काठमाडौं । २०३३ सालसम्म नेपालमा सुर्ती, चुरोटजस्तै गाँजाको उपभोग गरिन्थ्यो । गाँजा सामान्य मानिसदेखि साधु, सन्त, जोगी र गँजडिया समेतलाई उपभोग गर्न कुनै प्रतिबन्ध थिएन । सो समयमा पश्चिमी हिप्पीहरू गाँजा सेवन गर्नकै लागि नेपाल आउँथे ।
कानूनको प्रचार नपुगेको ठाउँमा र परम्पराको रूपमा मनाइँदै आएको गाउँघर र शिवको मन्दिरमा त शिवरात्रि र अन्य खासखास चाडपर्वको अवसर पारेर गाँजालाई घोट्टा (दूधको परिकार), लड्डु, खीर र अन्य खाद्य पदार्थमा मिसाएर र धुवाँ बनाएर खाने÷पिउने चलन अद्यापि छ ।
वास्तवमा प्राचीन कालदेखि नै नेपाल र भारतमा गाँजाको प्रयोग घरेलु औषधि, मनोरञ्जनात्मक उपभोग र धार्मिक उपासनाको साधनका रूपमा हुँदै आएको छ ।
पर्यटन, औषधि, टेक्सटायल, निर्माण, खाद्य र अन्य उत्पादनसम्बन्धी उद्योगमा औद्योगिक स्तरको प्रयोग र गाँजाजन्य उत्पादनको निर्यातबाट आर्थिक उन्नयन गर्न सकिने प्रशस्त आधार छन् । तर नेपालले विभिन्न अन्तरराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेका कारण यी सम्भावनाबाट विमुख हुनुपरेको छ ।
नेपाल राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ले गाँजालाई लागूऔषधकै दर्जामा राखेको छ । अन्तरराष्ट्रिय दबाबकै कारण २०३३ सालमा लागूऔषध नियन्त्रण ऐन ल्याएर नेपाल सरकारले गाँजामाथि प्रतिबन्ध लगाएकाले पनि यसबाट नेपालले फाइदा लिन पाएन ।
गाँजाको फाइदा
सन् १९६० मा अमेरिकामा गरिएको अध्ययनअनुसार १ एकड (करीब ४ बिगाहा)मा लगाइएको गाँजाको बोटबाट २० वर्षसम्ममा उक्त क्षेत्रमा रोपिएको रूखबाट प्राप्त हुनेभन्दा ४ देखि १० गुणासम्म बढी कागज उत्पादन गर्न सकिन्छ । त्यसैगरी, सन् २०१५ मा गरिएको एक अध्ययनबमोजिम गाँजाबाट प्रतिहेक्टर (करीब डेढ बिगाह) २ सय ७ ग्यालनबराबर जैविक इन्धन उत्पादन हुने देखिएको छ । यो भटमासको भन्दा ४ गुणा बढी र सूर्यमुखीको भन्दा २ दशमलव ५ गुणा बढी हो ।
औषधीय गुणले भरिएको गाँजा तनाव, चिन्ता र नैराश्यदेखि पागलपनसम्मको मानसिक रोगको घरेलु तथा अचुक आयुर्वेदिक औषधि हो । मूच्र्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपच, क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने विभिन्न वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन् ।
गाँजाको बोटबाट विभिन्न औषधि, तेल, उच्चस्तरीय धागो, कागज, उच्च गुणस्तरको कार्डबोर्ड र प्लाइबोर्ड निर्माण गर्न सकिन्छ । यसैगरी, जैविक इन्धन, जनावरका लागि उच्च प्रोटिनयुक्त दानालगायत ५० भन्दा बढी बहुउपयोगी वस्तुको औद्योगिक तथा व्यावसायिक उत्पादन गाँजाबाट हुन सक्छ ।
गाँजाको औषधीय गुण
बेलायतका औषधि उत्पादक संस्थाहरू र वैज्ञानिकले गरेको अनुसन्धानका आधारमा पोटगाइड डटकमले प्रकाशित गरेको अध्ययनमा अनुसार गाँजाको हरिया पातमा केही टीएचसी तत्त्व हुन्छन् । यी तŒवले विशेषगरी व्यवहार, चेतना, स्वभाव, मनस्थिति र अनुभव गर्न सक्ने क्षमता सक्रिय बनाइदिन्छन् । गाँजालाई प्राकृतिक चिकित्सा विज्ञानले दुखाइ कम गर्ने र पाचन प्रणाली सबल गर्ने जडीबुटी औषधिको रूपमा प्रयोग गरिन्छ । तर यसको दुरुपयोग बढेपछि यसको विकल्पको रूपमा अन्य एलोप्याथिक औषधि प्रयोग गर्ने चलन बढेको विज्ञको तर्क छ । ‘टीएचसी ए’लाई टेट्राहाइड्रोक्यान्नविनोल एसिड अर्थात् बायोसिन्थेटिक प्रेकर्सर पनि भनिन्छ । यो तŒव टेट्राहाइड्रोक्यान्नविनोल तत्त्वमा अन्य रासायनिक तत्त्व मिसाएर बनाइएको हुन्छ । यसले मस्तिष्कलाई लठ्याएर शरीरमा सकारात्मक प्रभाव पारी शरीरका अन्य अंगको उपचार गरिन्छ ।
गाँजामा पाइने अर्को महत्त्वपूर्ण तत्त्व भनेको टेट्राहाइड्रोक्यान्नविभेरियन हो । यसलाई मेडिकल भाषामा टीएचसी भी भनिन्छ । यो तत्त्वले भोक जगाउने तन्तुहरूलाई क्रियाशील गर्छ । यसलाई रगतमा पाइने सुगरलाई कम गर्ने र शरीरको हड्डी बढ्न सहयोग पु¥याउने गर्छ । त्यस्तै अर्को तत्त्व भनेको क्यान्नविडियोल क्यान्नविन्योवाइड हो । यसलाई सीबीडी भनिन्छ ।
गाँजाबाट औषधि
मस्तिष्क रोग विशेषज्ञ डा. मोहन शर्माका अनुसार विशेषगरी क्यान्सरका बिरामीलाई गाँजामा हुने क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि दिने गरिन्छ । क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामीलाई यस्तो औषधि प्रयोग गर्दा उनीहरूको शरीर लठ्ठ पर्ने हुँदा क्यान्सरका कारण हुने दुखाइ कम गर्न यस्तो औषधि प्रयोग गर्ने गरिन्छ । क्यानाबिनोइड तŒवबाट बनेको औषधि प्रयोग गर्नाले खुशी अनुभव गराउने, आनन्द अनुभूति गराउने, तनाव घटाउने, निन्द्रा लगाउने, भोक लगाउने हुँदा यस्तो औषधि बिरामीलाई दिने गरिन्छ । गाउँघरतिर अझै पनि चौपाया पशुलाई अजीर्ण भएमा वा कोही मानिसलाई खानाका कारण पेटमा समस्या देखिएमा पनि गाँजा खुवाउने गरिन्छ ।
यस्तै गाँजामा पाइने तत्त्वहरूबाट विकसित मुलुकमा अतिमहँगा औषधि बनिरहेका छन् । औषधिको रूपमा प्रयोग हुने गाँजामा पाइने तत्त्वहरू सीबीडी ए, सीबीसी, सीबीसी ए, सीबीजी र सीबीजी ए हुन् । यी तत्त्वलाई उचित प्रशोधन गरी औषधि बनाउन सकिन्छ । यसको दुरुपयोगभन्दा सदुपयोग गरी प्रशोधन गरी उच्चस्तरीय र गुणस्तरीय औषधि उत्पादन गर्न सकिन्छ ।
गाँजाका बेफाइदा
त्रिभुवन शिक्षण अस्पताल, मानसिक रोग विभागका अनुसार गाँजा, भाङमा ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइड हुने गर्छन् । गाँजा सेवन गर्दा यस्ता रसायन हाम्रो मस्तिष्कमा पुग्ने हुँदा यसले हाम्रो शरीरलाई नै असर पुर्याउने गर्छ । गाँजा सेवन गर्ने कोही हाँसेको हाँस्यै गर्छन् भने कोही रोएको रोयै । चिकित्सकीय भाषामा यसलाई युफोरिया भन्ने गरिन्छ । नियमित गाँजा खानेको शरीर लठ्ठ हुने गर्छ भने कहिलेकाहीँ मात्र गाँजा खानेलाई विना कारण रमाइलो लाग्ने हुँदा मानिस हाँसिरहने गर्छन् । धेरै गाँजा सेवन गर्नेहरूलाई अत्यधिक वान्ता हुने, टाउको दुख्ने भएकाले मानिसलाई नराम्रो असरसमेत गर्ने चिकित्सक बताउँछन् । गाँजाको प्रभाव गाँजा सेवन गरेको ३ मिनेटदेखि शुरू हुने गर्छ भने गाँजा सेवन गरेको ३० मिनेटभित्र यसको प्रभाव चरम विन्दुमा पुग्ने गर्छ । यही बेलामा मानिस हाँसिरहने, शरीर लठ्ठ हुने गर्छ । तर गाँजाको प्रभाव सबै मानिसमा एकै समयमा हुन्छ भन्ने हुँदैन, मानिसको शारीरिक अवस्थाका कारण यसको प्रभाव फरकफरक समयमा हुने गर्छ । यसबाहेक गाँजा सेवनले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने हुँदा हृदयाघातसम्म गराउन सक्छ ।
गाँजा र पर्यटन
गोडमेल र स्याहार नगरीकनै खाली जग्गामा सहज रूपमा गाँजा उब्जिने गर्छ । सन् १९७० को दशकमा नेपालको गाँजा चरेसको प्रसिद्धि यूरोपसम्म पुगेका कारण चरेस खाने र घुम्ने बहानामा यूरोपेली हिप्पीहरू नेपाल आउने गर्थे । तर नेपालको चरेस यूरोप लैजाने कार्यले यूरोपेली मुलुक आतंकित भए । नेपालबाट चरेसको निकासी बाक्लिनु, चरेस सेवनमा सहज हुनुका कारण नेपालको पर्यटनसमेत फस्टाउन गई तत्कालीन समयमा नेपाली मुद्रा बलियो भई १ डलरबराबर १६ रुपैयाँ नेपाली मात्र थियो ।
गाँजा उत्पादन र निकासी
गाँजाको बिउबाट तेल र डाँठबाट भांग्रा नामको लुगा बुन्ने गरिन्थ्यो । तर गाँजामाथिको प्रतिबन्धले नेपाली मौलिक उत्पादन बन्द भयो । गाँजाको रेशाबाट बनेको कपडालाई ‘हेम्प’ नामकरण गरी भारत एवं चीनले अहिले अन्तराष्ट्रिय बजार ओगटेका छन् ।
२००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० बिगाह जमीनमा गाँजा रोप्न आह्वान गरेको थियो । खाद्य तथा कृषि मन्त्रालयले नेपालको गाँजा खेतीमा नियन्त्रण गर्ने निश्चय गरेको छ, त्यसअनुसार नेपालका प्रत्येक जिल्लाका बडाहाकिमलाई १० बिगाहाभन्दा बढी जग्गामा गाँजाको खेती गर्न नदिइयोस् भनेर विज्ञप्ति नै निकालेको छ ।
२०३३ सालमा नेपाल सरकारले गाँजाको निकासीमा पूर्ण प्रतिबन्ध लगायो । यसअघि २०२६ सालको राजपत्रमा प्रकाशित सूचनामा भारतमा अवैध रूपमा निकासी हुने गाँजाबाट राजस्व नउठेको भन्दै सरकारबाट लाइसेन्स लिएर गाँजा निकासी गर्न खाद्य तथा भूमि व्यवस्थापन मन्त्रालयले आह्वान गरेको थियो ।
सरकारका तर्फबाट पूर्ण प्रतिबन्ध भए पनि अहिले गाँजाको चोरी निकासी भने रोकिएको छैन । काठमाडौं वरिपरिका विभिन्न जिल्लामा अवैध रूपमा गाँजा लगाइन्छ । र भारततर्फ निकासी गरिन्छ । गाँजाको अवैध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रम पनि रोकिएको छैन ।