काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का प्रयोगकर्ताले दशैंमा १ करोड ५० लाख एमएमएस आदानप्रदान गरेका छन् । सेवाग्राहीले दशैंमा असोज १७ गतेदेखि २३ गतेसम्म उक्त संख्यामा टेलिकमको सेवाबाट सन्देश पठाएका हुन् । विशेषगरी दशैंमा टेलिकमका ग्राहकले आफन्तलाई शुभकामना आदानप्रदानका लागि यो सेवा प्रयोग गर्ने गरेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत शुभकामना दिने प्रचलन बढे पनि मोबाइलमार्फत एमएमएस पठाउनेको संख्या झनै वृद्धि हुँदै गएको छ । फेसबुक, ट्वीटर, ह्वाट्सएप, भाइबरलगायतमा सन्देश पठाउने जमात बढिरहेको बेला एसएमएस प्रयोग बढ्नुले कम्पनीले दिएको सुविधालाई नै ग्राहकले रुचाएको टेलिकमले बताएको छ ।
कम्पनीले तथ्यांकअनुसार गत वर्ष २०७५ को दशैंमा १ करोड १० लाखले सूचना तथा एसएमएस आदानप्रदान गरेका थिए । त्यतिबेला टेलिकमको जीएसएम र सीडीएमए गरी असोजसम्म सिम प्रयोगकर्ता १ करोड ९८ लाख ९२ हजार थिए । त्यसैगरी २०७४ को दशैंमा टेलिकमबाट ९१ लाख एसएमएस मात्र प्रवाह भएको थियो । यो संख्या चालू वर्षको भन्दा ६० लाख कम हो । तीन वर्षको तथ्यांकलाई हेर्दा एसएसएस गर्ने प्रयोगकर्ता उलेख्य बढिरहेका छन् ।
नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले कम्पनीको टेलिकम सेवाको प्रयोग अत्यधिक बढ्नुको मुख्य कारण सस्तो सेवा नै रहेको बताउँछन् । उनका अनुसार टेलिकमले उपलब्ध गराएको अनलिमिटेड प्याकका कारण प्रयोगकर्ताले अधिक एसएमएस प्रयोग गरेका छन् । टेलिकमले हाल भ्वाइस, एसएमएस र डेटामा एक घण्टा अनलिमिटेडको २० रुपैयाँ शुल्क तोकेको छ । अनलिमिटेड प्याकेजबाट नै ग्राहकले बढी सेवा लिने गरेको टेलिकमले बताएको छ ।
खासगरी सामाजिक सञ्जालको प्रयोग बढे पनि एसमएसको यत्तिको मात्रामा प्रयोग हुनु सकारात्मक विषय रहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य बताउँछिन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत साउनसम्म टेलिकमको जीएसएम र सीडीएमए सिम प्रयोगकर्ता २ करोड २१ लाख पुगिसकेका छन् । प्राधिकरणले भदौ र असोजको तथ्यांक भने सार्वजनिक गरेको छैन ।