ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगारबाट फर्कनेहरूमा मिर्गौलाको समस्या छ

Mar 14, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गलत खानपान, अव्यवस्थित जीवनशैली लगायत कारण पछिल्लो समय मिर्गौला रोगीहरू बढ्दै गएको पाइन्छ । प्रारम्भिक अवस्थामा खासै लक्षण नदेखिने यो रोग लाग्न नदिन सधैं सतर्कता अपनाउनुपर्ने डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, दूधपाटी भक्तपुरका वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. श्रेष्ठसँग आर्थिक अभियानका काशीराम बजगाईंले मिर्गौला प्रत्यारोपणको सेरोफेरोमा रहेर गरेको कुराकानीको सार : मिर्गौला रोगको उपचारमा डायलासिस विधि पनि छ, मिर्गौला प्रत्यारोपण नै किन गर्ने ? कुनै पनि अंग काम नलाग्ने भएपछि त्यसको सट्टामा अंग प्रत्यारोपण गरिन्छ । दुईओटै मिर्गौला फेल भएर काम नलाग्ने भएपछि मिर्गौला प्रत्यारोपण गर्ने हो । डायलासिसले पनि काम चल्छ भन्ने भ्रम छ, तर यो सही विकल्प हुन सक्दैन । डायलासिस आजीवन गर्नुपर्छ । यो हप्तामा दुई–तीनपटक मेशिनद्वारा रगत प्रशोधन गर्ने कृत्रिम तरीका हो । यसले शरीरलाई चाहिने सबै आवश्यक शक्ति दिँदैन । यसको आयु कम हुन्छ र यसमा संक्रमणको सम्भावना पनि बढी हुन्छ । तर मिर्गौला प्रत्यारोपण गरेको मानिस सामान्य अवस्थामा झैं स्वस्थ भएर बाँच्न सक्छ, व्यापार व्यवसाय, रहनसहन, खानपिन गर्न सक्छ । तर डायलासिसमा यो सम्भव हुँदैन । मिर्गौला नपाएसम्म दुवै मिर्गौला फेल भइसकेपछि बाँच्न यो विधि अपनाउनै प¥यो । तर डायलासिसभन्दा प्रत्यारोपण विधि सबै दृष्टिकोणले बढी प्रभावकारी हुन्छ । मिर्गौला प्रत्यारोपण सुलभ छ त ? सरकारले मिर्गौला रोगका लागि वर्षेनि २ अर्ब ११ करोड रुपैयाँ छुट्याउँदै आएको छ । कसैले मिर्गौला प्रत्यारोपण गराउँदै छ भने प्रत्यारोपणभन्दा अघि १ लाख रुपैयाँसम्मको उपचार खर्च लाग्छ र प्रत्यारोपणपछि मासिक १५ हजारसम्मको औषधि खर्च लाग्छ । डायलासिस जस्तै मिर्गौला प्रत्यारोपणको सुविधा पनि निःशुल्क छ । सरकारी र निजी दुवै अस्पतालमा यसको उपचार सेवा निःशुल्क लिन सकिन्छ । मिर्गौला दान कसले गर्न सक्छन् ? स्वस्थ व्यक्ति, आपसी साटासाट र मस्तिष्क मृत्यु मिर्गौला पाउन सकिने तीन आधार हुन् । यदि कसैको मिर्गौला फेल भयो र नजीकको नातेदारले उसलाई मिर्गौला दान गर्न चाहन्छ भने त्यस्ता स्वस्थ व्यक्तिबाट मिर्गौला पाउन सकिन्छ । नातेदार भन्दा बाहिरको स्वस्थ व्यक्तिले मिर्गौला दान गर्न मिल्दैन । नातेदारबाट मिर्गौला प्राप्त भयो तर त्यो समायोजित (म्याच) हुन सकेन भने म्याच हुने अर्को बिरामीलाई प्राप्त भएको मिर्गौला आपसी परिवारबीचको आपसी सहमतिमा साटासाट गरिन्छ । अर्को सबैभन्दा बढी मिर्गौला पाउन सकिने क्षेत्र मस्तिष्क मृत्यु भएका व्यक्तिहरू हुन् । कुनै दुर्घटनामा परेर कसैको मस्तिष्क मृत्यु भयो भने त्यो व्यक्तिको मिर्गौला लगायत अन्य ८ अंग अन्य व्यक्तिका लागि प्रयोगमा ल्याउन सकिन्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला कसरी दानमा परिणत गरिन्छ ? मस्तिष्क मृत्यु भनेको चिकित्सक विज्ञानमा शतप्रतिशत मृत्यु हो । जनचेतनाको कमीले अझै पनि मस्तिष्क मृत्यु भइसकेको व्यक्तिको अंग दान गर्न परिवारले मान्दैनन् । मर्न लागेको एक व्यक्तिले अन्य आठजनालाई बचाउन सक्छ, अर्थात् उसका ८ ओटा अंग अन्य व्यक्तिलाई जीवनदान बन्न सक्छन् । तब ती जलेर गलेर जाने अंग दान किन नगर्ने ? गत वर्षमात्र सडक दुर्घटनाबाट २ हजार १ सय १५ जनाको मृत्यु भएको थियो । कुनै व्यक्तिले ‘डोनर कार्ड’ बनाएको छ र कुनै दुर्घटनामा उसको मृत्यु भयो भने उसका अंग दानका लागि आधिकारिक मानिन्छन् । कसैले यस्तो कार्ड बनाएको छैन भने उसको परिवारको स्वीकृतिमा अंग दान गर्न सकिन्छ । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई समन्वय एकाइ बनाएको छ । जोसुकै स्वस्थ व्यक्तिले यहाँबाट डोनर कार्ड बनाउन सक्छन् । मिर्गौला सबैभन्दा बढी खराब कस्ता व्यक्तिको हुने गरेको छ ? मैले वीर अस्पतालमा ९९ ओटा र यहाँ ५८५ ओटा मिर्गौला प्रत्यारोपण गरेँ, जसमा २५ प्रतिशत वैदेशिक रोजगारबाट फर्किएका आएका व्यक्तिका छन् । विदेशमा कस्तो वातावरणमा काम भइरहेको छ, खानपिन कस्तो छ लगायत अध्ययन गरेर सावधानी अपनाउनुपर्ने अवस्था देखेको छु । प्रत्यारोपण गरिएको मिर्गौला पहिलेको जस्तै हुन्छ ? नियमित औषधि खानुपर्ने हुँदा पहिलेको भन्दा संक्रमण बढी हुने सम्भावना हुन्छ । त्यसैले सतर्कता अपनाउनुपर्छ । नियमित जाँच गरेर डाक्टरको सल्लाहअनुसार औषधि नखाए किड्नी खराब हुन सक्छ । प्रत्यारोपण गरिएको मिर्गौलाले १ वर्षसम्म स्वस्थ व्यक्तिको मिर्गौलाले जति नै काम गर्छ । ५ वर्षपछि ९० प्रतिशत र १० वर्षपछि ८० प्रतिशत काम गर्छ । प्रत्यारोपण गरिएको मिर्गौलाले करीब आफ्नै मिर्गौलाको बराबर काम गर्ने हुँदा स्वस्थ व्यक्तिजसरी जीवनयापन गर्न सकिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)