काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत आर्थिक वर्ष (आव) मा पछिल्ला ९ वर्षयताकै न्यून रह्यो । आव ७४/७५ मा १७ अर्ब ४८ करोड कमाएको टेलिकमको नाफा आव ७५/७६ मा सात अर्बले घटी रू. १० अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।
आफ्नो प्रतिस्पर्धी निजीक्षेत्रको एनसेलले सेवा विस्तार गर्नुका साथै कमाइ पनि बढाइरहँदा टेलिकम भने दुवैमा पछाडि पर्दै गएको छ । गत आवमा मोबाइल सेवा नवीकरण शुल्कका रूपमा अर्बौं रुपैयाँ सरकारलाई बुझाउनु पर्दा र कर्पोरेट करको दर बढ्न जादा नाफा खुम्चिन पुगेको टेलिकमको भनाइ छ ।
टेलिकमले आफ्नो मोबाइल सेवा अनुमति नवीकरणका लागि प्रत्येक ५ वर्षमा रू. २० अर्ब तिर्नुपर्ने हुन्छ । गत आवमा त्यसकै एक किस्ताबापत रू. ४ अर्ब र कर्पोरेट कर शीर्षकमा रू. १ अर्ब उसले सरकारलाई बुझाएको थियो ।
यसका साथै फेसबूक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत अन्तरराष्ट्रिय र आन्तरिक भ्वाइस कल गर्ने चलन बढेकाले पनि टेलिकमको आम्दानी दुष्प्रभावित भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन् ।
टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य भने यी तर्कलाई उचित ठान्दैनन् । टेलिकमले आम्दानी बढाउने योजना र सेवा विस्तारमा ध्यान नदिएकाले नाफा घटेको उनको विश्लेषण छ ।
आचार्यका अनुसार खासगरी फोरजी सेवा विस्तारमा ढिलाइ र कर्पोरेट ग्राहकका लागि योजनाको अभावका कारण कम्पनी यो अवस्थामा पुगेको हो । ‘नवीकरण शुल्कका कारण टेलिकमको नाफा घटेको भन्न उचित हुँदैन,’ उनले भने, ‘वर्षैपिच्छे रू. ४ अर्ब सरकारलाई टेलिकमले बुझाउनैपर्छ, त्यसैले आफ्नो आम्दानी विस्तारको योजना टेलिकमले ल्याउनुपर्छ ।’ उनका अनुसार, समयमै सेवा विस्तारका थप योजना अगाडि बढाएन भने टेलिकमको भविष्य नै खतरामा पर्नेछ ।
टेलिकम यस वर्षदेखि फोरजी सेवा विस्तार र फाइबर टु दि होम (एफटीटीएच) सेवालाई थप सशक्त बनाउने तयारीमा छ । प्रबन्ध निर्देशक अधिकारीका अनुसार अब ल्यान्डलाइन र एडीएचएल सेवा लिइरहेका ग्राहकलाई फाइबर टु दि होम (एफटीटीएच) मा लग्ने योजनामा टेलिकम छ । हाल टेलिकमका मोबाइल सिम प्रयोगकर्ता २ करोड २४ लाख छन् भने ब्रोडब्यान्ड डाटा र फिक्स्ड मार्फत ९१ लाख प्रयोगकर्ता छन् ।