काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि विधान संशोधनको मुद्दाले बुधवार नयाँ मोड लियो जब महासंघका तीन उपाध्यक्षसहित पूर्ववरिष्ठ उपाध्यक्षले एकै मञ्चबाट अध्यक्षको चयन प्रत्यक्ष निर्वाचन मार्फत हुनुपर्ने र विशिष्ट सदस्यको पद खारेज नहुने बताए ।
महासंघका तीन बहालवाला उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठसँगै महासंघबाट बाहिरिएका पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले पत्रकार सम्मेलन मार्फत विधान संशोधन गरी आगामी कार्यकालदेखि नै अध्यक्षमा प्रत्यक्ष निर्वाचन प्रणालीलाई लागू गर्नुपर्ने र विधान संशोधन हुनुपर्ने बताए ।
महासंघका विशिष्ठ सदस्य चण्डीराज ढकालको नेतृत्वको विधान संशोधन समितिले अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन आवश्यक रहेको सुझावसहित संशोधन प्रस्ताव महासंघको कार्यसमितिलाई पेश गरिसकेको छ । साथै यसै विषयमा छलफल गर्न महासंघको विशेष साधारणसभा कात्तिक २९ गतेका लागि बोलाइएको छ, जसमा विधान संशोधनका लागि ३५ बुँदे प्रस्ताव पेश गरिनेछ ।
महासंघको आगामी नेतृत्वका लागि शक्ति संघर्ष चर्किंदै जाँदा महासंघ दुई चिरामा विभाजित भएको छ । पूर्वअध्यक्ष ढकाल गोल्छालाई अध्यक्ष बन्न नदिन जसरी पनि रोक्ने पक्षमा उभिएका छन् भने बाँकी पूर्वअध्यक्षहरू गोल्छाको पक्षमा छन् । बुधवारको पत्रकार सम्मेलन त्यसै कडीको निरन्तरता हो । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः अध्यक्ष हुनबाट रोक्न पूर्वअध्यक्ष चण्डीराज ढकालसहितको समूह विधान संशोधनका लागि सक्रिय छ ।
करीब २ साताअघि महासंघका सात पूर्वअध्यक्षहरू वरिष्ठ उपाध्यक्ष गोल्छा नै आगामी अध्यक्ष बन्नुपर्ने पक्षमा उभिएको पृष्ठभूमिमा बुधवारको पत्रकार सम्मेलन गरिएको हो । पूर्वअध्यक्षहरूले विधान संशोधन आवश्यक भए पनि महासंघको आगामी अध्यक्ष हालको विधानअनुसार नै अर्थात् वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने हुनुपर्ने जिकीर गरेका थिए ।
साथै उनीहरूले विशिष्ट सदस्यको पद खारेज हुनुपर्ने पनि बताएका थिए ।
बुधवारको पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुपर्ने व्यवस्थाका लागि विधान संशोधनको प्रस्ताव केन्द्रीय सदस्यहरूमाझ राखिएको र त्यसमा आएका अधिकांश सुझाव अध्यक्षमा प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने भनी पाइएको बताए ।
जिल्ला/नगरका उपाध्यक्ष प्रधानले सातै प्रदेशका अध्यक्ष तथा सबै वस्तुगत संघका अध्यक्षहरूको माग विधान संशोधन गरेर अध्यक्षमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नु रहेको बताए । उनले आगामी कात्तिक २९ गतेको विशेष साधारणसभाले निर्णय गर्ने बताउँदै भने, ‘महासंघका भएका कमीकमजोरीलाई सुधार गर्दै लग्ने समय आएको छ ।’ सरकारपछि सबैभन्दा ठूलो संस्था महासंघ भएको बताउँदै प्रधानले यस्तो ठूलो संघमा प्रत्यक्ष निर्वाचित अध्यक्ष चाहिने बताए ।
यस्तै, एशोसियट उपाध्यक्ष चन्द्र ढकालले संघका अधिकांश सदस्य विधान संशोधनको पक्षमा भएको बताए । उपत्यकाका उद्योगी तथा व्यवसायीभन्दा पनि जिल्लाका सदस्यहरू जसरी पनि विधान संशोधन गर्ने पक्षमा रहेको उनले बताए । एउटा व्यक्ति ३ वर्ष वरिष्ठ उपाध्यक्ष, ३ वर्ष अध्यक्ष र अर्को ३ वर्ष निर्वतमान अध्यक्षका रूपमा गरी ९ वर्ष कार्यकालमा रहन नहुने पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारको दलील थियो ।
यसअघि आर्थिक वर्ष २०७३/७४ मा विधान संशोधन गरी महासंघका वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था ल्याइएको थियो । त्यतिखेर पनि पूर्वअध्यक्ष ढकालको प्रत्यक्ष दबाबमा विधान संशोधन गरिएको थियो, जसका कारण तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा महासंघको अध्यक्षमा स्वतः निर्वाचित भएकी थिइन् । तर, त्यसको एक कार्यकालपछि नै पुनः विधान संशोधनको तयारी गरिएको हो, जसमा ढकाल पुनः हावी भएका छन् ।
शेखर गोल्छा अध्यक्ष बन्नुपर्ने पक्षमा रहेका पूर्वअध्यक्ष पशुपति मुरारको समूह आफ्नो स्वार्थपूर्ति गर्न ढकालले महासंघलाई उपयोग गरेको आरोप लगाउँछ । कुनै व्यक्ति विशेषको स्वार्थका लागि सिंगो महासंघलाई प्रयोग गर्न नपाइने उनीहरूको तर्क छ । साथै, कात्तिक २९ को विशेष साधारणसभाको कानूनी आधारमाथि पनि प्रश्न उठाएका छन् । विशेष साधारणसभाको मिति आवश्यक तयारीविनै र जबरजस्ती तोकिएको आरोप मुरारका समूहको छ ।