ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूरसञ्चार ‘इन्टरकनेक्सन’ निर्देशिका तयार : टेलिकम कम्पनीहरूबीचको कल शुल्क घट्ने

Sep 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar युवराज बस्नेत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता (इन्टरकनेक्सन) सम्बन्धी नयाँ निर्देशिका तयार गरेको छ । अन्तरआबद्धता निर्देशिका २००८ लाई प्रतिस्थापन गरी १० वर्षपछि उक्त नयाँ निर्देशिका पारित गरेको हो । 

प्राधिकरणले दुई वा दुईभन्दा बढी टेलिकम कम्पनीबीच हुने दूरसञ्चार आदानप्रदानलाई व्यवस्थित गर्न यो निर्देशिका ल्याएको हो । गत भदौ दोस्रो हप्ता प्राधिकरणको सञ्चालक समितिको बैठकले निर्देशिका पारित गरेपछि यो कार्यान्वयनको चरणमा पुगेको छ । केही दिनभित्रै यसका बारेमा सेवाप्रदायकलाई जानकारी दिने प्राधिकरणको तयारी छ । 

 पारित गरिएको निर्देशिकाले नयाँ अन्तरआबद्धता शुल्कसमेत निर्धारण गरेको छ । दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले हालै पारित भएको निर्देशिकाले दूरसञ्चार कम्पनीबीच हुने अन्तरआबद्धता तथा अन्तरराष्ट्रिय फोनको लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको बताए । उनका अनुसार यो निर्देशिका आएसँगै अब फोन कल शुल्कमा हेरफेर हुनेछ । ‘हाम्रो नीति नै उपभोक्ताको सेवा शुल्कलाई कम गर्दै लैजाने हो,’ उनले भने । 

नयाँ निर्देशिका लागू भएपछि ग्राहकले एक टेलिकम कम्पनीको ल्यान्डलाइन सेवाबाट अर्को सेवाप्रदायकको ल्यान्डलाइनमा फोन गर्दा प्रतिमिनेट २० पैसा शुल्क निर्धारण गरिएको छ । यसअघि यस्तो शुल्क न्यूनतम १४ पैसादेखि अधिकतम ४८ पैसा रहेको थियो ।

त्यस्तै, एक टेलिकम कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा फोन गर्दा भने प्रति मिनेट शुल्क १० पैसा तोकिएको छ । यसअघिको अन्तरआबद्धता निर्देशिकाले मोबाइलबाट अर्को अपरेटरको मोबाइलमा कल गर्दा अन्तरआबद्धता शुल्क ५४ पैसा तोकेको थियो । प्राधिकरणले यसअघिकोे निर्देशिकालाई ल्यान्डलाइन र मोबाइललाई क्याटोगरी १ र क्याटोगरी २ गरेर अञ्चलका आधारमा अन्तरआबद्धता शुल्क निर्धारण गरेको थियो । नयाँ निर्देशिकामा यसलाई प्रतिस्थापन गर्दै ल्यान्डलाइन र मोबाइलको श्रेणीमा मात्र राखिएको छ । 

त्यस्तै, नयाँ शुल्कसमेत निर्धारण गर्दै आगामी ८ वर्षमा अन्तरराष्ट्रिय आगमन कल बापत लिइने शुल्कलाई क्रमशः घटाउने योजना प्राधिकरणको छ ।

प्राधिकरणले नेपालमा आउने अन्तरराष्ट्रिय आगमन कल शुल्कलाई आगामी ८ वर्षमा प्रतिमिनेट रू १.८ मा झार्ने बताएको छ । हाल अन्तरराष्ट्रिय आगमन कलमा टेलिकम सेवाप्रदायकले प्रतिमिनेट ८ रुपैयाँ तोकेका छन् । यो शुल्क विगत १ दशकदेखि घट्न सकेको छैन । अब प्राधिकरणले नयाँ निर्देशिकाअनुुसार अबको ५ वर्ष (विसं २०८१) मा आगमन कल शुल्क रू ४.४० तोक्ने छ भने आठौं  वर्ष (२०८४) मा सो शुल्क प्रतिमिनेट रू १.८० पैसामा झर्ने लक्ष्य राखेको छ । 

यसबाहेक नयाँ अन्तरआबद्धता निर्देशिकाले पोर्टको शुल्क पनि घटाएको छ । पोर्ट भनेको दुई टेलिकम कम्पनीको इन्टरकनेक्सन गराउने उपकरण हो । यसअघिको ३५ हजार रुपैया प्रतिपोर्ट प्रतिवर्ष रहेकोमा हाल त्यसलाई १० हजार रुपैयाँमा सीमित गरिने प्राधिकरणको योजना छ ।

विदेशबाट नेपालमा फोन गर्दा शुल्क महँगो भएको भन्दै प्राधिकरणले सेवाप्रदायकलाई अन्तरराष्ट्रिय आगमन कल शुल्क घटाउन पटकपटक भने पनि टेलिकम कम्पनीहरूले नाफा घट्ने भन्दै शुल्क घटाएका थिएनन् । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य अन्तरआबद्धता शुल्क घटे समग्रमा उपभोक्तालाई फाइदा हुने बताउँछिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)