काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आउँदो कात्तिकभित्र देशका २० शहरमा फोरजी सेवा शुरू गर्ने भएको छ । १ वर्षभित्र सातै प्रदेशमा फोरजी विस्तार गर्ने योजना अन्तर्गत पहिलो चरणमा यो काम गर्न लागिएको टेलिकमले बताएको हो ।
टेलिकमले १९ अर्ब रुपैयाँमा देशभर फोरजी सेवा विस्तार गर्ने जिम्मा २०७५ माघमा दुई चिनियाँ कम्पनीलाई दिइसकेको छ । तीमध्ये सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तार र जेटीई कर्पोरेशनले कोर नेटवर्क विस्तारको जिम्मा पाएका छन् । रेडियो एक्सेस नेटवर्कले प्रयोगकर्ताको डिभाइसलाई मुख्य टावरहरूसँग जोड्ने काम गर्छ भने कोर नेटवर्क सेवाप्रदायकको आफ्नो नेटवर्कबीच हुने संयोजन हो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पहिलो चरणमा २० भन्दा बढी नै शहरमा फोरजी सेवा पु¥याउने योजना रहेको बताए । ‘हामीले कम्तीमा २० शहरको लक्ष्य राखेका हौं, योभन्दा बढी नै ठाउँमा सेवा विस्तार हुन्छ,’ उनले भने ।
‘प्राविधिक काम भएकाले एउटा प्रक्रिया गलत भयो भने अन्य कामसमेत प्रभावित हुन्छन्’ अधिकारीले भने, ‘त्यसैले सबै नेटवर्क तथा विस्तारको काम एकैपटक परीक्षण गर्दै फोरजी विस्तारको लक्ष्य समयमै पूरा गर्ने हाम्रो तयारी छ ।’
सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पनि १ वर्षभित्र देशभर फोरजी विस्तार भई सञ्चालन समेत भइसक्ने दाबी गर्दै आएका छन् । उनले टेलिकमसँग फोरजी विस्तारको अपडेटसमेत लिने गरेका छन् ।
टेलिकमले दूरसञ्चार प्राधिकरणबाट २०७३ कात्तिकमा फोरजी सेवा सञ्चालन गर्न स्वीकृति पाएको थियो । त्यसको २ महीनापछि काठमाडौं उपत्यका र पोखरामा उक्त सेवा सञ्चालन ग¥यो । टेलिकमले भन्दा ६ महीनापछि फोरजी सेवा शुरू गरेको एनसेलले भने दर्जनौं शहरमा यसको विस्तार गरिसकेको छ । हाल उपत्यका र पोखरामा टेलिकमका फोरजी प्रयोगकर्ता ८ लाख छन् भने एनसेलले फोरजीका ग्राहकको संख्या २९ लाख नघाइसकेको छ ।
टेलिकमको फोरजी विस्तार योजना विविध खड्गो पार गर्दै यहाँ आइपुगेको हो । पहिलो टेन्डर समस्यामा परेपछि २०७४ कात्तिक २२ मा अर्को टेन्डर आ≈वान गरियो जसको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै करीब १० महिना नियन्त्रणमा लियो । यसै क्रममा टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई ‘कार्यसम्पादनको ढङ्ग नपुगेको’ भन्दै मन्त्रालयले २०७५ साउनमा बर्खास्त ग¥यो । करीब ६ महीना टेलिकम नेतृत्वविहीन भएपछि २०७५ पुस २२ गते डिल्लीराम अधिकारी प्रबन्ध निर्देशक नियुक्त भए । फोरजी र अप्टिकल फाइबर परियोजना यसपछि अगाडि बढेका छन् । आप्mनो घट्दो आम्दानी बढाउन पनि टेलिकमले फोरजी सेवामा नगई नहुने अवस्था छ ।