काठमाडौं । नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकनका लागि दुई देशबीच तेस्रो व्यापार वार्ता भारतको राजधानी नयाँ दिल्लीमा बिहीबारदेखि शुरू हँुदै छ । भारतसँगको व्यापार घाटा न्यूनीकरणका विषयमा केन्द्रित रहने सो वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय नेपाली टोली बुधवार भारत जाँदै छ ।
टोलीमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, भन्सार विभागका महानिर्देशक, कृषि विभागका महानिर्देशक, क्वारेन्टाइन प्रतिनिधि र भारतस्थित नेपाली दूतावासका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । गत मंगलवार मन्त्रिपरिषद्को बैठकले सो वार्ताको एजेन्डा स्वीकृत गरेको थियो । दुई दिने वार्ताको मुख्य एजेन्डा द्विपक्षीय व्यापारमा रहेका अवरोध समाधान र भारतसँगको व्यापार घाटा न्यूनीकरण रहेको मन्त्रालयले बताएको छ ।
नेपाल–भारतबीचको द्विपक्षीय व्यापारमा अहिले सीमा क्षेत्रमा क्वारेन्टाइन तथा भन्सार क्षेत्रमा अन्य समस्याहरू यथावत छन् । आयातमा नभई निर्यातमा रहेका त्यस्ता समस्यालाई समाधान गरी निर्यात बढाउँदै घाटा न्यूनीकरणको उपाय बैठकले खोज्ने उद्योग मन्त्रालयले जानकारी दियो । नेपाली टोलीका नेता नवराज ढकालले टोलीको प्राथमिकता व्यापार घाटा न्यूनीकरण र पुरानो सन्धि पुनरवलोकन एजेन्डा भएको बताए ।
यसअघि द्विपक्षीय वाणिज्य सन्धि पुनरवलोकनका लागि नेपाल र भारतबीच दुई चरणको वार्ता भइसकेको छ । पहिलो चरणको वार्ता २०७५ साउनमा नयाँ दिल्लीमा भएको थियो भने दोस्रो चरणको वार्ता २०७५ माघमा पोखरामा सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा भारतसँग नेपाल रू. ८ खर्ब ५५ अर्ब व्यापार घाटामा छ । सो वर्ष नेपालबाट भारततर्पm रू. ६५ अर्बको निर्यात भएको थियो भने रू. ९ खर्ब १७ अर्ब बराबरको आयात भएको थियो । यही घाटालाई न्यूनीकरण गर्ने उद्देश्यसहित तत्कालीन समस्या समाधान गर्ने विषयमा छलफल हुने ढकाल बताउँछन् ।
वार्तामा नेपालले भारतीय पक्षसँग बल्क कार्गो वीरगन्जबाहेकका अन्य भन्सार नाकाहरूबाट पनि नेपाल प्रवेश गर्न पाउनुपर्ने विषय उठाउने छ । हाल तेस्रो मुलुकबाट भारतको कोलकाता, विशाखापत्तनम् र हल्दिया बन्दरगाहमार्फत आएका बल्क कार्गो वीरगन्ज नाकाबाट मात्रै नेपाल ल्याउन पाइन्छ ।
त्यस्तै, नेपालले सामान आयातका लागि भारतका कोलकाता, विशाखापत्तनम् र हल्दिया बन्दरगाहका अतिरिक्त अन्य भारतीय बन्दरगाह उपयोग गर्न पाउने विषय पनि वार्तामा छलफल हुनेछ । ओडिसा राज्यको धर्मा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोगबारे पनि छलफल हुने ढकालले बताए ।
दुई देशबीचका भन्सार नाकाका पूर्वाधार स्तरोन्नतिका बारेमा पनि छलफल हुने बताइएको छ । बैठकले पारस्परिक रूपमा सुविधा दिनेसम्बन्धी केही बुँदामा संशोधन गर्ने र नेपालमा भारतीय लगानी प्रवद्र्धन गर्ने गरी वाणिज्य सन्धि पुनरवलोकनका विषयमा छलफल गर्नेछ । यसअघि २०६६ कात्तिकमा संशोधनसहित पुनरवलोकन भएको नेपाल–भारत वाणिज्य सन्धि २०७३ कात्तिकमा नवीकरण भएको थियो ।
नयाँ दिल्लीमा हुन लागेको तेस्रो चरणको वार्ताले सन् २००९ को व्यापार सन्धिलाई परिवर्तन गर्दै दुई देशबीचको व्यापार घाटा न्यूनीकरणलाई प्राथमिकता दिने बताइएको छ ।