ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२१.४२ % लगानी वृद्धि : असंगठित क्षेत्रलाई अवकाश कोषमा समेट्ने योजना

Mar 18, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । हालसम्म ६ लाख ३१ हजार सेवाग्राहीले लाभ लिइरहेको नागरिक लगानी कोषको कुल लगानी बढ्दै गएको छ । कोषको कुल लगानी गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा २१ दशमलव ४२ प्रतिशत बढेको छ । लगानीको रूपमा हालसम्म रू. १ खर्ब १३ अर्ब ८४ करोड प्रवाह भएको छ । गत आवको यही अवधिमा यो रू. ९३ अर्ब ७५ करोड ६० लाख थियो । हाल कोषको लगानीको मुख्य क्षेत्र बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप रहेको भए पनि लगानीलाई सकभर विविधीकरण गरी उत्पादनशील क्षेत्रमा लगाउने प्रयास गरिएको कोषले बताएको छ । कोषले आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा १६ दशमलव ६९ प्रतिशत लगानी बढाएको छ । साथै गत असार मसान्तको तुलनामा पुस मसान्तसम्ममा लगानी ६ दशमलव ४२ प्रतिशत बढेको छ । बैंकमा राखिएको मुद्दती निक्षेप, आवधिक कर्जा, घर तथा ओभरड्राफ्ट कर्जामा लगानी बढ्दै गएकाले कुल लगानीमा वृद्धि भएको हो । कोषले आव २०७३/७४ मा सरकारी ऋणपत्र, निक्षेप, कर्जा लगायतमा ९१ अर्ब ६७ करोड ३६ लाख लगानी गरेको थियो । यस्तै आव २०७४/७५ मा उक्त लगानी १ खर्ब ६ अर्ब ९७ करोड ६२ लाख पुगेको थियो । चालू आवको पुस मसान्तसम्ममा यस्तो लगानी १ खर्ब १३ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । चालू आवको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू. १ खर्ब १७ अर्ब १२ करोड बराबर छ । गत आवको यही अवधिमा यो रू. १ खर्ब ४ अर्ब ५७ करोड थियो । कोषको कुल बचत परिचालन गत आवको समीक्षा अवधिको भन्दा १२ प्रतिशत बढेको छ । यसरी विभिन्न बचत योजनामार्फत संकलित रकम विभिन्न क्षेत्रमा लगानीको रूपमा परिचालन गरिएको छ । यसैगरी आव २०७५/७६ पुस मसान्तसम्ममा कोषको केन्द्रीय हिसाबतर्फको सञ्चालन मुनाफा रू. १९ करोड २ लाख छ भने कोषको कुल जगेडा रकम रू. ४ अर्ब १ करोड २७ लाख पुगेको छ । कोषले शुरू अवस्थादेखि नै पूँजीबजार सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म कोषले साधारण शेयर र हकप्रद शेयर गरी रू. ३६ अर्ब ६१ करोडभन्दा बढीको शेयर निष्कासन तथा विक्री प्रबन्ध सेवा प्रदान गरिसकेको छ । कोषले बचत परिचालन, लगानी व्यवस्थापन र पूँजी बजारलाई मुख्य व्यवसाय बनाएको छ । कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष, बीमा कोष आदिको माध्यमबाट लामो अवधिको बचत संकलन गर्दै आएको छ । यस्तै कोषले नागरिक एकांक योजना, म्युचुअल फन्ड योजनाको माध्यमबाट देश भित्र र बाहिरका सहभागीबाट बचत वृद्धि कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । कोषले संगठित संस्थाको शेयर, ऋणपत्र तथा सरकारी धितोपत्रमा लगानी गर्दै आएको छ । साथै शेयर खरीद गर्न कर्जा प्रवाह समेत गर्दै आएको छ । संगठित संस्थालाई निश्चित अवधिको ऋण, ग्राहकलाई आवश्यक आवास कर्जा, शैक्षिक कर्जा, सरल कर्जा आदि उपलब्ध गराउँदै आएको छ । कोषले पूँजी बजार सेवाअन्तर्गत संगठित संस्थाको सार्वजनिक निष्कासनको व्यवस्था, सार्वजनिक निष्कासनका लागि प्रस्ताव भएको शेयर विक्री नभएमा विक्री प्रत्याभूति प्रदान गर्ने काम गर्दै आएको छ ।

असंगठित क्षेत्रका मजदूर, कृषक तथा स्वरोजगारलाई अवकाश कोषमा आबद्ध गर्ने योजना रहेको कोषले जानकारी दिएको छ । कोषले सञ्चालन गर्दै आएको नागरिक एकांक योजनालाई परिष्कृत गरी उक्त एकांकको कारोबार बढाउन थप पहल गरिने उल्लेख छ । लगानी विविधीकरण गर्दै सम्भाव्य परियोजनामा लगानी बढाइने कोषले बताएको छ । यसैगरी शाखा कार्यालयबाट सहभागीलाई कोषले प्रदान गर्ने सबै प्रकारका सेवा तथा सुविधा सहज रूपमा प्रवाह गर्न उचित व्यवस्था मिलाइने उल्लेख छ । जलविद्युत् लगायत पूर्वाधार तथा हवाई क्षेत्रका परियोजनामा पूँजी जुटाउन पूँजीबजारको औजारको रूपमा रहेको कन्भर्टिबल निष्कासनका लागि निष्कासन प्रबन्धकको रूपमा काम गर्न पहल गर्ने रणनीति बनाइएको कोषले बताएको छ । कोषले पूँजीबजार विकासका लागि एक सहायक कम्पनी खडा गरी स्टक डिलरको कार्य गर्ने प्रक्रिया अगाडि बढाएको छ । साथै कोषले एउटै प्रकृतिका कार्य गर्ने अन्य संस्थासँगको सहकार्यमा मध्यम र दीर्घकालीन स्वरूपका बन्ड तथा डिबेन्चरको निष्कासन प्रबन्धकको कार्य गर्ने भएको छ । कोषमार्फत सञ्चालित कार्यक्रम
  • कर्मचारी बचत वृद्धि अवकाश कोष
  • उपदान कोष
  • एकांक योजना
  • लगानीकर्ता हिसाब योजना
  • निजामती बीमा कोष
  • शिक्षक बीमा कोष
  • सैनिक बीमा कोष
  • नार्क बीमा कोष
  • नेपाल प्रहरी बीमा कोष
  • सशस्त्र प्रहरी बीमा कोष
  • राष्ट्रिय अनुसन्धान बीमा कोष
यस्ता स्किममा कर्मचारी बचत वृद्धितर्फ २ लाख ७ हजार, नागरिक एकांक योजनामा १ हजार ६ सय, उपदान र पेन्सन कोष योजनामा २८ हजार, लगानी कर्ता हिसाब योजनामा १४ हजार तथा बीमा कोष योजनामा ३ लाख ८० हजार गरी ६ लाख ३१ हजारभन्दा बढी सहभागी आबद्ध छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)