तीन कम्पनीको चार करोड सिमकार्ड विक्री : सक्रिय प्रयोगकर्ताको छैन तथ्यांक
Jul 12, 2019
 
समाचार
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वैशाख महीनासम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले करीब ४ करोडओटा सिमकार्ड विक्री गरेका छन् । तीन ठूला मोबाइल सेवाप्रदायक कम्पनीले कुल जनसंख्याको तुलनामा १३९ प्रतिशतसम्म सिम कार्ड विक्री गरे पनि सक्रिय सेवाग्राहीको तथ्यांक उपलब्ध छैन ।
नेपाल टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीले सक्रिय प्रयोगकर्ता कति छन् भनेर यकिन गर्न नसकिने बताए । ‘हामीले सक्रिय र सक्रिय नभएका ग्राहक संख्या छुट्याएका छैनौं,’ उनले भने । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्टले सक्रिय नरहेका प्रयोगकर्ताको मात्रा धेरै र जनसंख्याभन्दा झन्डै दोब्बर सिमकार्ड विक्री भएको देखाएको छ ।
एमआईएस रिपोर्टअनुसार सिम वितरणमध्ये आधाभन्दा बढी हिस्सा नेपाल टेलिकमको छ । टेलिकमले गत वैशाखसम्म २ करोड २२ लाख सिमकार्ड प्रयोगकर्तामाझ पु¥याएको छ भने एनसेलको १ करोड ६५ लाख ४९ हजार सिमकार्ड विक्री भएको छ । स्मार्ट टेलिकमले २० लाख सिम विक्री गरेको छ । फिक्स्ड टेलिफोन सेवा पीएसटीएन र ल्यान्डलाइनको प्रयोगदर भने महीनैपिच्छे घटिरहेको छ ।
फिक्स्डलाइन सेवा नेपाल टेलिकमले मात्रै दिँदै आएको छ, जसमा पीएसटीएन, भिस्याट वायरलेस नेटवर्क गरी ७ लाख ९८ हजार ७ सय प्रयोगकर्ता छन् । यूटीएल र नेपाल स्याटेलाइट टेलिकमले भने अहिलेसम्म सेवाप्रवाह गर्न सकेका छैनन् ।
दूरसञ्चार विज्ञ भेषराज कँडेलले दूरसञ्चार सेवाप्रदायकले सिमकार्ड वितरणलाई प्रभावकारी बनाउन नसकेको धारणा राखे । उनका अनुसार सस्तो भएका कारण सिमकार्डको दुरुपयोग समेत बढेको छ । यसका लागि नियामक निकाय दूरसञ्चार प्राधिकरणले ठोस कदम चल्नुपर्ने उनको भनाइ छ । दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले सिम वितरण प्रणाली व्यवस्थित गर्न नयाँ व्यवस्था अपनाउने तयारी थालेको बताए ।
एक व्यक्तिसँगै दुईभन्दा बढी सिम
अहिले हरेक व्यक्तिले दुई वा दुईभन्दा बढी सिम निकाल्ने गरेका छन्, जसले मोबाइल सेवाप्रदायकको संख्या उच्च छ । अहिले सेवाप्रदायकले सिम सञ्चालनमा छन् वा छैनन् भन्ने कुरा यकिन छैन । विशेष गरी अहिले नेपालमा सिम वितरण गर्न टेलिकम र एनसेलको प्रतिस्पर्धा छ ।
भ्वाइस सेवामा विभिन्न प्याकेजमा प्रतिस्पर्धा चले पनि सिमकार्डको लागत कम भएको कारण पनि उल्लेखित मात्रामा मोबाइल सेवाप्रदायकको संख्या बढेको दूरसञ्चार विज्ञहरू बताउँछन् ।
इन्टरनेटको पहुँच ६३ दशमलव ३१ प्रतिशत
प्राधिकरणका अनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ६३ दशमलव ३१ प्रतिशत पुगेको छ । वैशाख मसान्तसम्म नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ८६ लाख ८५ हजार ८ सय ७३ पुगेको छ, जसमध्ये मोबाइल ब्रोडब्यान्डको पहुँच मात्रै ४९ दशमलव ६५ प्रतिशत पुगेको छ ।
करीब आधा जनसंख्याले मोबाइल ब्रोडब्याण्ड प्रयोग गर्ने गर्दछ, जसमध्ये नेपाल टेलिकमका मात्रै ८८ लाख ७८ हजार १ सय ९४ इन्टरनेट प्रयोगकर्ता छन् भने अर्को ठूलो सेवाप्रदायक एनसेलका ६७ लाख ४१ हजार ७ सय ४९ प्रयोगकर्ता पुगेका छन् ।
फोरजीमा एनसेल अगाडि
एनसेलको फोरजी सेवा प्रयोगकर्ताको संख्या २६ लाख ७५ हजार १ सय १४ हुँदा नेपाल टेलिकमसँग भने जम्मा ७ लाख ६२ हजार ९ सय ४५ मात्र फोरजी सेवाग्राही छन् ।
नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं र पोखरामा सीमित छ भने एनसेलले भने १ हजार स्थानमा आफ्नो फोरजी सेवा पु¥याएको छ । अर्को फोरजी सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमसँग भने १ लाख ७४ हजार ८ सय १६ फोरजी सेवाग्राही रहेका छन् ।