काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीहरू (एनआरएन) लाई आग्रह गर्नुभएको छ । मंगलवारदेखि राजधानी काठमाडौंमा शुरू भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो ।
बिहीवारसम्म चल्ने उक्त सम्मेलनमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘विकसित देश बन्नलाई पूर्वाधारको क्षेत्रमा लगानीको खाँचो छ । त्यसैले पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस् ।’ मुलुकमा लामो राजनीतिक संक्रमणपछि स्थायित्व तथा स्थिर सरकार बनेको बताउँदै उहाँले सरकारले पछिल्लो समय संघको लगानी भित्र्याउने योजनासहित नीतिगत व्यवस्था सुधार गर्दै लगेको जानकारी दिनुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको आर्थिक विकासमा सहकार्य गर्न एनआरएनलाई आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विदेशमा सिकेको ज्ञान, शीप र कलालाई नेपाली भूमिमा प्रयोग गर्नुपर्ने बताइन् । एनआरएनले भिजिट नेपाल २०२० लाई सफल बनाउन समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
एनआरएनएका पूर्वअध्यक्ष शेष घलले नेपालमा एनआरएनको लगानीको लक्ष्य नाफा कमाउनेभन्दा भावनात्मक सम्बन्धको कारण भएको बताए । त्यसैले पनि नेपालमा गैरआवासीय नेपालीको लगानी बढाउन नीतिगत सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
सन् २००३ मा अध्ययनका क्रममा विदेश गएका नेपालीलाई संगठित गरेर सामाजिक काम गर्ने लक्ष्यसहित संघको स्थापना भएको थियो । हाल संघले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । संघकै सहयोगमा भूकम्पबाट तहसनहस भएको गोर्खाको बारपाकमा नयाँ बस्ती बनाइएको छ । हाल गैरआवासीय नेपालीले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्, पर्यटन तथा होटल, बैंकिङलगायत क्षेत्रमा लगानी गर्दै आएका छन् ।
सन् २०१२ मा एनआरएनएले ‘एनआरएन इन्भेष्टमेन्ट कम्पनी’ दर्ता गरेर लगानी गर्ने योजना बनाएको थियो, जसअनुसार २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनामा एनआरएनएले सामूहिक रूपमा लगानी शुरू गरिसकेको छ । यस्तै, एनआरएनएको लगानीमा सामूहिक लगानी कोष (म्यूचुअल फन्ड) को स्थापना गरेर नेपालको शेयर बजारमा लगानी गर्ने भनिए पनि त्यो अहिलेसम्म सम्भव भएको छैन । यद्यपि, एनआरएनले नेपालको होटल क्षेत्रमा भने ठूलै लगानी गरेको देखिन्छ ।
ठमेलमा बन्दै गरेको पाँच तारे शेराटन होटल र होटल अकामा जस्ता आयोजनामा अर्बौंभन्दा बढीको लगानी भएको बताइन्छ । यस्तै, संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको मेडिसिटी हस्पिटलमा करीब रू. ७ अर्ब लगानी रहेको बताइएको छ । यस्तै, जलविद्युत् क्षेत्रमा पनि लगानी बढ्दै गएको देखिन्छ भने वायुसेवा कम्पनी, मदिरा उद्योग लगायतका क्षेत्रमा पनि एनआरएनको लगानी रहेको छ ।
सम्मेलनमा ८१ मुलुकमा रहेका २५ सयभन्दा बढी एनआरएन सहभागी छन् । विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका करीब ८० लाख नेपालीको नेतृत्वका लागि अधिवेशनमा अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँच जना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदका लागि निर्वाचन हुनेछ ।
‘पूर्वाधार क्षेत्रमा लगानीको खाँचो’
कार्यक्रमको दोस्रो सेसनमा अर्थमन्त्री डा. युवराज खतिवडाले चाहेको क्षेत्रमा ढुक्कले लगानी गरेर नाफा लिन एनआरएनलाई आग्रह गरे । ‘नेपालको पूर्वाधार क्षेत्रमा लगानीको खाँचो छ, जसलाई गैरआवासीय नेपालीले परिपूर्ति गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने ।
अर्थमन्त्री खतिवडाका अनुसार नेपाली पर्यटन व्यवसायमा आगामी १० वर्षमा रू. १० खर्बभन्दा बढीको लगानी आवश्यक छ । यस्तै आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारको रहे पनि त्यसको अधिकांश हिस्सा निजी क्षेत्रले ओगट्ने उनले बताए । नेपालका प्राकृतिक स्रोत तथा खानीको क्षेत्रमा लगानी गर्न उनले गैरआवासीय नेपालीलाई आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर र पूर्वअर्थमन्त्री डा. रामशरण महतले मन्तव्य व्यक्त गरेका थिए ।