ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–चीन व्यापार सहजीकरण : वाणिज्य सचिवस्तरीय स्थायी संयन्त्र बनाइने

Oct 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar निकेश खत्री

काठमाडौं । नेपाल र चीन दुवै देशबीच व्यापार सहजीकरणका लागि वाणिज्य सचिवस्तरीय संयन्त्र बनाउन सहमत भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको आइतवार सम्पन्न दुई दिने नेपाल भ्रमणमा क्रममा यस विषयमा दुवै देशबीच समझदारी भएको हो । वार्षिक रू. २ खर्बभन्दा बढी व्यापार घाटा रहेको उत्तरी छिमेकी  चीनसँगको व्यापार सहजीकरण गर्नलाई दुई देशका वाणिज्य सचिवको नेतृत्वमा बन्ने संयन्त्रले काम गर्नेछ । 

हाल दुई देशबीच व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र छैन । दुई देशबीच संयन्त्र नहुँदा द्विपक्षीय व्यापारमा देखा पर्ने समस्याहरू समाधानका लागि पहल गर्न सकिएको छैन । राष्ट्रपति सीको नेपाल भ्रमणका दौरान सहमति भए पनि यसको तयारी भने एक महीना अघिदेखि नै शुरू भएको थियो ।

सरकारी अधिकारीका अनुसार नयाँ संयन्त्रले चीन र नेपालमा गरी विभिन्न चरणमा आवश्यक छलफल गर्ने छ । ‘दुई देशबीचको व्यापारमा रहेको विगतको अवरोधलाई चिरेर नयाँ ढंगबाट अगाडि बढ्न यस संयन्त्रले सहयोग गर्नेछ,’ वाणिज्य सचिव डा. वैकुण्ठ अर्याल बताउँछन् । उनका अनुसार अन्य देशको जस्तै चीनसँग पनि व्यापार सहजीकरण गर्नलाई उक्त संयन्त्र गठन गर्ने सम्झौता भएको हो । यसअघि नेपालले यस्तै संयन्त्र भारत, बंगलादेश र अमेरिकासँग पनि गठन गरेको उनको भनाइ छ ।

दुई देशबीचको व्यापारिक नाका स्तरोन्नति, सीमा नाकामा सुक्खा बन्दरगाह निर्माण, क्वारेन्टाइन परीक्षणका समस्या तथा भन्सारका समस्या लगायतका विषयलाई परिमार्जन गर्दै लान संयन्त्रले भूमिका खेल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन् । साथै, नेपाली तथा चिनियाँ निर्यातकर्ताको समस्या समाधानको प्रयास समेत सोही संयन्त्रमार्फत हुनेछ । 

हाल नेपाल र चीनबीच मुख्य दुई नाका रसुवागढी र तातोपानीबाट द्विपक्षीय व्यापार हुँदै आएको छ । यद्यपि दुई देशबीचको व्यापारका लागि नौ ओटा नाका खुले पनि अन्य सात नाका बन्दप्रायः छन् । त्यसमा पनि भूकम्पले क्षति पुगेपछि तातोपानी नाकाबाट पूर्ण क्षमतामा व्यापार सञ्चालन हुन सकिरहको छैन ।

गत आर्थिक वर्ष नेपालबाट चीनतर्फ रू. २ अर्ब १० करोडको वस्तु निर्यात भएको थियो । चीनबाट भने नेपालमा रू. २ खर्ब ५ अर्बको वस्तु आयात भएको थियो ।

यस्तै, चालू आर्थिक वर्षको दुई महीनाको अवधिमा चीनबाट नेपालतर्पm रू. ४० अर्ब ५६ करोडको सामान आयात भएको छ भने नेपालबाट जम्मा रू. २९ करोडको निर्यात भएको भन्सार विभागले बताएको छ ।

हाल चीनबाट नेपालमा मुख्यगरी तयारी पोशाक, जुत्ता÷चप्पल, बिजुलीका सामग्री, बच्चाका खेलौना, फलपूmल, फर्निचर, कस्मेटिक सामग्री लगायतका वस्तु आयात हुँदै आएको छ । यस्तै, नेपालबाट जडीबुटीजन्य वस्तु, ऊनी फेल्ट तथा गलैंचाजस्ता वस्तु निर्यात हुँदै आएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)