काठमाडौं । मुलुकको तीव्र आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी गर्न आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् । पूर्वाधार क्षेत्रमा राज्यको पर्याप्त लगानी नभएको अवस्थामा निजीक्षेत्रलाई पनि सहभागी गराउन यस्तो अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको नेपाल पूर्वाधार सम्मेलन २०१९ मा सहभागीहरूले बताएका हुन् । नेपाल सरकार र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीवार सम्पन्न सम्मेलनमा बोल्दै ऊर्जामन्त्री वर्षमान पुनले ऊर्जा बाहेकका अन्य परियोजनाका लागि पनि पीपीपी उपयुक्त मोडल हुने बताए ।
लगानीयोग्य आन्तरिक पूँजी रू. ८ खर्बभन्दा बढी पुगेको तथा आगामी ३ वर्षमा जीडीपी रू. ५३ खर्ब पुग्ने र आन्तरिक लगानीयोग्य पूँजीसमेत वृद्धि भइ रू. १५ खर्ब नाघ्ने सम्भावना रहेको पुनले जानकारी दिए ।
यस्तै, पूर्वाधार विकासमा निजीक्षेत्रको सहभागिताको आवश्यकता औंल्याउँदै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पीपीपी तथा लगानी ऐन पारित हुँदा लगानीकर्ताका लागि उपयुक्त वातावरण बनेको बताए । ऊर्जाका व्यापारको महŒवाकांक्षी लक्ष्य प्राप्त गर्न निजी लगानी आवश्यक रहने र त्यसको मोडालिटी पीपीपी नै हुने उनको भनाइ थियो ।
गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वदेशी लगानीले नै विदेशी लगानी आकर्षित गर्ने भन्दै निजीक्षेत्रले अघि बढेर त्यसको नेतृत्व लिनुपर्ने बताए । वस्तु वा सेवा आयात गरेर मात्र देश बन्न नसक्ने तर्क गर्दै उत्पादकत्व बढाउनतिर ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
लगानीका लागि विश्वासको वातावरण बनाउन नीतिगत स्थायित्व चाहिने तर्क नेपाल उद्योग वणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठको रह्यो । पूर्व अर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिएका छन् । सम्मेलनको दोस्रो दिन निजीक्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उनले अहिलेको सरकारी काम गर्ने पद्धति र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताएका हुन् ।
सर्वप्रथम सरकारले सुशासनमा सुधार गर्नुपर्ने बताउँदै उनले भने, ‘काम गर्न प्रतिस्पर्धी क्षमता लगानीको लागि आवश्यक शर्त हो ।’ नेपालमा निर्माण हुने सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिएका उनले विश्व वैंकको प्रतिवेदनलाई उद्धृत गर्दै नेपालका सडक संसारमै गुणस्तरहीन हुने गरेको बताए । उनले नेपालमा ऊर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै निजी ोत्रलाई ऊर्जा उत्पादनमा आमन्त्रण गर्नुपर्ने माग राखे ।
विश्व बैंक गू्रपका एन्ड्र्यु गुडल्यान्डले गुणस्तरीय जीवनका लागि पनि पूर्वाधारको विकासले सहयोग पुर्याउने बताए । उनले ऊर्जाको विकास गरी आम्दानी वृद्धि गर्ने सकिने सम्भावना रहेको औंल्याए । यस्तै, ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले नेपालमा जलविद्युत् क्षेत्रको विकास तीव्र गतिमा हुन नसकेको बताउँदै नेपालसँगै जलविद्युत् क्षेत्रको विकास शुरू भएका छिमेकी मुलुकहरूले धेरै चाँडो फड्को मारिसकेको उदाहरण दिए ।