ज्ञानको उचित प्रयोगबाट स्रोतसाधनको उच्चतम प्रयोग भई बैंक तथा वित्तीय संस्थालाई नाफामा लैजान सकिन्छ । ज्ञानको उचित व्यवस्थापनविना संगठनको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सकिँदैन । नेपालको बैंकिङ वा गैरबैंकिङ क्षेत्रमा ज्ञान भएका बौद्धिक व्यक्तिको जमात अधिक रहे तापनि उनीहरूको पदीय अहम् र आफूभन्दा तल्लो तहका व्यक्तिको अस्तित्व स्वीकार नगर्ने र सबैबाट नमस्ते मात्र खोज्ने प्रवृत्ति छ । ज्ञान त ग्राहक र कर्मचारी साथै सर्वसाधारण र मिडियाबाट समेत लिन सकिन्छ । तर, कार्यान्वयनका लागि भने इच्छाशक्तिको चाहिन्छ । विश्वव्यापीकरण तथा सूचना र सञ्चारको क्षेत्रमा देखिएको गतिले गर्दा ज्ञानको भण्डारमा कमी देखिँदैन । कमी त यसको कार्यान्वयन र उपयोगमा छ । बैंकिङ क्षेत्र उच्च जोखिममा आधारित भएको हुँदा ज्ञानको आर्जन र यसको व्यवस्थापन अझ बढी गहकिलो छ । बैंकिङ प्रतिस्पर्धा बढ्दै गएको हुँदा ज्ञान व्यवस्थापनको अपरिहार्यता अझ बढेको छ । विभिन्न तालीम तथा सिकाइ र अध्ययन, अध्यापनद्वारा बदलिँदो वातवरण अनुरूप कर्मचारीलाई ज्ञान दिने प्रयत्न गरिएको भए तापनि यसको कार्यान्वयन पक्ष निराशाजनक छ ।
ज्ञानलाई व्यक्त र अव्यक्त दुइ भागमा विभाजन गर्न सकिन्छ । ज्ञानलाई संरक्षण र भण्डारण गरिएको हुन्छ जसलाई आवश्यकता परेको बेलामा उपयोग गर्न सकिन्छ । तर, ज्ञानले मात्र संगठनको प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सकिँदैन । हाम्रो देशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूमा आफूले नयाँ कुराको आविष्कार गर्नुभन्दा अरूको नक्कल गर्ने, सुूना लिने र सोही कुरालाई लागू गर्नेको भीड छ । बैंकका उच्च व्यवस्थापकले ज्ञान र अध्ययन, सूचना एवम् सञ्चारलाई बढी ध्यान नदिएबाट नै बैंकिङ क्षेत्रमा तरलता लगायतका समस्या देखिएका हुन् । अव्यक्त ज्ञान लामो अनुभव, लगनशीलता एवम् नप्रवद्र्धन हो । यसैलाई थिन्क ट्यांक भनिन्छ । नेपालको बैंकिङ क्षेत्रका थिंंक ट्याक धेरै भए तापनि उनीहरूको ज्ञानको सदुपयोग हुन सकेन । अव्यक्त ज्ञानको व्यवस्थापन जुन बैंकले गर्न सक्यो सो नै प्रतिस्पर्धी बजारमा अब्बल हुन सक्छ र प्रतिस्पर्धात्मक फाइदासमेत लिन सक्दछ । तर, बैंकिङ क्षेत्रले आपूmभित्र भएको अव्यक्त ज्ञानको खोजी र सोको उचित सदुपयोग गर्न चुकेको छ ।
हामी ज्ञान प्राप्ति त गर्छौं तर हाम्रो रेकर्ड व्यवस्थापन अति नै कमजोर छ । सूचना प्रणाली व्यवस्थापन समेत भरपर्दो छैन । तसर्थ हामीले अँध्यारोमा ढुंगा हान्छौं । यसरी हचुवाको भरमा संगठनमा काम गर्ने व्यवस्थापकीय कार्यशैलीले बैंकिङ क्षेत्रलाई अब्बल बनाउन सकिँदैन । बदलिँदो वातावरण अनुसार संगठनात्मक संरचना बनाउन, निर्णयलाई चुस्त र भरपर्दो बनाउन, बैंकिङ क्षेत्रलाई सिकाइ संगठनका रूपमा विकास गर्न र उपयुक्त रणनीतिको तर्जुमा गर्न ज्ञान व्यवस्थापनको महत्त्वपूर्ण भूमिका रहन्छ । बैंकिङ क्षेत्रमा हरेक बैंक तथा वित्तीय संस्थाले ज्ञान व्यवस्थापनका लागि लर्निङ सेन्टरको रूपमा कार्यालय परिसरमा पुस्तकालय समेतको व्यवस्था गर्नु जरुरी छ । कतिपय बैंक तथा वित्तीय संस्थामा यसको अभाव देखिन्छ । सही ज्ञान उपयुक्त व्यक्तिबाट तोकिएकै समयमा प्राप्त गरी यसको कार्यान्वयन गर्नु नै ज्ञान व्यवस्थापन हो । तथ्यांकहरूको प्राप्ति एवम् यसको उचित प्रशोधनले मात्र ज्ञान प्राप्त हुन्छ । ज्ञान व्यवस्थापन गर्दा यसको स्रोतको खोजी, संगठनको सबल र दुर्बल पक्षको विश्लेषण गरि उचित ज्ञानको प्राप्ति र यसको सञ्चार एव कार्यान्वयन नै ज्ञान व्यवस्थापन हो भन्नेतर्फ बैंकिङ क्षेत्र बढी चनाखो हुनुपर्छ ।
प्रभावकारी ज्ञान व्यवस्थापनका लागि कर्मचारी, कार्य प्रक्रिया र प्रविधि अपरिहार्य हुन्छ । तसर्थ, ज्ञान व्यवस्थापन गर्दा बैंक तथा वित्तीय संस्थाले ध्यान दिनुपर्ने मुख्य पक्षमा संगठनको अव्यक्त ज्ञानको पहिचान, नयाँ कर्मचारीलाई संगठनका बारेमा उचित तालीम दिने, कर्मचारीको ज्ञानलाई निरन्तर अपडेट गरिराख्ने काम गर्नुपर्छ । तालीम सम्बन्धी समयसापेक्ष कोर्षको डिजाइन र पुस्तकालयको व्यवस्था, ब्रेन स्टर्मिङ, क्वालिटी सर्कलको विकास र ज्ञान शेयरिङ कार्यक्रमको विकास, ज्ञानको संस्थागत विकास एवम् आन्तरिकीकरण अर्थात् कार्यान्वयन गर्नुपर्छ । साथै, सूचना तथा प्रविधिको माध्यमलाई बढी गतिशील बनाउँदै ज्ञानको प्रसारण गर्छन् । बैंकिङ क्षेत्रमा उचित ज्ञान व्यवस्थापनको अभावले गर्दा देखिएका समस्याहरूमा कर्जा लगानी तथा असुलीको गुणस्तर, सञ्चालन खर्चको वृद्धि, संगठनको संस्कृतिको ज्ञानको अभाव आदि हुन् । ज्ञान व्यवस्थापनको क्षेत्रमा वित्तीय क्षेत्रले अवलम्वन गरेको नीति सह्राहनीय भए तापनि यसको कार्यान्वयनमा आएको न्यूनता नै बैंकिङ क्षेत्रका लागि घातक पक्ष हो जसले सुशासनलाई समेत कमजोर बनाएको छ ।
देशमा छरिएर रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाको सञ्चालनका लागि बनाउनु पर्ने नीति, नियम, निर्देशनमा नेपाल राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले ज्ञान व्यवस्थापनको मेरूदण्ड नै राष्ट्र बैंक हो भन्नुमा अत्युक्ति नहोला । बैंकिङ क्षेत्रको सुधारको लागि राष्ट्र बैंकबाट बनेका ऐन, नीति र निर्देशन बण्डलका बण्डल छन् । मौद्रिक नीतिमा उतिकै निर्देशनहरू छन् । तर, कार्यान्वयन पक्ष कमजोर छ । केन्द्रीय बैंकको अनुगमन पद्धति अपेक्षित रूपमा वैज्ञानिक नहुँदा बैंकिङ क्षेत्रमा ज्ञानको परिचालन हुन नसकी संकटोन्मुख अवस्थाको सिर्जना भइरहेको देखिन्छ । बैंकिङ तथा वित्तिय प्रणालीको स्वस्थ विकासका लागि नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्न र मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता बढाउन ज्ञान व्यवस्थापन जरुरी हुन्छ । तर, प्राप्त तथ्यांक नै भरपर्दो भएन भने यसको नतीजा पनि गलत हुन्छ । बैंकिङ क्षेत्रको विकासका लागि तथ्यांक संकलन, प्रशोधन एव यसको विश्लेषणपश्चात् निर्णय लिने परिपाटीको विकास गरिनु आजको आवश्यकता हो । ग्राहकको बदलिँदो इच्छा र चाहना पूरा गर्दै संगठनको सञ्चालन गर्नु एक्काइसौं शताब्दीमा निकै चुनौतीपुर्ण मानिन्छ । अव्यक्त ज्ञानलाई व्यवस्थापन गर्ने र संगठनलाई सिकाइ संगठनका रूपमा विकास नगरेसम्म उत्पादकत्व बढाउन कठिन छ । तसर्थ बैंकिङ क्षेत्रले ज्ञानको प्राप्ति, ज्ञानको वैज्ञानिक रूपमा सञ्चय, ज्ञानको उपयोग, र यसको संगठनमा आन्तरिकीकरण अर्थात् कार्यान्वयन गरेमा मात्र सक्षम र सबल बैंकिङ विकास सम्भव हुने कुरामा कसैको दुईमत नरहला ।
लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी विज्ञ हुन् ।