काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सात जना पूर्व अध्यक्षहरूले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई साथ दिने निर्णय गरेका छन् । स्वतः अध्यक्षको लाइनमा रहेका वरिष्ठ उपाध्यक्ष गोल्छालाई रोक्ने गरी महासंघको विधान संशोधन प्रस्ताव भइसकेको अवस्थामा पूर्व अध्यक्षहरूको यस्तो निर्णय आएको हो । महासंघको विशेष सदस्य चण्डीराज ढकालको नेतृत्वमा रहेको विधान संशोधन समितिले अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन आवश्यक रहेको भन्दै प्रस्ताव पेश गरिसकेको छ ।
पूर्व अध्यक्षहरूको बैठकले महासंघको विधान संशोधन गर्न आवश्यक रहेको औंल्याए पनि यसपटकको कार्यकालमा गोल्छालाई स्वतः अध्यक्षमा समर्थन गर्ने निर्णय गरेको हो । बैठकले अर्को कार्यकालदेखि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचनको व्यवस्था लागू गर्न महासंघलाई लिखित सुझाव पनि दिएको छ ।
विधान संशोधन महासंघको साधारणसभाले गर्ने भएकाले सोही साधारणसभाबाटै संशोधित विधान लागू गर्न उचित र उपयुक्त नहुने उनीहरूको भनाइ छ । विधान संशोधनपश्चात् अर्को कार्यकालदेखि मात्रै लागू गर्न उपयुक्त हुने पूर्व अध्यक्षहरूको निष्कर्ष छ ।
महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले बोलाएको बैठकमा उनीसहित ७ जना पूर्व अध्यक्षहरूको सहभागिता थियो । बैठकमा कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, सुरज वैद्य, पद्मज्योति, प्रदीपकुमार श्रेष्ठ र महेशलाल प्रधान सहभागी थिए ।
यस पटकको कार्यकालमा गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न नहुने निष्कर्ष उक्त बैठकले निकालेको छ । बैठकले महासंघको विशिष्ट सदस्यको पदलाई खारेज गरेर विशिष्ट सदस्य तथा पूर्व अध्यक्षसमेत रहेका चण्डीराज ढकाललाई निष्क्रिय पार्न सुझाएका छन् । पूर्व अध्यक्षहरूको यस निर्णयबाट पूर्व अध्यक्ष ढकाल तत्कालै पछि नहटे पनि उनलाई नैतिक रूपमा दबाब पर्ने कार्यसमितिका एक सदस्य बताउँछन् । उनका अनुसार पूर्व अध्यक्षहरू एक ठाउँमा हुँदा उनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा दबाब आउने देखिन्छ ।
‘ढकालले आफ्नो पदको दुरुपयोग गर्दै महासंघका जिल्ला सदस्यहरूलाई प्रभावमा पारेर महासंघलाई आफूअनुकूल चलाउँदै आएका छन् । उनलाई हटाउनकै लागि हामीहरूले विशिष्ट सदस्यको पद खारेज गर्न सुझाव लिखित रूपमै दिएका हौं,’ बैठकमा सहभागी एक पूर्व अध्यक्षले भने ।
वैठकमा सहभागी अर्का एक पूर्व अध्यक्षले कसैको नाम तोकेर विशिष्ट सदस्य हटाउने प्रस्ताव नगरिएको बताए । उनले अध्यक्षलाई शक्तिशाली बनाउनकै निम्त्ति विशिष्ट सदस्यको पद हटाउनै पर्ने बताउँदै भने, ‘अहिले विशिष्ट सदस्यको पद महासंघलाई घाँडो भएको छ ।’
अर्का एक सहभागीका अनुसार पूर्व अध्यक्षहरूको बैठक प्रत्येक महीना बस्ने गर्छ र बैठकमा विधान संशोधनबारे समेत छलफल हुनेगर्छ । प्रत्येक कार्यकालमा विधान संशोधन गर्दा त्यसको स्पष्ट कारण देखाउन पर्ने उनको भनाइ छ ।
आगामी कात्तिक २९ गते बोलाइएको महासंघको विशेष साधारणसभामा विधान संशोधनका लागि ३५ बुँदे प्रस्ताव पेश गरिने छ । यस पटकको कार्यकालमा जसरी पनि शेखर गोल्छालाई अध्यक्ष बनाउने योजना पूर्व अध्यक्ष पशुपति मुरारका समूहले बनाएको छ भने कुनै पनि हालतमा उनलाई अध्यक्ष बन्नबाट रोक्ने दाउमा ढकाल समूह देखिएको छ ।
मुरारका समूहले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः महासंघको आगामी अध्यक्ष बन्नबाट रोक्नकै लागि उक्त प्रस्ताव पेश गरिएको आरोप लगाउँदै आएको छ । उक्त प्रस्ताव पारित भए पनि नभए पनि महासंघमा ठूलै उथुलपुथल आउने दाबी दुवै पक्षको छ ।
यसअघि आर्थिक वर्ष २०७३/७४ मा विधान संशोधन गरी महासंघका वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था ल्याइएको थियो । त्यसको एक कार्यकालपछि नै पुनः विधान संशोधनको प्रस्ताव तयारी गरिएको हो ।