मिर्गौला रोग लाग्ने कारण के के हुन् ?
मिर्गौला खराब गर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप आदि हुन् । दुखाइ कम गर्ने औषधि जथाभावी र अधिक सेवन गरेमा पनि मिर्गौलामा समस्या आउँछ ।
मिर्गौला रोग लागेपछि देखिने लक्षण के के छन् ?
यो रोग लाग्दा शुरूशुरूमा बारम्बार पिसाब लाग्ने हुन्छ । गोडाको गोलीगाँठा सुन्निने र पछि शरीर सुन्निने हुन सक्छ । पिसाब गर्दा सामान्यभन्दा बढी फिँज आउँछ । यो रोग लाग्दा आँखाका डिल सुन्निने पनि हुन सक्छ । थकाइ लाग्ने र धेरै रोगले गाँजेपछि वाकवाक लाग्ने जस्ता लक्षण पनि देखिन्छन् ।
रोग लागेको कति समयपछि उपचार गरे पूर्ण निको हुन्छ ?
कतिपयमा मिर्गौला रोगको लक्षण नै देखिँदैन । थाहा नपाईकन नै मिर्गौला फेल हुने समस्या हुन नदिन ६–६ महीनामा स्वास्थ्य संस्थामा गई मिर्गौला परीक्षण गर्नुपर्छ ।
एउटा मिर्गौला खराब भए एउटाले मात्र पूर्णरूपमा काम गर्न सक्छ ?
सक्छ । तर, धेरैजसो रोगले दुवै मिर्गौला खराब गर्दछ । पत्थरीले मात्र एउटा मिर्गौला खराब गर्ने हो ।
एउटा बिग्रेमा त्यसले अर्कोलाई असर गर्छ कि गर्दैन ?
दुवै एकैपटक बिग्रने हुनाले एउटाले अर्कोलाई असर गर्ने सम्भावना नै रहँदैन ।
मिर्गौला उपचारका लागि कति खर्च लाग्छ ?
कुनै थोरै खर्चमै निको हुन्छ । मिर्गौला फेल भइसकेपछि भने उपचार एकदमै महँगो हुन्छ । मिर्गौला फेल भएको व्यक्ति दुईओटा तरीकाले मात्र बाँच्न सक्छ । एउटा डायलासिस र अर्को प्रत्यारोपण गरेर । डायलासिस गर्दा खराब भएको मिर्गौला ठीक हुने भने होइन । डायलासिसको तुलनामा प्रत्यारोपण राम्रो माध्यम हो । सरकारले डायलासिस सेवा निःशुल्क गरेको छ । तर औषधि भने किनेर खानुपर्छ ।
मानिसको मृत्यु भएपछि कति समयसम्ममा मिर्गौला झिकी प्रत्यायोजन गर्न सकिन्छ ?
मृत्यु भएपछि मिर्गौला निकाल्ने होइन । ब्रेन डेथ भएको व्यक्तिको मात्र मिर्गौला निकाल्न सकिन्छ । ब्रेन डेथ भनेको ब्रेनले काम गर्न छोडेको अवस्था हो । ब्रेन डेथ हुँदा श्वास भने चलिरहेको हुन्छ । ब्रेन डेथ भनेको बेहोसी होइन । ब्रेन डेथ हुने व्यक्तिका शरीरका अंगले काम गर्न छोडिसकेको हुन्छ । त्यो व्यक्तिको मृत्यु निश्चित भइसकेको हुन्छ । भेन्टिलेटरमा भएको बिरामीको मृटु चले तापनि काम गरेको हुँदैन । भेन्टिलेटरको बिरामीलाई मेशिनले चलाइरहेको हुन्छ । खासमा ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला भेन्टिलेटरमा हुँदाहुँदै र श्वास चल्दाचल्दै निकाल्ने हो । यसका लागि मिर्गौला निकाल्ने समूह नआएसम्म भेन्टिलेटरमै सन्तुलन गरी राखिन्छ ।
कुन उमेर समूहका व्यक्तिको मिर्गौला फेल हुन्छ ?
मिर्गौला सबै उमेर समूहका व्यक्तिको फेल हुने गर्दछ । मिर्गौलाको रोगहरू मात्र फरक हुन् । नेपालमा सबै उमेर समूहलाई यस्तो रोग लाग्ने गरेको छ ।
मिर्गौला रोग कसलाई लाग्ने सम्भावना बढी हुन्छ ?
यसले धनी–गरीब र महिला–पुरुष पनि छुट्याउँदैन । मिर्गौला सबैको फेल हुन सक्छ । यद्यपि यो रोग बालबालिका र वृद्धवृद्धामा बढी हुने गर्दछ । शहरमा बस्नेले जंकफूड र फास्ट फूड खाने अनि शारीरिक व्यायाम कम गर्ने हुँदा रक्तचाप र मधुमेह जस्ता रोग लाग्ने हुन्छ, जसले गर्दा मिर्गौलामा समस्या आउँछ ।
मिर्गौलामा समस्या हुन नदिन के गर्नुपर्छ ?
पिसाबमा समस्या आएपछि स्वास्थ्यकर्मीसँग परामर्श गरेर मात्र औषधि खानुपर्छ । यो रोग लाग्न नदिन सन्तुलित भोजन सेवन गर्नुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । तौल सन्तुलनमा राख्नुपर्छ । चिल्लो, गुलियो र मादकपदार्थको सेवन बन्द गर्नुपर्छ ।
प्रस्तति : भवनाथ प्याकुरेल