काठमाडौं । विगतको तुलनामा यसपटकको दशैं अस्वाभाविक रूपमा खर्चिलो हुने देखिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य खासै नबढे पनि तरकारी र खसीबोकाको मासुको मूल्य एकाएक आकाशिएपछि दशैं खर्चिलो हुने देखिएको हो ।
खाद्य संस्थानले खसीको मासु प्रतिकिलो रू. ५५० र रू. च्यांग्राको मूल्य प्रतिकिलो रू. ७३० तोकेको छ । तर, बजारमा खसीबोकाको तयारी मासुको मूल्य प्रतिकेजी १४ सय तथा च्यांग्राको मासुको मूल्य प्रतिकेजी १७ सयसम्म पुगिसकेको छ । नेपाली बजारमा खसीबोकाको मागको कुल ६० प्रतिशत भारतले धान्दै आएको थियो । दशैंमा कुल ५० हजार खसीबोका खपत हुनेमा त्यसको ६० प्रतिशत आयात भारतबाटै हुने गरेको व्यवसायीहरु बताउँछन् ।
मुखमा सरकारले खसीबोका आयातमा कडाइ गरेसँगै ६० प्रतिशत खसीबोका अवैधमार्गबाट नेपाल भित्रिने गरेको छ । यसरी अवैध मार्गबाट भित्र्याइएको खसीबोका नेपाली भन्दै काठमाडौं ल्याइने गरेको मासु व्यवसायीहरूले नै बताउँदै आएका छन् ।
खासगरी, खसीबोका आयातमा क्वारेन्टाइन जाँचमा कडाइ गरेसँगै मासुको बजार भाउ अस्वाभाविक रूपमा बढेको हो । भारतबाट अस्वस्थ खसीबोका आयात भएको बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले क्वारेन्टाईन परिक्षणमा कडाइ गरेको हो । योसँगै दशैंमा खसीबोका अभाव भएको भन्दै व्यवसायीले मूल्यवृद्धि गरेका हुन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले दशैंमा उपभोक्ता नठगिऊन् भनेर विभागले दैनिक रूपमा अनुगमन टोली खटाएको बताए । उनले कतिपय स्थानमा बजारको भाउको तुलनामा वस्तु विक्रीको मूल्य बढाएको पाइएको भन्दै त्यस्ता पसल तथा व्यापारीलाई कारबाही गरेको बताए । उनका अनुसार विभागले दैनिक ५ ओटासम्म अनुगमन टोली खटाएको छ ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाद्यान्नको मूल्यमा ठूलो वृद्धि नआएको जानकारी दिए । उनले तीन वर्षको अवधिमा खाद्यान्नमा औषत १० प्रतिशतको वृद्धि भएको बताए । दाल, चामल, नुन, तेललाई दैनिक उपभोग्य वस्तुको रूपमा लिइन्छ, जसको मूल्यमा खासै वृद्धि नदेखिएको श्रेष्ठको भनाई छ ।
यस्तै, दशैंको मुखैमा आन्तरिक उत्पादन घटेको बताउँदै भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य प्रतिकेजी रू. २०० पुगेको छ । जब कि भारतले निर्यातमा प्रतिबन्ध लगाउनुअघि प्रतिकेजी प्याजको थोक मूल्य रू. ९० थियो । प्याजको मूल्य आगामी दिनमा थप बढ्ने देखिएको छ ।
दशैंमा लगातार वर्षा भई उत्पादनमा असर गर्दा हरियो तरकारीको मूल्य बढ्दै गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । तरकारीको आन्तरिक उत्पादन घट्नु तथा व्यापारिक नाकाको सवारी जामले पनि मूल्यवृद्धिमा सहयोग गरिरहेको छ ।
एक महीनामा तरकारीको मूल्य २५० प्रतिशतसम्म बढेको छ । भदौ १४ गते साग तथा हरियो प्याजको थोक मूल्य प्रतिकिलो रू. ८० थियो, जुन असोज १४ गतेसम्म आइपुग्दा रू. २०० पुगेको कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले जानकारी दिएको छ । सोही अवधिमा तितेकरेलीको मूल्य प्रतिकेजी रू. ६० ले बढेर १०० पुगेको छ, जुन एक महीनाअघि रू. ४० थियो । यही अवधिमा आलुको थोक मूल्य प्रतिकेजी रू. २०, बोडी रू. ६०, सिमी रू. ६०, लौका रू. ३०, रायोको साग रू. १२० ले बढेको बोर्डले जानकारी दिएको छ ।