सन् १९६२ मार्च १५ मा पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका चार अधिकार अमेरिकी कंग्रेसबाट पारित गरी उपभोक्तालाई अधिकार प्रत्यायोजन गरेको दिनको सम्झनामा विश्व उपभोक्ता अधिकार दिवस मनाइने गरिन्छ । विश्व उपभोक्ता दिवस केही वर्षयता नेपालमा पनि औपचारिक रूपमा मनाइँदै आएको छ । वस्तु र सेवा दुवैमा ठगिएका आम उपभोक्ता स्वच्छ प्रतिस्पर्धा र उपभोक्तामैत्री बजारको अभावमा छन् । उनीहरूको आवाज सुनिएको छैन ।
विश्व उपभोक्ता अधिकार दिवस संसारभर मनाइरहँदा संयुक्त राष्ट्रसंघको अनुबन्ध १९८५ ले प्रत्याभूत गरेको पहुँचको अधिकारबाट नेपाली उपभोक्ता वञ्चित छन् । गाँस, वास, कपास लगायत अत्यावश्यक वस्तुमा उनीहरूको सहज पहुँच पुग्न सकेको छैन । पुगेको ठाउँमा पनि सेवा र वस्तु गुणस्तरीय छैनन् ।
नेपालको संविधान २०७२ ले मौलिक अधिकारमा समेटेको अधिकार संरक्षण र प्रवद्र्धन गर्न उपभोक्ता हितका लागि जारी गरिएका दर्जनौं कानूनको अझै पनि प्रभावकारी कार्यान्वयन भएको छैन । समय सापेक्ष कानून र त्यसको कार्यान्वयनमा सरकार चुकिरहेको देखिन्छ । सरकारले वस्तु र सेवा क्षेत्रमा व्याप्त विकृति–विसंगति घटाउँदै उपभोक्ताको जीउज्यान र स्वास्थ्यको संरक्षण गर्नेगरी कार्ययोजना बनाउन सकेको देखिन्न । बजार अनुगमन र नियमनमार्फत अखाद्य, गुणस्तरहीन वस्तुको उत्पादन, बेचबिखन र भण्डारण निरुत्साहित पार्न बलियो संयन्त्रको अभाव छ । उपभोक्ताप्रति इमानदार र जिम्मेवार राज्य संयन्त्र निर्माण गरी अबको दिनमा उपभोक्ताको गुनासो सुन्ने र अनुगमन गर्ने संयन्त्रकारी निकाय हुनुपर्छ । गुनासो व्यवस्थापन संयन्त्रन नहुँदा अहिले विभिन्न नियमनकारी निकायबीच आपसी समन्वय र सहकार्य हुन सकिरहेको छैन । सरकार उपभोक्ताप्रति गैरजिम्मेवार बन्नु उपभोक्तामाथिको खेलवाड हो । विनाकार्ययोजना कर्मकाण्डी रूपमा वर्षभरि हिँड्ने मार्च १५ को दिन एकपटक दिवसको रूपमा मात्र मनाइरहँदा यसले राम्रो सन्देश दिँदैन ।
विद्यमान अवस्था
एउटा उपभोक्ता बजारबाट घर फर्कंदा वस्तु र सेवा दुवै क्षेत्रमा म ठगिएँ भनेर निराश बन्नुपरहेको छ । राजनीतिक प्रतिबद्धता नहुनु छिट्टै कमाऊँ, धनी बनौं भन्ने जस्ता सोचले बजार अस्तव्यस्त बनेको छ । गुणस्तरहीन वस्तु तथा सेवा विक्रेतालाई कारबाही नहुनु, राम्रा गर्नेलाई पुरस्कृत नहुनु, खाद्यान्न, होटल, रेस्टुराँ, लत्ताकपडा, स्कूल, कलेज, अस्पताल, सार्वजनिक सवारी लगायत सेवाको स्पष्ट मापदण्ड नहुनु र भएकाहरूको पनि कार्यान्वयन नगर्ने प्रवृत्तिले बजार अराजकतातर्फ गएको छ । उपभोक्ताको अनुहार हेरेर वस्तु तथा सेवाको मूल्य कायम हुँदै आएको छ । विडम्बना नियामक निकाय देखे पनि नदेखे जस्तो गरिरहेका छन् ।
उपभोक्ता हितका क्षेत्रमा सक्रिय उपभोक्ता अधिकारवादी संघसंस्थाको सल्लाह–सुझाव ग्रहण नगर्ने, उपभोक्ता वर्गको तर्फबाट सशक्त प्रतिनिधित्व नगराउने, सक्रिय स्वयंसेवकको रूपमा काम गरिरहेका अधिकारकर्मीलाई ओजको रूपमा नभई बोझको रूपमा लिने र दशकौंदेखि उठेका मुद्दा समाधान नहुने प्रवृत्ति दुःखद हो । उपभोक्ताले एकीकृत रूपमा गुनासो सुनाउने केन्द्र नहुनु, उपभोक्ता संक्षण ऐन २०७५ पूर्णरूपमा कार्यान्वयन गर्न राज्यको अहिले संरचना अनुसार व्यावहारिक नहुनु, संघ, प्रदेश र स्थानीय तहमा बजार नियमन तथा अनुगमन गर्न छुट्टाछुट्टै संयन्त्र नहुनु झनै विडम्बना हो । उद्योग वाणिज्य हेर्ने मन्त्रालयबाट उपभोक्ता हित हेर्नु आफैमा नमिलेको विषय भएकाले छुट्टै निकाय आवश्यक छ । तर यो व्यवस्था नहुँदा नेपालमा उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न सकिएको छैन ।
समाधान
सार्थक रूपमा बजारमा विधिको शासनमार्फत उपभोक्ता हित कायम गर्ने हो र दिवसलाई सार्थक तुल्याउने हो भने स्पष्ट कार्ययोजना र प्रतिबद्धतासहित काम गर्नुपर्छ । अनुगमनको काम संख्यात्मक भन्दा गुणात्मक बनाउन जोड दिइएमा बजार सुध्रन सक्छ । बजार अनुगमन र उपभोक्ता हित हेर्ने निकाय अर्घन्यायिक अधिकारसहित स्वतन्त्र रहनुपर्दछ । अहिले त्यो अवस्था छैन । यो वर्षको नारा संविधानको धारा ४४ ले प्रत्याभूत गरेको भौतिक अधिकारसँगै सम्बन्धित भएकाले गुणस्तरीय वस्तु र सेवामा सहज पहुँच पु¥याउन प्रत्येक स्थानीय तहमा उपभोक्ता सूचना केन्द्र स्थापना गर्नुपर्छ ।
केन्द्रमा चुस्त दुरुस्त र पारदर्शी अनुगमन गर्ने स्थायी संयन्त्रको विकास गर्नुपर्छ । यसैगरी सातै प्रदेशमा उपभोक्ता हित हेर्ने कानूनी आयोग गठन, नियामक निकायबीच आपसी समन्वय, उपभोक्ता हित कायम राख्न उपभोक्ता संरक्षण ऐन २०७५ लाई छाता कानूनको रूपमा कार्यान्वयन, मूल्य विश्लेषण, नियमन र निर्धारणका लागि अधिकार सम्पन्न समिति निर्माण गर्नुका साथै उद्योग वाणिज्य आपूर्ति मन्त्रालयबाट उपभोक्ता हित गर्न नसकिने हुँदा छुट्टै निकाय वा प्रधानमन्त्री कार्यालयबाट हेर्ने व्यवस्था मिलाउनुपर्छ । साथै दर्ता, मूल्यसूची, साइनबोर्ड र बिलबिजक जारी गर्ने व्यवसाय बन्द गराउने अभियान चलाउने, जागरुक उपभोक्ता निर्माणका लागि उपभोक्ता जागरण वर्ष घोषणा गर्ने, रेडियो, टेलिभिजन, पत्रपत्रिका र विभिन्न प्रविधिको प्रयोग गरी विद्यमान ऐन कानून, नियामक निकाय, उपभोक्ता व्यवसायी र सरकारको भूमिकाबारे प्रचारप्रसार गर्ने, अनुगमन र नियमनलाई व्यापक बनाउने, भन्सार व्यवस्थित गर्ने, आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गर्नुपर्छ ।