नेपालमा महिला व्यावसायिक क्षेत्रमा महिलाको उपस्थिति बाक्लिँदै गएको छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता बढेसँगै अहिले व्यावसायिक क्षेत्रमा पनि उनीहरू अग्रसर बन्दै गएका हुन् ।
सामाजिक तथा आर्थिक क्षेत्रमा भएको रूपान्तरणले महिलालाई अघि बढ्न थप प्रेरित गरेको छ । ‘महिलाले के नै गर्न सक्छन् र ?’ भन्ने मानसिकता अहिले परिवर्तन हुँदै गएको छ । यसँगै महिलाले पनि केही गर्नुपर्छ भन्ने सोचको विकास भएको छ । फलस्वरूप महिलाहरू व्यावसायिक नेतृत्व लिन सक्षम बन्दै गएका छन् ।
अहिलेको युवा जमात नयाँ प्रविधि र नवीनतम सोचमा बढी चासो राख्ने गरेको छ । यसमा पनि इन्नोभेशन र नयाँ प्रविधिको प्रवेश धेरै छ, जसमा पुरुषसँगै महिला पनि उत्तिकै इच्छुक भएको देखिन्छ । राष्ट्र र परिवारको सहायताले मात्रै महिलालाई टेवा मिल्ने अधिकांश महिलाको अनुभव छ । यसले आर्थिक तथा राजनीतिक क्षेत्रमा प्रवेश गर्न र नेतृत्व लिन सहज वातावरण तयार पारिदिने बताइन्छ ।
रचनात्मक र नवीनतम सोचको विकासले औद्योगिक, प्राविधिक लगायत नयाँ नयाँ क्षेत्रमा महिला सहभागिता उकासिँदै गएको छ । यसले महिलालाई आत्मनिर्भर बनाउन उल्लेख्य टेवा पुगेको छ । यहाँ केही उद्यममा नवप्रवेशी महिलाको अनुभव प्रस्तुत गरिएको छ :
आयुषी केसी, संस्थापक, खालीसिसी
हाल खालीसिसी नामक संस्थामा पाँच महिला संलग्न छन् । संस्थाले कामको खाजीमा रहेका महिलालाई लक्षित गर्दै ‘वूमन इन्भेस्ट’ योजना शुरू गरेको छ । संस्थाले फोहोरलाई समस्या नभएर अवसरको रूपमा लिन र महिलालाई आर्थिक रूपमा सबल बनाउन यो कार्यक्रम शुरू गरेको हो । नेपालमा अझै पनि उद्यम क्षेत्रमा महिलालाई गम्भीरतापूर्वक लिने गरिएको छैन, जसले गर्दा नेपालको आर्थिक क्षेत्रमा पनि ठूलो समस्या पर्न सक्छ ।
निकिता आचार्य, संस्थापक, अर्बन गर्ल
हाल नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै महिला उद्यमशीलताको विकास भइरहेको छ । पहिलेका पुस्ताले आफ्नो पारिवारिक व्यापार व्यवसाय सम्हाल्दै आएकोे धेरै देखिन्छ । साथै आफ्नै बलबुताले केही व्यापार तथा व्यवसाय थाल्ने महिलाको आगमन पनि बढिहेको छ । नयाँ केही गरौं भनेर आउने महिलाका लागि धेरै अवसर छन् । पारिवारिक तथा राजनीतिक टेवा पाए व्यवसायमा अझ धेरै महिला आउन सक्छन् । यसले देशको आर्थिक विकासमा पनि सघाउँछ ।
स्वेता उपाध्याय, संस्थापक, लावण्या लक्जरी आयुर्वेदा
कुनै कामको थालनी गर्न अठोट र निरन्तर मेहनत चाहिन्छ । नयाँ काम गर्दा विभिन्न समस्या त आइहाल्छन् । तर दृढ भएर लागिपरेमा यस्ता समस्याले छेक्दैनन् । हाल ७ जना महिलाको संलग्नता रहेको लावण्या लक्जरी आयुर्वेदा सन् २०१२ देखि सञ्चालनमा आएको हो । छालासम्बन्धी आयुर्वेदिक सामग्री उत्पादन गर्ने यस कम्पनीले चीन र अमेरिकामा समेत सामान निर्यात गर्छ ।