ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शिवरात्रि : भक्ति र रौनकको पर्व

Mar 4, 2019  
मुख्य खबर अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
रामकुमार लामिछाने जाडो पनि होइन, न त गर्मी नै हो । बादलले घेरिए पनि आकाश, छैन पानीको डर । किनकि यो वर्षायाम होइन । कतै छिटफुट पानी परिहाल्यो भने लाग्दैनौं छहारीको ओत, बरु सके झिज्छौं । किनकि आज शिवरात्रि । हामी त्यसै पनि पानी नपर्दा ‘हर हर महादेव ! पानी देऊ’ भन्दै पुकार्छौं । नेपालका धेरै परिचयमध्ये एउटा हो– ‘पवैपर्वको देश अन्य’ अनि हरेक पर्वको आफ्नै विशिष्टता । त्यसमा पनि शिवरात्रिको माहौल र रौनक नै बैग्लै । एकाबिहानै नुहाएर झिजेको कपालमै मन्दिर दर्शनका लागि लाइन लाग्नेको भीड होस् वा धुनी जगाउन मुडा लडाउँदै गरेका युवा, मन्दिरमा बज्ने शंख–घण्डाको धुन होस् वा नागा बाबाको धुनी सबैले एक किसिमको ऊर्जा प्रवाह गर्छन् । भगवान् शिवका उपासक मात्र होइन, सबै सनातन धर्मानुयायीको प्रिय दिन हो यो । सेना दिवसको रूपमा समेत मनाइने शिवरात्रि आम नेपालीले आत्वगौरव गर्ने अवसर पनि हो । यिनै विविध महत्त्वकै कारण सरकारले यो दिन सार्वजनिक बिदा नै दिने गरेको छ । शिवरात्रिलाई मानव मन पवित्र बनाउने महाव्रत मानिएको छ । फागुन कृष्ण चतुर्दशीमा पर्ने यो पर्व नेपालसहित भारत, बंगलादेश, मलेशिया, थाइल्यान्ड, इङग्ल्यान्ड, अमेरिका लगायत देशका हिन्दूले आ–आफ्नै परम्परा र विधिअनुसार शिवजीको पूजाआराधना गरेर मनाउँछन् । पूर्वीय आर्य सभ्यतामा मात्र होइन, वेबिलोन, मिश्र, रोम, युनान र चीनको सभ्यतामा समेत कुनै न कुनै रूपमा शिवको अस्तित्व पाइएको विभिन्न अध्ययनले देखाएका छन् । विश्वका विभिन्न धर्म, परम्परा, संस्कृतिका अनुयायीले समेत निराकार परमात्माको रूपमा शिवलाई स्वीकारेका छन् । यस अर्थमा शिवरात्रिलाई आम मानव समुदायकै साझा पर्व भन्न सकिन्छ । पछिल्ला वर्षमा शिवरात्रि ‘ग्ल्यामर’को पर्वका रूपमा समेत देखिन थालेको छ । यो अवसरमा भारतबाट आउने जटाधारी नागा बाबा र सन्त–महन्तको पहिरन, हाउभाउ र गतिविधिले पनि यसलाई पुष्टि गर्छ । हुन त भगवान् शिवलाई नै ग्ल्यामरका देवता मान्न सकिन्छ । कम्मरमा बाघको छाला, गलामा मुण्डमाला, कानमा कुण्डल र शिरमा चन्द्रमाको टीका लगाउने, त्रिपुण्ड्र (भष्म) धस्ने, डमरु, त्रिशूल र कमण्डलु भिर्ने, साढेलाई वाहन बनाउने, श्मसानमा रमाउने अनि ताण्डव नृत्य देखाउने शिवजी आफ्ना भक्तका लागि सधैं रहस्यमयी छन् । सामान्य भक्तलाई उनको यो हुलिया बुझ्नै मुश्किल हुन्छ । उनको वस्त्र, आभूषण र भावभंगिमा अन्य देवीदेवतासँग मिल्दैन । शिवजीको जादुमयी आकर्षणमा अहिलेका युवा पुस्तासमेत मस्त बनेको देखिन्छ । त्यसैले उनलाई आफ्नो ‘फेबरेट गड’ मान्नेहरू धेरै छन् । काठमाडौंको पाशुपत क्षेत्रमा अहिले सयौं भारतीय नागा बाबा आएर बसेका छन् । तीमध्ये कतिपयलाई आध्यात्मिक ज्ञान र वैराग्यको अनुभव पनि होला । तर दर्शनार्थी र पर्यटकका लागि भने उनीहरू आकर्षणका केन्द्र हुन् । धुनीको अघिल्तिर ‘जय शम्भो ⁄ भन्दै गाँजा र भाङको सर्को तानिरहेका यी बाबाहरूलाई देख्दा जो कोहीलाई रोमाञ्चक लाग्छ । पौराणिक महत्त्व शिवरात्रिको शुरुआत कसरी भयो भन्ने सन्दर्भमा विभिन्न पुराणमा चर्चा गरिएको पाइन्छ । श्रीमद्भागवतमा एक प्रसंग छ, जहाँ एकपटक देवता र दैत्य मिलेर भगवान्को निर्देशनअनुसार समुद्र मन्थनको योजना बनाए । अमृत निकाल्न यस्तो योजना बनाइएको थियो । तर समुद्र मन्थनको समयमा सबैभन्दा पहिले हलाहल (कालकूट) विष निस्कियो । उक्त विषको तापले जगत् नै पीडित हुन थाल्यो । यो संकट समाधानका लागि देवताहरूले शिवको प्रार्थना गरे । त्यसपछि सांसारिक कल्याणका लागि शिवजीले उक्त विष पिएर घाँटीमै राखे । विषको प्रभावले घाँटी नीलो भएकोले उनको नाम नै नीलकण्ठ रहेको भन्ने पौराणिक प्रसंग पाइन्छ । त्यसैले यही दिनको सम्झनामा शिवरात्रि मनाउन थालिएको बताइन्छ । शैव परम्पराको कथाअनुसार फागुन कृष्ण चतुर्दशीकै रात शिवले जगत् संरक्षण र विनाशको नृत्य सृजना गरेका थिए । साथै यो दिनलाई अग्निलिंग (जुन महादेवको विशालकाय स्वरूप हो)द्वारा सृष्टिको शुरुआत भएको पनि मानिएको छ । र, यही दिन पहिले शिवलिंग प्रकट भएको कथा पनि पाइन्छ । कतिपय अनुयायी शिव र पार्वतीको विवाह पनि यसै दिन भएको मत राख्छन् । शिवरात्रि व्रतको महिमा पुरातन ग्रन्थमा एकै प्रकारले व्यक्त छ । यी सबैले शिवजीलाई प्रसन्न राख्न व्रत गरिने बताएका छन् । कलियुगमा मानिस अल्पआयुका र रोगव्याधिले ग्रस्त हुने भएकाले त्यसबाट मुक्ति पाउन शिवपूजन र व्रत गर्नुपर्ने चर्चा शास्त्रहरूले गरेका छन् । मनुस्मृतिका अनुसार सृष्टिको आरम्भ गर्न एउटा अण्ड उत्पन्न भयो, जुन तेजस्वी र प्रकाशमय थियो । शिव पुराणमा पनि यस्तै वर्णन भेटिन्छ । स्कन्द, मत्स्य, लिंग, ब्रह्माण्ड, वामनलगायत पुराणका साथै महाभारतमा समेत शिवजीको महिमागान गरिएको छ, जहाँ समस्त ज्ञान शिव र ब्रह्माबाट उत्पत्ति भएको चर्चा गरिएको छ । वेदका सयौं मन्त्रद्वारा पनि शिवको स्तुति र प्रार्थना गरिएको छ । हिन्दू नारीका प्रिय देवता शिव हिन्दू नारीको प्रिय देवता हुन् । हरेक सोमवार र साउन महीनामा झैं शिवरात्रिको दिन पनि उनीहरू शिवजीको विशेष उपासना गर्छन् । नारीले गरेको पूजा, आराधना र प्रार्थनाले उनी छिट्टै खुशी हुन्छन् भनिन्छ । त्यसैले महिलाहरू समर्पण भावका साथ उपवास बस्छन् । रातभर जाग्राम बसेर शिवपूजन र भजनकीर्तन गर्छन्, शिवलिंगमा जल र बेलपत्र चढाउँछन् । त्यसपछि मात्र उपवास छोड्छन् । यो दिन भक्तिपूर्वक गरिएको इच्छा, कामना शिवजीले सुन्ने र पूरा गरिदिने विश्वास गरिन्छ । व्रत, उपासना र अभिषेकशिवरात्रिमा उपवास (व्रत)को विशेष महत्त्व छ । ईशान संहितामा भनिएको छ :– शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम् । आचाण्डालमनुष्याणां भुक्तिमुक्तिप्रदायकम् ।। अर्थात् यो व्रतको पालना गरेमा सबै पापको हुन्छ । सम्पूर्ण मानिसलाई सांसारिक भोग र अन्त्यमा मुक्तिसमेत प्राप्त हुन्छ । शास्त्रहरूका अनुसार शिवरात्रिमा उनी मानिसको सबैभन्दा नजीक हुन्छन् । त्यसैले यो रातमा गरिएको व्रत सफल हुने विश्वास गरिन्छ । विधिविधानसँग गरिएको व्रतले यस लोकमा मनोकामना पूरा हुने र मोक्ष मिल्ने विभिन्न ग्रन्थले बताएका छन् । यो दिन श्रद्धालुहरू बिहानै उठेर स्थानादि कर्म गर्छन् । त्यसपछि दर्शनका लागि शिवमन्दिर जान्छन् । विशेष भक्तहरू शिवलिंगमा जलको अभिषेक गर्छन् । शिवजीको प्रतीक स्वरूप हो शिवलिंग । यसका अनेक नाम छन्, जस्तै– पशुपतिनाथ, त्रिभुवनेश्वर, मुक्तेश्वर, सर्वेश्वर, गोपेश्वर, विश्वनाथ, त्र्यम्बकेश्वर, त्रिमूर्ति (अर्थात् ब्रह्मा, विष्णु, शंकरका रचयिता) । शिवरात्रिमा रुद्राभिषेकको अत्यन्त महत्त्व छ । ‘ॐ नमः शिवाय’ मन्त्र जप्दै दूध, दही, सख्खर, मह, घ्यू मिसाइएको जलद्वारा अभिषेक गर्नाले शिवजी प्रसन्न हुने शास्त्रमा उल्लेख छ । शिवजीलाई जल, बेलपत्र, भस्म, रुद्राक्ष, धतुरो, कपूर, चन्दन प्रिय हुन्छ । शिवजीलाई खुशी पार्न धेरै सजिलो छ । शिवलिंगमा जल र बेलपत्र चढाए मात्र पनि उनी तुरुन्त खुशी हुन्छन् । श्रद्धालुको थोरै भक्ति, प्रार्थना र पूजाले पनि खुशी हुने भएकाले शिवजीलाई आशुतोष पनि भनिएको छ । शिवलाई समस्त मानव, दैत्य र देवताको पनि देवता मानिएको छ । त्यसैले उनलाई परमेश्वर, महादेव जस्ता नामले पुकारिन्छ । शास्त्रमा शिवजीका १ हजार ८ नाम बढी प्रसिद्ध छन् । त्यसबाहेक पनि भक्तहरू उनलाई आ–आफ्नै तरीकाले सम्बोधन गर्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)