ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इन्टरनेट सेवा शुरू गर्दै डिसहोम : स्पेसकम स्याटेलाइट कम्पनीसँग सम्झौताको तयारी

Sep 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar युवराज बस्नेत

काठमाडौं । डाइरेक्ट–टु–होम (डीटीएच) सेवाप्रदायक डिसहोमले स्याटेलाइटमा आधारित इन्टरनेट सेवा शुरू गर्न इजराइली स्याटेलाइट कम्पनी  स्पेसकमसँग सम्झौताको तयारी गरेको छ । नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्न कम्पनीले १५ दिनभित्र इजरायली कम्पनीसँग सम्झौता गर्दैछ । 

डिस मिडिया नेटवर्कअन्तर्गतको डिसहोम सञ्चालनमा आएको १० वर्षपछि कम्पनी इन्टरनेट सेवा सञ्चालनका लागि कसिएको हो । स्पेसकमले एशिया, यूरोप, अफ्रिका, मध्यपूर्व तथा रूससम्म स्याटेलाइट सेवा प्रदान गर्दै आएको छ ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले स्पेसकमसँग इन्टरनेट सेवा सञ्चालनको लागि सम्झौता गर्न लागिएको बताए । पहिलो चरणमा स्याटेलाइटमा आधारित भी–स्याटको माध्यमबाट ग्रामीण क्षेत्रमा इन्टरनेटका लागि रू. १० करोड लगानी हुने र भविष्यमा थप रू. ४० करोडदेखि ४५ करोड लगानी हुनसक्ने आचार्यको भनाइ छ । 
आचार्यका अनुसार डीजीटीएच सेवा दिँदै आएको लामो समय भएकाले अब इन्टरनेट क्षेत्रमा लगानी गरेर अगाडि बढ्ने योजना छ । अहिले ‘डिसहोमको डिजिटल टेलिभिजनले देशभर लगभग समेटिसकेको अवस्थामा अब ग्राहकले खोजेजस्तो इन्टरनेट सेवालाई अगाडि बढाउन लागिपरेका हौं,’ उनले भने । 

मुलुकका इन्टरनेट सेवाप्रदायकको सेवाको गुणस्तर खस्किँदै गएका आरोप उपभोक्ताहरूले लगाइरहेको समयमा डिसहोम इन्टरनेट सेवामा आउन लागेको हो । कम्पनीले स्याटेलाइटमा आधारित इन्टरनेट सेवासँगै एफटीटीएच फाइबरद्वारा काठमाडौं लगायतका मुख्य शहरमा इन्टरनेट सेवा दिने योजना बनाएको छ ।

डिसहोमले पहिलो चरणमा काठमाडौं उपत्यकालाई लक्षित गरी ४० करोड लगानी गर्ने छ भने पछि देशभरका विभिन्न प्रमुख शहरमा सेवा विस्तार गर्न लगानी थप्दै जाने प्रबन्ध निर्देशक आचार्यको भनाइ छ । काठमाडौंमा मात्रै इन्टरनेट सेवा विस्तार गर्दा १ अर्ब रुपैयाँ बढी लगानी हुने कम्पनीको आकलन छ ।

हाल इन्टरनेट सेवा विस्तारका लागि कम्पनीले साइट सर्वे गरिरहेको छ । ‘साइट सर्वेको काम सकिए लगतै हामी उपकरण आयात गर्ने छौं,’ निर्देशक आचार्यले भने । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा इन्टरनेट सेवा विस्तार गर्न अनुमतिपत्रका लागि निवेदन दिएको छ । सेवा भने सिम्पल मिडिया नेटर्वकको नामबाट सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । 

काठमाडौं उपत्यकाभित्र फाइबरमार्फत इन्टरनेट सेवा ३ महीनाभित्र दिने योजना छ भने स्याटेलाइटमार्फत ग्रामीण भेगमा सेवा दिन केही समय लाग्ने कम्पनीको भनाइ छ । २०७४ असार १८ गते मौखिक रूपमा सिम टीभी र डिसहोम मर्ज भएको बताइए पनि लिखित रूपमा भइसकेको अवस्था छैन । सोही अनुसार इन्टरनेट भने सिम्पल मिडिया नेटर्वक नामबाट सञ्चालन हुनेछ । 

डिसहोमले २०७६ सालभित्र टेलिभिजन च्यानल २४० ओटा पुर्‍याउने तयारी गरिरहेको छ । हाल १७० ओटा च्यानल उपभोक्तालाई वितरण गरिरहेको छ । आचार्यका अनुसार हालसम्म २० लाखभन्दा बढी सेट–टप बक्स विक्री भइसकेका छन् ।

डिसहोमले स्पेसकमसँग सम्झौता गर्न लागेको एमोस १७ इजरायलको कमर्शियल स्याटेलाइट हो । यो स्याटेलाइट सन् २०१९ अगस्ट ६ मा लञ्च भएको थियो । यो स्याटेलाइट अफ्रिका, यूरोप, मध्यपूर्व र एशियामा केन्द्रित छ । 

स्याटेलाइटमार्फत गाँउगाँउमा सेवा पुर्‍याउने लक्ष्य राखेको डिसहोमले अधिकतम सय एमबीपीएस स्पीडको इन्टरनेट सेवा दिने तयारी गरेको छ । नेपालमा अहिले १५० इन्टरनेट सेवाप्रदायक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र लिइसकेका छन् भने दजनौं पाइप लाइनमा छन् । गत आर्थिक वर्ष २०७५/७६ मा इन्टरनेट सेवाप्रदायक कम्पनीको संख्या बढी भएको भन्दै मर्जरमा लैजान व्यवसायीहरूले दबाब दिए पनि सो प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)