ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इन्टरनेट डेटा सम्बन्धी नयाँ निर्देशिका तयार गरिँदै

Aug 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar युवराज बस्नेत

काठमाडौं । दूरसञ्चार सेवाप्रदायकले डेटा सेवा शुल्कमा मनोमानी गरेको र उपभोक्ता ठगिएको उजुरी अत्यधिक आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट डेटा सम्बन्धी नयाँ निर्देशिका तयार पार्ने भएको छ । 

हाल भएको निर्देशिकामा अधिकतम डेटा शुल्क कति राख्ने भन्ने बिषयमा स्पष्ट व्यवस्था छैन । त्यसले सेवा शुल्क स्वीकृत गराउनुपर्ने व्यवस्था गरे पनि सेवाशुल्कमा कुनै सीमा कायम गरेको थिएन । अब बन्ने नयाँ निर्देशिकामा भने सबै समेटिने प्राधिकरणले बताएको छ । 

पछिल्लो समय सेवाप्रदायकहरूले इन्टरनेटका लागि विभिन्न डेटा अफर तथा अनलिमिटेड डेटा स्कीम सार्वजनिक गर्दै आएका छन् । तर, टेलिकम कम्पनीले ल्याउने अफरमा डेटा  सस्तो नै पर्ने भए पनि नियमित डेटा शुल्क महँगो नै छ । यही नियमित प्याक प्रयोगमा उपभोक्ता ठगिएका गुनासा प्राधिकरणमा आएका छन् । 

दूरसञ्चार ऐनमा सेवाशुल्कको दर उचित र मनासिब हुनुपर्ने भनिए पनि हालको निर्देशिकामा सेवाशुल्कको दरबारे स्पष्ट उल्लेख गरिएको छैन । यसैकारण सेवा प्रदायकले डेटा शुल्क घटाउन मानेका छैनन् । 

अहिले नेपालका तीन दूरसञ्चार कम्पनी एनसेल, एनटीसी र स्मार्ट टेलिकमले मोबाइल डेटामार्फत इन्टरनेटको सेवा दिइरहेका छन् । प्रति एमबीपीएस नेपाल टेलिकमले १ रुपैयाँ, स्मार्ट टेलिकमले २ रुपैयाँ र एनसेलले ३ रुपैयाँमा डेटा विक्री गरिरहेका छन् ।  

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले उपभोक्ताको गुनासो तथा सेवाप्रदायकको अवस्थालाई ध्यानमा राखी डेटा सम्बन्धी नयाँ निर्देशिका तयार गर्न लागेको बताए । उनका अनुसार पछिल्लो समय एनसेलको डेटा सेवाबारेमा उपभोक्ताको गुनासो अत्यधिक छ । प्राधिकरणले डेटा शुल्क महँगो भएका कारण एनसेललाई असार ९ गते डेटा शुल्क घटाउन निर्देशन समेत दिएको थियो । तर, कम्पनीले सो शुल्क नघटाएको प्राधिकरणले बताएको छ । 
अब प्राधिकरण आपैmले डेटाको शुल्क सीमा तोक्ने निर्देशिका तयार गर्दै छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले नयाँ निर्देशिकाका शर्तहरू पारित गरिसकेको छ । बढीमा १ महीनाभित्र नयाँ निर्देशिका जारी भई कार्यान्वयनको क्रममा जाने बताइएको छ । प्राधिकरणका अध्यक्ष खनालले नयाँ निर्देशिकामा सेवाप्रदायकले अहिले तोकेको र लिइरहेको शुल्कको समीक्षा तथा शुल्क कम गर्ने प्रावधान रहने बताए ।

पछिल्ला वर्षमा अन्तरराष्ट्रिय ब्यान्डविथको मूल्य घट्दै गए पनि सेवाप्रदायकले भने विगत ४ वर्षदेखि एउटै मूल्य लगाउँदै आएका छन् । प्राधिकरणले गत २०७१ माघमा दुई ठूला दूरसञ्चार सेवाप्रदायक टेलिकम र एनसेललाई नियमित डेटाको शुल्क स्वीकृत गरेको थियो । 

प्राधिकरणका अनुसार नयाँ निर्देशिका आएपछि प्रतिएमबी नेपाल टेलिकमले हाल लिइरहेको १ रुपैयाँ डेटा शुल्क लिन पाउनेछ । स्मार्ट टेलिकमले २ रुपैयाँबाट झारेर १ रुपैयाँ ५० पैसा र एनसेलले ३ रुपैयाँबाट झारेर २ रुपैयाँमा ल्याउनुपर्नेछ । अहिले तीन टेलिकम कम्पनीबीच डेटा प्याकेजमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । प्याकेजमा प्रतिस्पर्धा भए पनि प्याकेज नलिएको अवस्थामा लाग्ने डेटा शुल्कमा भने तीनै कम्पनीबीच ठूलो अन्तर देखिन्छ । 

दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार टेलिकमको थ्रीजी सेवामा ७० लाख र फोरजीमा ७ लाख ८१ हजार मोबाइल डेटा प्रयोगकर्ता छन् । त्यसैगरी एनसेलको थ्रीजीमा ३९ लाख ५५ हजार र फोरजीमा २७ लाख ६६ हजार तथा स्मार्ट टेलिकमको फोरजीमा १ लाख ९७ हजार उपभोक्ताले मोबाइल डेटा प्रयोग गर्दै आएका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)