्व पाउनुपर्ने हुन्छ । वर्षेनि ८–१० अर्ब रुपैयाँ डिटेन्शन÷डिमोरेज तिर्नु परिरहेको थियो, अब त्यो बच्नुपर्छ । नेपालीको झोला झाम्टा नै खोलेर हेर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यो एक प्रकारको उपलब्धि नै हो । यसको कार्यान्वयन अबको मुख्य विषय हो ।