ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवीनतम सोचलाई प्रवर्द्धन

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar निकेश खत्री

कुनै जमाना थियो, उच्च शिक्षा हासिल गरेका युवाहरू राम्रो कम्पनीमा जागीर खाने सोच बनाउँथे । बैंक, बीमा कम्पनी वा अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मा नाम निकाल्नु नै उनीहरूको लक्ष्य हुने गर्थ्यो ।

त्यो बेला जागीरको विकल्पका रूपमा कि त पुख्र्यौली पेशा सम्हाल्नु वा विदेश पलायन हुनुबाहेक अरू उपाय थिएन । यस्तै, सोचाइ र लक्ष्य लिएर उच्च शिक्षा हासिल गरेका थिए नेपाली धोबीका सह–संस्थापक विकास सुवेदीले । आईटीका विद्यार्थी उनले ३ वर्ष विभिन्न कम्पनीमा जागीर समेत गरे ।

अन्तरप्रेरणाका कार्यकारी निर्देशक नीरज खनालले पनि विभिन्न कम्पनीहरूमा १० वर्ष जागीरमै बिताए । त्यसपछि आफै केही गरौं भन्ने सोचले अन्तरप्रेरणा स्थापना भएको उनको भनाइ छ । सुवेदी र खनाल जस्तै धेरैले अहिले चुनौती लिएरै नयाँ शैलीका व्यवसाय शुरू गरेका छन् । प्रविधिमा पहँुच बढेसँगै युवाहरूले नयाँनयाँ उद्यममा हात हालेका छन् । अहिले बिल्कुलै फरक शैलीका पेशा व्यवसाय गर्ने प्रचलन शुरू भएको मात्र छैन, दिनानुदिन बढ्दो छ, जसले युवाहरूको परम्परागत जागीरे सोचलाई पूर्णरूपमा परिवर्तन गरेको छ ।

पर्याप्त लगानी, पारिवारिक साथ र सहयोग नहुँदा समेत कतिपयले आफ्नै आँटले फरक पेशा व्यवसाय शुरू गरेको पाइन्छ । मोबाइलको एक क्लिककै भरमा बाइक÷ट्याक्सी आफ्नो सेवामा हाजीर हुने प्रविधि नेपालमा आउला भनेर कसले सोचेको थियो होला र ? अहिले मोबाइलबाटै बिजुलीको बिल तिर्न, बैंकको पैसा अर्को खातामा सार्न, किनमेल गर्न, हवाईजहाजको टिकट काट्न, लुगा धुन र कवाडीका सामान व्यवस्थापन गर्न तथा भोक लागेको समयमा एक क्लिकमै घरमा खाना मगाउन सकिने प्रविधि आएको छ, जुन केही समय अघिसम्म पनि कल्पनामै सीमित थियो ।

प्रविधिको प्रयोगमार्फत नयाँ उद्यम व्यवसाय सञ्चालन हुने क्रम बढ्दो छ । यस्ता व्यवसायबाट उनीहरूले राम्रो आम्दानी समेत गर्न थालेका छन् । नयाँ शैलीका व्यवसाय शुरू गर्दा आफूसँग आइडिया भए पनि लगानीको अभाव हुने गरेको युवाहरूको गुनासो छ । ऋणका लागि बैंकिङ पद्धति झन्झटिलो छ भने यो सेवा सबैको पहुँचमा पनि छैन ।

तपाईं पनि नेपालमै केही गर्ने सोच्दै हुनुहुन्छ, आफ्नो उत्कृष्ट व्यावसायिक विचारलाई उद्यममा परिणत गर्न चाहनुहुन्छ, तर  लगानीको समस्या छ भने चिन्ता लिनुपर्दैन । तपाईंको स्टार्टअप कम्पनीलाई साथ दिनकै लागि भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी फन्डहरु स्थापना भइसकेका छन् ।

अमेरिका, यूरोपको तुलनामा नेपालमा प्राइभेट इक्विटी, भेन्चर क्यापिटल आएको धेरै भएको छैन । पूँजीको अभावमा थन्किएका तर राम्रो व्यावसायिक सम्भावना भएका ‘इनोभेटिभ आइडिया’ प्रवद्र्धन गर्ने ‘एन्जेल इन्भेस्टर्स’को अवधारणा अन्य देशहरूमा अभ्यासमा रहे पनि नेपालमा बिल्कुलै नौलो हो । नवीनतम उद्यमका खाकालाई लगानीमार्फत परिपक्व बनाउने ‘सीड इन्भेस्टर्स’, स्थापना भइसकेका उद्यमलाई विस्तारित पार्ने ‘भेन्चर क्यापिटल’ जस्तै सृजनात्मक व्यवसायलाई गति दिन नौला तरीका खोज्न थालिएको छ । यसले पूँजी र व्यवसायको परम्परागत अवधारणामा परिवर्तन ल्याएको छ ।

विश्वमा शुरू भएको करीब ६ दशकपछि त्यस्ता कम्पनी नेपाल भित्रिए । दक्षिण एशियाली देशहरू भारत र बंगलादेशमा स्टार्टअप कम्पनी र ती कम्पनीहरूलाई सहयोग गर्न फन्ड खुलेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको अन्तरप्रेरणका निर्देशक खनाल बताउँछन् ।

१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले नेपालका सबै क्षेत्रमा नराम्रो प्रभाव प¥यो । शिक्षा क्षेत्र, आर्थिक र प्रविधि क्षेत्रमा पनि त्यसको असर देखियो । राजनीति अस्थिरताका कारण लगानीकर्ता ढुक्क भएर लगानी गर्ने अवस्था उक्त समयमा थिएन । तर राजनीतिक स्थिरतासँगै अन्य क्षेत्रजस्तै स्टार्टअप क्षेत्रमा पनि चमक देखिन थालेको छ ।

स्टार्टअप कम्पनी धमाधम खुल्न थालेपछि तिनलाई सहयोग गर्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल सञ्चालनमा आउने क्रम बढेको डोल्मा फन्डका लगानी निर्देशक शब्द ज्ञवालीले बताए । ‘राजनीतिक स्थिरता भएको भए पहिले नै नेपालमा धेरै पहिला यस्ता कम्पनी खुलिसकेका हुन्थे,’ उनले भने ।

स्टार्टअप कम्पनीलाई सहयोग गर्न फन्ड खुल्नुअघि नेपाली व्यवसायीहरूलाई विभिन्न बैंकले ऋण उपलब्ध गराउँदै आएका थिए । र, अहिले पनि त्यो क्रम जारी नै छ । तर, बैंकको ऋण लिन झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सोही कारण त्यसको विकल्पको खोजीमा युवा व्यवसायी लागिपरे । यसैको उपलब्धिस्वरूप नेपालमा स्टार्टअप कम्पनी र तिनलाई आवश्यक पर्ने रकम सहयोग गर्न दर्जनौं प्राइभेट इक्विटी फन्ड स्थापना भई सञ्चालनमा छन् ।

हाल नेपालमा डोल्मा फन्ड, अन्तरप्रेरणा, बीओटू, ट्रू नर्थ एशोसिएट्स, एमएन्डएस नेक्स्ट भेन्चर कर्प, आईक्यापिटल, माई इन्भेस्टिङ ग्रूप र कृति क्यापिटल एन्ड इन्भेस्टमेन्ट्स लगायत फन्ड सञ्चालनमा छन्, जसले स्टार्टअपका लागि लगानी जुटाउने तथा सञ्चालनमा रहेका कम्पनीहरूलाई विस्तार गर्न पूँजी लगानी गर्छन् ।

यिनीहरूको मुख्य उद्देश्य भनेकै भर्खरै खुलेका र खुल्ने क्रममा रहेका स्टार्टअप कम्पनीलाई सहयोग गर्नु हो । यस्ता इक्विटी फन्डको सहयोग र सहारामा हाल नेपालमा धेरै कम्पनी सञ्चालनमा छन् ।

नेपालमा दुई प्रकारका इक्विटी फन्ड छन् । भर्खरै शुरू गर्न लागिएको व्यवसायलाई सहयोग गर्ने र स्थापना भई सञ्चालनमा आएकालाई विस्तार गर्न लगानी गर्ने । त्यस्ता प्राइभेट फन्डले विदेशी कम्पनीसँग सम्झौता गरी आबद्ध भएका हुन्छन् र विदेशबाटै लगानी ल्याएर स्टार्टअप कम्पनीमा लगानी गर्छन् । यसका लागि नेपालमा लगानी भिœयाउन चाहने र नेपालमा लगानी गर्न चाहनेलाई आपसमा भेट गराउने र सहयोग गर्ने काम भेन्चर क्यापिटलले गर्छन् ।

नयाँ कम्पनी सञ्चालनमा ल्याउन चाहने युवासँगको विचार मन परेमा वा व्यवसाय विस्तार गर्न चाहने कम्पनीको प्रोफाइल मन परेमा मात्र लगानी गर्छन् । यस्तै युवाहरूले ल्याएको नयाँ व्यवसाय गर्ने विचार मन परेमा आवश्यक पर्ने तालीम समेत दिन्छन् । र, कम्पनी शुरू गरिसकेपछि घाटामा गए त्यसलाई बाँड्ने खालका फन्ड पनि सञ्चालनमा छन् । तर, स्टार्टअप कम्पनीले लगानी गर्न चाहेको रकमको निश्चिम प्रतिशत मात्र लगानी गर्छन्, जुन लगानी गर्ने फन्डअनुसार भिन्न हुन्छ ।

यस्तै, अर्को किसिमका फन्डले स्थपना भई सञ्चालनमा आएका, तर थप रकम आवश्यक परेका कम्पनीलाई सहयोग गर्छन् । तर, व्यवसाय सञ्चालन गरिरहेका सञ्चालकले त्यस्ता फन्डहरूलाई आफ्नो विचार प्रस्तुत गरेर विश्वस्त बनाउनुपर्छ । नयाँ व्यवसाय गर्न चाहने युवा वा व्यवसायीले ल्याएको विचार लगानी गर्ने फन्ड कम्पनीहरूलाई मन परेमा मात्र लगानी गर्छन् ।

लगानीका क्षेत्र
स्टार्टअप कम्पनीहरूलाई सहयोग गर्न खुलेका विभिन्न प्राइभेट इक्विटी फन्डले विशेषगरी आईटीमा आधारित कम्पनीलाई र ऊर्जासँग सम्बन्धित क्षेत्रका कम्पनीलाई लगानी थप्दै लगेका छन् । यस्तै, होटल क्षेत्रका कम्पनीलाई सहयोग गर्दै आएका छन् ।

नवीकरणीय ऊर्जा पर्यटन, म्यानुफ्याक्चरिङ र हस्पिटालिटी क्षेत्रका स्टार्टअप कम्पनीलाई बीओटूले सहयोग गर्दै आएको छ । यस्तै, टू« नर्थ एशोसिएट्स र एमएन्डएस नेक्स्ट भेन्चर कर्पेले पनि आईटी र सेवाक्षेत्रमा लगानी गर्दै आएका छन् । अन्तरप्रेरणाले आईटी, सेवा, कृषिजन्य क्षेत्रका कम्पनीहरूमा लगानी गरेको छ ।

समस्या र चुनौती
सरकारले हालै ल्याएको नयाँ वैदेशिक लगानी ऐनमा रू. ५ करोडभन्दा कमको वैदेशिक लगानी स्वीकृत नहुने नियम छ । यस्तै, कृषिक्षेत्रमा वैदेशिक लगानी बन्द गरिएको छ, जसले गर्दा नेपालका आईटी र कृषिक्षेत्रलाई आधार बनाएर खोलिएका स्टार्टअप कम्पनीमा त्यस्ता फन्डले लगानी गर्ने बाटो बन्द भएको बताउँछन् बीओटूका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डे । आईटी क्षेत्रमा रू. ५ करोडभन्दा बढीको लगानी निकै ठूलो मानिन्छ । त्यति ठूलो लगानीको आईटी स्टार्टअप सञ्चालनमा ल्याउने जोखिम कसैले लिन चाहदैनन् । तर, त्योभन्दा तलको वैदेशिक लगानी स्वीकृत नहुने व्यवस्थाले स्टार्टअप कम्पनीलाई समस्या परेको डोल्मा फन्डका लगानी निर्देशक ज्ञवालीको भनाइ छ ।

यस्तै, अन्तरप्रेरणका कार्यकारी निर्देशक खनालका अुनसार विश्वभर सञ्चालनमा आउने स्टार्टअप कम्पनी सफल हुने सम्भावना मात्र १० प्रतिशत हुन्छ । त्यस्ता कम्पनी स्थापना गर्न र लगानी गर्न लगानीकर्ता र फन्ड दुवैलाई चुनौती हुन्छ । यस्तै, सरकारले भर्खर शुरू भएका व्यवसायबाट पनि कर लिने नीतिले स्टार्टअप कम्पनीलाई थप समस्या र चुनौती थप्छ । विदेशी मुलुकमा स्टार्टअप कम्पनीलाई करमा छूट दिइन्छ, जसले गर्दा त्यस्ता कम्पनी सहजै विस्तार हुन्छन् ।

सरकारी योजना
गत जेठ १५ संघीय संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दुई स्टार्टअप कम्पनीलाई २०७६ पुसको मसान्तसम्ममा करको दायरामा आए त्यसअघि निर्धारण गरिएको कर मिनाहा गरिने घोषणा गरे, जसबाट यातायात क्षेत्रका दुई स्टार्टअप कम्पनी टुटल र पठाओले केही राहत पाए । तर, सरकारी स्तरबाटै स्टार्टअप कम्पनीलाई सहयोग गर्ने कुनै कानून बनेको छैन ।

यूरोप, अमेरिका तथा अन्य एशियाली मुलुकमा सरकारी बजेटमै स्टार्टअप कम्पनीलाई सहयोग गर्ने घोषणा गरिन्छ । नेपालमा पनि आगामी दिनमा त्यस्तै स्टार्टअपलाई सहयोग गर्ने कानून र बजेट घोषणा हुने सरकारी अधिकारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)