काठमाडौं । ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार’ नारासहित यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस शुक्रवार नेपालमा पनि मनाइँदै छ । उपभोक्ता अधिकार दिवसको अवसरमा सरकारी निकाय तथा उपभोक्तावादी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यो दिवसको अवसरमा उपभोक्ता संस्थाहरूले उपत्यकाका विभिन्न चोकमा ब्यानर, प्लेकार्ड, माइकिङ, पर्चा वितरण लगायत जागरणका काम गर्दै आएका छन् ।
केन्द्रीयस्तरमा काठमाडौं तथा सातओटै प्रदेशमा विशिष्ट व्यक्तिको उपस्थितिमा उपभोक्ता हित तथा जनचेतनासम्बन्धी कार्यक्रम पनि हुँदै छन् । शुक्रवार बिहान सबै सरोकार निकायको सहभागितामा ब्यानर तथा प्लेकार्डसहित नयाँ बानेश्वरसम्म प्रभातफेरी गर्ने कार्यक्रम तय भएको छ । शुक्रवार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको प्रमुख आतिथ्यमा नयाँ बानेश्वरस्थित हीरा प्यालेस तथा ब्यांक्वेटमा विश्व उपभोक्ता अधिकार दिवस मूल समारोह समितिको कार्यक्रम गरिँदै छ ।
विश्व उपभोक्ता अधिकार दिवस पहिलोपटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो । यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारणसभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानून जारी गरेका छन् । संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरीद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ । त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचना, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन्